असार २६, २०८२ बिहिबार July 10, 2025

आसन्‍न अधिवेशन र काँग्रेसको भविष्य – प्रा. कृष्ण खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आगामी भदौ १६–१९ का लागि निर्धारित नेपाली कांग्रेसको १४ औं महाधिवेशन ‘अब हुन्छ–हुन्छ’ भनेर सभापति शेरबहादुर देउवाले तीन पटक जोड दिए । अधिवेशन नगरी योभन्दा पर त एक दिन पनि कांग्रेसको वैधानिक हैसियत बाँकी रहँदैन ।

आफ्नै विधानअनुसार अन्तिम म्याद गुजारेको चार महिना भइसकेको छ, मुलुकको संविधानअनुसार पनि उसको वैधता सकिन्छ । देशको सबैभन्दा पुरानो र अग्रणी लोकतान्त्रिक शक्तिका रूपमा प्रतिष्ठा बनाएको कांग्रेसले आफ्नो संगठनको नियमित र अत्यन्त महत्‍वपूर्ण मानिएको अधिवेशनको मिति पटक–पटक सार्दै यसरी भित्तैमा पुग्नु भनेको त्यहाँ विकसित डरलाग्दो उदासीनताको परिचायक हो । तर कांग्रेस पंक्तिमा यसप्रति चिन्ता देखिँदैन । अधिवेशन हुनु नै सभापतिको कृपापूर्ण योगदान भनेर सबै रमाएको अवस्था छ ।

अब अधिवेशन हुनेमा धेरै शंका गर्नु नपर्ला । कोभिड महामारीको जोखिम अझै बाँकी छ । ओरालो लाग्दै गएको संक्रमण दरले आशा जगाएको पनि छ । तर यसको परिवर्तनशील रूपलाई हेर्दा कुनै पनि बेला फेरि संक्रमण नफैलिएला भनेर ढुक्क हुन सकिन्न । विकल्प के छ त ? फेरि कुनै बहानामा अधिवेशन सार्ने ? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग कुरा गर्दा खुसी लाग्यो, युवा टिम भर्चुअल प्रविधिबाट पनि सबैको पहुँचमा र सहजतासाथ महाधिवेशन सम्पन्न गर्न तयारीसाथ बसेको रहेछ । आशा गरौं, त्यो अवस्था नपर्ला, भौतिक रूपमै अधिवेशन हुनेछ ।

यतिखेर कांग्रेसका प्रमुख प्रतिस्पर्धी सबै दल विभाजित र विचलनको अवस्थामा छन् । एमाले र माओवादीको एकताबाट गठित निकै शक्तिशाली देखिएको ‘नेकपा’ यदुवंशीजस्तै सकियो । पुनर्जीवित एमालेको आकार देख्न नसकिने अवस्थामा पुगेको छ । माओवादी केन्द्र पनि अस्तित्वको संकटमा छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति मिलेर जन्मिएको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले तिमीहरूको एकता नै अवैध छ, अलग भयौ भनेर आदेश जारी गरे कुनै आश्चर्य हुनेछैन । तुलनात्मक रूपमा हेर्दा कांग्रेस अहिले अरूभन्दा स्थिर र एकताबद्ध देखिन्छ । बिनाप्रयत्न राजनीतिको मैदान खाली पाएको छ । यस्तो बेला चुनाव उसका लागि सबैभन्दा अनुकूल राजनीतिक एजेन्डा हो । तर उसले त्यो मैदान जमाउन सकेको छैन, न चुनावको विकल्पलाई नै विश्वास गर्न सकिन्छ ।

चुनाव दुई कारणले विश्वसनीय छैन, मुलुककै लागि जोखिमयुक्त पनि छ । पहिलो, कोभिड संक्रमणबाट कहिले मुक्त होइन्छ, भन्न सकिने अवस्था छैन । दोस्रो, चुनाव हुन नसक्ने बहाना बनाएर तिथि सार्ने र पछाडिको ढोकाबाट संवैधानिक प्रणाली नै उल्टाउने चलखेल एवं आशंकाबाट राजनीति मुक्त छैन । ओली सरकारको वितण्डाबाट कांग्रेसले पनि असुरक्षा महसुस गरेको देखिन्छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । के फैसला हुन्छ, यो पटक अनुमान गर्न सकिन्न । राजनीति र शासन लामो समयसम्म अदालतमा झुन्डिरहनु पनि राम्रो होइन । तर केवल यो वा त्यो पक्षको अनुकूलता र संविधानको प्राविधिकतामा सीमित हुने फैसलाले राजनीतिक प्रणालीलाई समृद्ध बनाउन सक्तैन । वास्तवमा यतिखेर हामीले अपनाएको संवैधानिक/राजनीतिक प्रणालीका बारेमा दीर्घकालीन महत्‍वको व्याख्यात्मक फैसलाको आवश्यकता छ । अदालतले प्रस्ट भन्न सक्नुपर्छ, जुन हैसियतमा पदमुक्त भएको हो त्यही हैसियतमा केपी शर्मा ओली प्रधानमन्त्री हुनु अवैध छ । कम्तीमा अहिले चालु प्रक्रियामा उनको दाबेदारी राजनीतिक रूपमा अनपेक्षित हो । यसका लागि गम्भीर र स्तरीय संवैधानिक/राजनीतिक व्याख्या पनि जरुरी पर्छ ।

झन्डै चार वर्षदेखि कांग्रेस मुलुककै एउटा ठूलो ‘वेस्टेज’ सिद्ध भएको छ । यसको मुख्य कारण चुनावी हारपछि पनि कांग्रेसको नेतृत्व परिवर्तन नहुनु हो ।

कुरालाई फेरि कांग्रेसको अधिवेशनमै केन्द्रित गरौं । यस पटक कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख नाघेको छ । विवादित जिल्लाको कुरा मिले यो ९ लाखभन्दा बढी पनि पुग्ने देखिन्छ । अनलाइन खबरले गरेको वर्गीकरणअनुसार, १८–४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी रहेछन्, ३३ प्रतिशत । सतहमा हेर्दा यो राम्रो हो । तर त्यो समूहको जनसंख्या अनुपातमा यो ३ प्रतिशतले न्यून छ । अन्तर थोरै भए पनि यो खड्किने कुरा हो । कतै युवाहरूको आकर्षण घटेको संकेत त होइन ? यस पटक नयाँ सदस्यहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । यो संख्या ३ लाख ८७ हजारभन्दा माथि छ । नयाँ सदस्य थपिँदा युवा उमेर समूहको उपस्थिति अझ बढ्नुपर्ने हो ।

आज लोकतन्त्रमा पार्टीको सदस्यसंख्या कति पुगेको छ भनेर हेरिँदैन । उसको नीति र नेतृत्वको ‘ड्राइभ’ तथा सरकारमा गएका बेला देखिने शासकीय क्षमता महत्‍वपूर्ण हो । कांग्रेस पटक–पटक सत्तामा पुगेको पार्टी हो । अहिले सरकारमा नभए पनि यसको हैसियत सत्तारूढ दलको भन्दा कम छैन । सत्तारूढ दलले अत्यधिक सदस्यका लागि दौडिनु राम्रो संकेत होइन । यसले अवसर र सदस्यतालाई लेनदेनको वस्तु बनाउँछ, प्रतिबद्धता र निष्ठा हराउँछ । साथै एकदलीय निरंकुशताको प्रवर्धन गर्छ । आन्तरिक रूपमा गुटगत असहिष्णुतालाई पनि प्रोत्साहित गर्छ ।

विश्वमा सबैभन्दा बढी सदस्य भएका पार्टी भारतको भाजपा र चीनको कम्युनिस्ट पार्टी हुन् । भाजपाका १८ करोड सदस्य छन् भने चिनियाँ कम्युनिस्ट पार्टीका करिब १० करोड । भाजपाका सदस्यले भारतको कुल जनसंख्याको १३ प्रतिशतभन्दा बढी भाग ओगट्छन् । चीनमा त्यसको झन्डै आधा, ७ प्रतिशत, मात्र छ । भारत लोकतन्त्र अँगालेको खुला समाज भएको मुलुक हो । चीन एकदलीय तन्त्र भएको नियन्त्रित समाज मानिन्छ । चीनले चाहेमा पार्टी सदस्यता भाजपाको भन्दा निकै गुणा बढाउन सक्छ । त्यसका लागि राष्ट्रपति सीको सामान्य इसारा काफी हुन्छ । त्यसैले प्रश्न उठ्छ, चीनको कम्युनिस्ट पार्टीले भन्दा भाजपाले सदस्यता विस्तारलाई किन अत्यधिक प्राथमिकता दिइरहेछ ? अनुमान गर्न गाह्रो छैन, आउने दिनमा भाजपा अरू निरंकुश र असहिष्णु बन्ने सम्भावना ज्यादा छ ।

गत साता कांग्रेसका युवाहरूले आयोजना गरेको एउटा भर्चुअल बहस महाधिवेशनको संघारमा कांग्रेस नेतृत्वको विषयमा केन्द्रित थियो । त्यहाँ मेरो भनाइ थियो, ‘सदस्य ८ लाखबाट ८० लाख पुगे पनि यथास्थितिमा कांग्रेसबाट आशा गर्न सकिने ठाउँ निकै कम छ ।’ पार्टीमा लागेका मानिसलाई यो रुचिकर कुरा होइन । मेरो यो कुरा कांग्रेसका सन्दर्भमा मात्र पनि होइन, सबै पार्टीलाई लागू हुन्छ । कांग्रेसका अतिरिक्त एमाले, माओवादी केन्द्र पनि धेरै सदस्यता भएका पार्टी हुन् । सतहमा आइरहेका अरू पार्टी पनि सदस्यता बढाउने अभियानमा देखिन्छन् । तर पार्टीहरू कहाँ छन् भनेर खोज्नुपर्दा पद, प्रतिष्ठा, सुविधा र सत्ताको सुरक्षित आवरणमा कमाउ धन्दाबाहेक अन्यत्र कहाँ भेटिएलान् र ?

नेपालमा पार्टी सदस्यता गुटको नियन्त्रणमा छ । जुन गुट जति बलियो हुन्छ उसले त्यही अनुपातमा सदस्यता थप्छ र अरू गुटप्रति कठोर र असहिष्णु बन्छ । नेपालका प्रमुख दलहरूमा यो प्रवृत्ति सजिलै देख्न सकिन्छ । अहिलेसम्म उनीहरू तुलनात्मक रूपमा अरू दलप्रति नरम र सहिष्णु पनि छन् तर आफैंभित्र सहिष्णुता छैन । कांग्रेस सभापति देउवा अरू दल र नेताप्रति सर्वाधिक उदार र सहिष्णु छन् तर आफ्नै पार्टीमा त्यो देखिँदैन । केपी ओली अहिले कांग्रेसप्रति नरम नै छन्, जसपाको ठाकुर–महतो समूहप्रति त सोच्नै नसकिने गरी उदार छन् । पार्टी भने उनकै असहिष्णुताले चकनाचुर भएको छ ।

मैले केही वर्षदेखि पार्टीसम्बन्धी हाम्रा अवधारणा र अभ्यास निकै थोत्रा भए, नयाँ ढंगले पार्टी निर्माण गर्नु आवश्यक छ भनेर अभिमत राख्दै आएको छु । यही स्तम्भमा पनि धेरै पटक लेखिसकेको छु । आज फेरि तिनै कुरा दोहोर्‍याउनुपर्ने भएको छ ।

सबैभन्दा पहिले कथित ‘कार्यकर्तामुखी’ पार्टीको सोच फ्याँक्नुपर्‍यो । पार्टी नेतृत्व र जनता अर्थात् मतदाताबीच सीधा सम्बन्ध हुनुपर्‍यो । त्यसका लागि अहिले सञ्चार प्रविधिले अत्यन्त सहज र व्यापक पहुँच हुने माध्यम दिएको छ । सेकेन्डभित्र नेता जनतामाझ पुग्न सक्छन्, संवाद गर्न सक्छन् । त्यसैले आशामुखी र आश्रित कार्यकर्ताको झुन्डभन्दा चुस्त र गतिशील नेतृत्व पंक्ति निर्माण अहिलेको आवश्यकता हो । औपचारिक सदस्यताको प्रमाणपत्रभन्दा मतदातालाई स्वयंसेवी भावनाले आकर्षित र प्रेरित गर्न सक्ने डाइनामिक नेतृत्वको खाँचो छ । अहिले कुनै ‘वाद’ का नाममा पार्टीलाई धेरै सैद्धान्तीकरण गर्नु आवश्यक पनि छैन । यो कुरा थोत्रो र असान्दर्भिक मात्र होइन, झुटो प्रमाणित भइसक्यो । समाजमा न्याय, समानता र समतामूलक नीति तथा कार्यक्रम अवलम्बन गर्न समाजवाद वा साम्यवादको आड लागिरहनु पर्दैन । नेपालमा मात्र होइन, अहिले विश्वमै नाममा बाहेक कुनै समाजवादी वा साम्यावादी पार्टी छ जस्तो लाग्दैन ।

भोलि के हुन्छ, कस्तो राजनीतिक आन्दोलन वा संघर्ष गर्नुपर्छ, त्यो भोलिलाई नै छाडौं । आज हामी जुन व्यवस्था र प्रणालीमा छौं, त्यसलाई आधार मानेर भन्ने हो भने अबको पार्टी नेतृत्व र संरचना उपलब्धिमूलक ‘पर्फर्मेन्स–बेस्ड’ हुनुपर्छ । सत्ताबाहिर भएका बेला ‘इलेक्टोरल पर्पmर्मेन्स’ र सत्तामा भएका बेला ‘गभन्र्यान्स पर्फर्मेन्स’ नै नेतृत्वको परिचय हो । हिजोका संघर्ष, त्याग र उपदेशले आजका मतदाता आकर्षित हुँदैनन् । ती विषयलाई ससम्मान इतिहासमा सुरक्षित गरे हुन्छ ।

चुनावमा पराजित नेतृत्वको निरन्तरताले पार्टीका समर्थक मतदातालाई उत्साहित गर्न सक्तैन, न सरकारलाई संसद्मा औंलो ठड्याएर चुनौती गर्ने नैतिक उचाइ नै दिन्छ । ओलीको निरंकुश हर्कत बढाउन कांग्रेसको नेतृत्व पनि जिम्मेवार छ ।

आज कांग्रेसमा कोही नेता छन् जस्तो मलाई लाग्दैन । सभापति, उपसभापति, महामन्त्री, वरिष्ठ नेता, सांसद जे भनिन्छ, ती सबै पदीय भागबन्डा मात्र हुन् । पदाधिकारीहरूको भर्‍याङ र पंक्ति मात्र हो । कोही नेतृत्वको औकातमा पुगिरहेको जस्तो लाग्दैन । यस्तै भ्रातृ संगठन, विभागहरू पनि काम नलाग्ने जन्जाल मात्र भएका छन् । नेतृत्व पङ्गु भएपछि पार्टी संगठन र संरचनाको यस्तै हविगत हुन्छ । झन्डै चार वर्षदेखि कांग्रेस मुलुककै एउटा ठूलो ‘वेस्टेज’ सिद्ध भएको छ । यसको मुख्य कारण चुनावी हारपछि पनि कांग्रेसको नेतृत्व परिवर्तन नहुनु हो । चुनावमा पराजित नेतृत्वको निरन्तरताले पार्टीका समर्थक मतदातालाई उत्साहित गर्न सक्तैन, न सरकारलाई संसद्मा औंलो ठड्याएर चुनौती गर्ने नैतिक उचाइ नै दिन्छ । ओलीको निरंकुश हर्कत बढाउन कांग्रेसको नेतृत्व पनि जिम्मेवार छ ।

नेतृत्व परिवर्तनलाई पदमा बस्नेले निजी प्रतिष्ठा बनाउनु हुँदैन । यो व्यक्तिगत हारजितको कुरा पनि होइन । लोकतन्त्रमा अपेक्षित राजनीतिक संस्कार पनि हो । नेतृत्वको निरन्तरता मापन गर्ने एउटा महत्‍वपूर्ण आधार चुनावी सफलता हो । सभापति देउवा त्यो अभ्यासमा पछाडि परे । अब फेरि चुनावमा कांग्रेसलाई उनले हाँक्ने कुरा हुँदैन । उनी आफैंले ढिलै भए पनि यो अधिवेशनबाट बिदा लिनु उचित हुन्छ । त्यसले गुमेको उनको व्यक्तित्वलाई फेरि सम्मानित गर्छ ।

अधिवेशनमा प्रस्ताव र केही छलफलको औपचारिकता भए पनि मूलतः सभापति र अरू पदाधिकारी एवं सदस्यको चुनाव नै मुख्य विषय हुनेछ । यो अधिवेशनबाट सभापतिलाई नेतृत्वको हैसियतमा उचाल्न सक्नुपर्‍यो । होइन भने सभापति एउटा चुनाव हाँक्ने, नेता अर्कै हुने व्यवस्था गर्नुपर्‍यो । त्यो अभ्यास पनि छ विश्वमा । अमेरिका र युरोपमा मात्र होइन, छिमेकी भारतमा भाजपाले नै यस्तै गरिरहेछ । नेतृत्वको बोध दिने ठूलो जिम्मेवारी छ नेपाली कांग्रेसको यो महाधिवेशनको ।

अबको नेतृत्व नयाँ पुस्तामा आउनु जरुरी छ । त्यो पुस्ता भनेको विश्वप्रकाश, गगन, गुरु, प्रदीपहरूको हो । नाम लिँदा केही तलमाथि पनि लाग्न सक्छ । यीबाहेक त्यही सेरोफेरोमा अरू पनि होलान् । जो आए पनि कांग्रेसमा नयाँ ‘ड्राइभ’ र नेतृत्वको नयाँ संस्कृति एवं परम्परा बसाल्ने प्रतिबद्धता र टिम स्पिरिटसहित आउनुपर्छ । टिम भनेको केन्द्रीय समितिमा पदाधिकारी र सदस्यपिच्छे गुट होइन; स्वस्थ प्रतिस्पर्धा गर्ने र हारेपछि पनि मेरो भागमा यति सिट भनेर दाबी नगर्ने, सँगसँगै काम गर्ने र सम्मान गर्ने भावना हो । कांग्रेसमा यो संस्कृति थियो । तर पछि सभापतिमा हार्ने उम्मेदवारले आफूले पाएको मतका आधारमा कोटा दाबी गर्ने खराब चलन बस्यो । अब यो बन्द हुनुपर्छ । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार