एमाले विभाजनको नजिक छ भन्ने आम बुझाई छ, तपाईंको बुझाईचाहिँ के छ ?
एमाले विभाजनको नजिक छैन । समस्या र अन्तरविरोध छन् । कतिपय अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगेका छन् । त्यो अन्तरविरोध सरिरहँदा केही साथीहरु पार्टी नेतृत्वको विरुद्ध प्रमुख प्रतिपक्ष दलका नेतालाई काँधमा बोकेर हिँडिरहनु भएको छ । यति हुँदाहुँदै पनि हामी समस्याको समाधानका लागि निरन्तर प्रयत्नशील छौं । प्रयत्नको परिणाम हिजोका अन्तरविरोध क्रमश: कम हुँदै गएका छन् र एउटा सहमतिको विन्दु पहिल्याउने दिशानजिक पुगेका छौं ।
त्यसको विस्तृत विवरण बाहिर बताइहाल्ने बेला भएको छैन । हामी कुराकानीमा नै छौं । अहिले यत्ति भन्नसक्छु– देशभरका कार्यकर्ताहरुमा जे चिन्ता छ, त्यो चिन्तालाई हामी छिट्टै दूर गर्नेछौं । र, विपक्षीहरू हौसिएको जुन अवस्था, त्यो छिट्टै सेलाउने छ । एमाले एकताबद्ध भएर अगाडि बढ्नेछ । यसो भनिरहँदा म के अस्वीकार गर्दिनँ भने यो समग्र मूलप्रवाहबाट एकाध व्यक्तिहरु बाहिरिन पनि सक्नुहोला । तर, पार्टी अक्षुण रहन्छ, एकताबद्ध रहन्छ । पार्टीको एकतामाथि आँच पुग्न दिँदैनौं ।
अध्यक्ष केपी ओलीले एकताका लागि अगाडि सारेको ६ बुँदे आव्हानलाई त माधव नेपालले सम्पूर्णरुपमा खारेज गरेर देशभर संगठन बनाउन निर्देशन दिनुभएको छ । यस्तोमा एकता कसरी सम्भव देख्नुहुन्छ ?
माधव नेपालपक्ष भनेर यहाँले कसलाई भन्नु भएको हो ! हिजो अर्को टिममा उभिएका साथीहरु भन्नु भएको हो भने निरन्तर हामीसँग संवादमा हुनुहुन्छ । हो, एकाध साथीमा उग्र एकता विरोधी भावना देखेका छौं । विभाजनका लागि एमदम व्यग्रता देखेका छौं । त्यसको भद्दा उदाहरण अस्ती उपचारका लागि दिल्ली जानुपूर्व पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकताका निम्ति गर्नुभएको आह्वानलाई समेत विवादित बनाउने गरी केही साथीहरू देखिनुभयो । माधव नेपालको टिममा रहेका केही साथीहरूमा यस्तो प्रवृत्ति छ । तर, त्यो नै मुख्य समस्या हो भन्ने ठान्दिनँ । त्यो नै मूल प्रवृत्ति हो भन्ने पनि ठान्दिनँ । त्यही टिममा रहेका र विभिन्न कारणले माधव नेपालको पक्षमा उभिनु भएका साथीहरू पनि देशको वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध एमालेको जरुरी छ भन्ने धारणामा हुनुहुन्छ । एकताबद्ध एमालेले मात्रै अहिले लोकतन्त्र, राष्ट्रियताको रक्षा, आन्दोलनका उपलब्धीहरू जोगाउन सक्छ । र, समाजवादतिर जाने बाटोको आधार तयार गर्न सक्छ भन्नेमा उहाँहरू सहमत हुनुहुन्छ । सहमत भएको कारणले नै अहिले छलफल अगाडि बढेका हुन् । त्यसकारण त्यो समूहभित्र रहेको एकताविरोधी प्रवृत्ति कमजोर हुन्छ । एकताका पक्षधर प्रवृत्ति बलशाली हुनेछ, त्यो निर्णायक हुनेछ भन्ने विश्वास छ ।
मतलब अहिले सम्पूर्ण एकता नभई अधिकतमभन्दा अधिकतम नेता कार्यकर्ता समेट्ने योजनाअनुसार संवाद भएको हो ?
हैन । हामीले चाहेको स्वभाविकरूपले समग्र एमालेको एकता हो । समग्र एमालेको एकतामात्रै हैन, एमाले एकताको जगमा मुलुकका वामपन्थी, प्रगतिशील, अग्रगामी शक्तिहरूको एकता हो । अहिले देखापरेका केही प्रवृत्तिहरूलाई मैले इंगित गर्न खोजेको हुँ । एकताभन्दा विभाजनमा रमाउने, सहकार्यभन्दा निषेधमा रमाउने, प्राप्त उपलब्धीहरूको रक्षाभन्दा त्यसको ध्वंशमा रमाउने र आफूले के गरियो भनेर आत्मसमीक्षाभन्दा अर्काको निन्दा–विरोधमा रमाउने प्रवृत्ति पनि छ । ती प्रवृत्तिका कारण केही साथीहरू छुट्न पनि सक्लान् । मैले त्यो सम्भावनाको कुरा गरेको हुँ । तर, हाम्रो जोड एकजना पनि कोही एमालेको नेता–कार्यकर्ता एकता प्रक्रियाबाट अलग नहोस्, सिंगो एमाले सुदृढ होस् र सुदृढ एमालेको जगमाथि सिंगो देशलाई नै एकताबद्ध बनाउन सकियोस् भन्ने छ ।
तपाईंले संकेत गर्नुभयो । एमालेभित्रै कतिपय नेताहरूको बुझाई र अनौपचारिक भनाई के छ भने ओली माधव बिनाको र माधव ओली बिनाको पार्टीको परिकल्पना गरिरहेका छन् । यो भनाई गलत छ कि परिस्थिति त्यतैतिर जाँदैछ ?
कमसेकम मैले पार्टी अध्यक्ष केपी ओलीको तर्फबाट आधिकारिकताका साथ के भन्नसक्छु भने, हामीले कसैलाई बाहिर राखेर कोही बिनाको एमालेको कल्पना गरेका छैनौं । केपी ओलीबारे गरिएका टिप्प्णी अनूचित छन् भन्ने तथ्यहरूले पुष्टि गर्छन् । फागुन २३ पछि जतिबेला माधव कमरेडहरु प्रचण्डसँग सहकार्य गर्न आधार खोजिरहनु भएको थियो, केपी कमरेड स्वयंले माधव नेपालसहितका साथीहरूलाई बोलाएर धुम्बाराहीमा छलफल गरेर एकताका आधार पहिल्याउने कोसिस गर्नुभएको हो । त्यसबीचमा होटल म्यारियटमा भएका दुई बैठकका कुरा हुन्, चाहे अर्को कोही एकजना व्यवसायी साथीको घरमा भएका वार्ता हुन्, चाहे सिंहदरबारमा भएका बैठकले निर्माण गरेको कार्यदलको विषय होस् । यी सबै कुरामा केपी कमरेड पार्टीलाई एकताबद्ध बनाउन यावत् अपमान, लान्छना र पीडाहरु सहेर पनि जसरी लागिरहनु भएको छ, उहाँले कोही पनि नेता, कार्यकर्ता पार्टीबाट बाहिरियोस् भन्ने चाहनु भएको छैन ।
एउटा भनाई छ नि– तपाईंले घोडालाई डोर्याएर खोलासम्म पुर्याइदिन सक्नुहुन्छ, तर पानी पिलाई दिन सक्नुहुन्न । कसैले कमस खाएको छ कि हामी केपी ओलीसँग बस्दैनौं, एमालेमा बस्दैनौं, सग्लो एमाले हैन, सानो चुलोचौको प्रिय छ भनेर सोच्नु भयो भने त्यसको के जवाफ हुन सक्छ र ! अन्यथा हामी कोहीबिनाको एमालेको कल्पना गरेका छैनौं । सग्लो एमालेका निम्ति सबै प्रयत्न भएका छन् । यतिधेरै पीडाबोधका बाबजुद दृश्य त हामीले देखिरहेका छौं, जसका विरुद्ध चुनावमा मुख्य प्रतिद्वन्द्वी भनेर लड्यौं, जोसँग हाम्रो अनेकौं मुद्वामा मतभेद छन् अहिले कतिपय नेताहरू आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन कहिले बुढानीलकण्ठ कुद्नु भएको छ, कहिले खुमलटार कुद्नु भएको छ । एक किसिमले बास नै त्यही छ । यति हुँदाहुँदै पनि हामीले किन एकताका निम्ति प्रयत्न गरिरहेका छौं त ? यसले नै बताउँछ हामी कोही बिनाको एमालेको कल्पना गरेका छैनौं । हामीले कल्पना नगर्नु एउटा कुरा हो, केही साथीहरूको मनोविज्ञान र मनस्थिति हेर्दा धेरै पर पुग्नुभएको छ । बुढापाका भन्छन्– खाना खाँदा अलिकति पानी खाने ठाउँ बाँकी राख्नुपर्छ । तर, कतिपय नेताहरूले पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन । तथापि, हामी सग्लो एमालेको पक्षमा छौं ।
तपाईंहरूसँग वार्तामा रहनु भएका नेपालपक्षका नेताहरु नै सार्वजनिक रूपमा बोल्नु भएको छ– पार्टी अध्यक्षले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक बोलाउँदा समस्या हल हुन्छ । पार्टी एकता नै चाहनु भएको हो भने त्यो बैठक बोलाउन ओली किन तयार हुनुभएन ?
अध्यक्षले जेठ २३ गते त्यो अपिल गरिसक्नु भयो नि ! पार्टीलाई ०७५ जेठ ३ अगाडिको अवस्थाबाट सुरु गरेर अगाडि लैजाने, जनसंगठन, मातहत कमिटीहरुलाई पनि त्यही ढंगले अगाडि लैजाने भनिनै सक्नुभएको छ । त्यसमा के दुविधा भयो र ?
माधव नेपालपक्षले जेठ २ बाट भनिरहेको छ । अध्यक्षले जेठ ३ अगाडिको अवस्थाबाट भन्नु भयो नि ? यसमा फरक के हो ?
केही पनि फरक छैन । रौंको छाला काढ्ने कुरामात्रै हो । रौंको छाला काढेर के पाइन्छ, म बुझ्दिनँ । हामीले भनेको के मात्रै हो भने २०७५ साल जेठ ३ गते बिहान पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक बस्यो । जुन बैठकले चार वटा निर्णय गर्यो । एक– नेकपा एमाले र नेकपा माओवादीबीचको एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने । दोस्रो– एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने । तेस्रो– चुनाव चिन्ह सूर्य बनाउने । चौथो– एकीकृत पार्टीको केन्द्रीय कमिटीमा ४४१ जना सदस्य रहने, त्यसमध्ये २४१ एमालेबाट हुने । २ सयजना माओवादी केन्द्रबाट हुनेछन् भनेर निर्णय गर्यो ।
नेकपा हुनुभन्दा अगाडिको एमालेको अन्तिम बैठक त्यो थियो । त्यही बैठकको आधारमा पार्टी एकीकृत भएर हामी तीन वर्ष क्रियाशील रह्यौं । अन्तिम बैठकबाट आफैंले गरेको निर्णयलाई स्वीकार गर्छौं कि गर्दैनौं ? त्यत्तिमात्रै कुरा हो । महाधिवशेनबाट निर्वाचित भन्नुहुन्छ भने त्यतिबेला १ सय ५९ जना साथी निर्वाचित हुनु भएको थियो । दुईजना पछि ‘ड्र’ भएर गोला थुतेर निर्णय गर्नुपरेको थियो । पछि हामीले पटकपटक विभिन्न साथीलाई थप गरेका छौं । ती साथीलाई बाहिर राख्नुपर्छ भनेको हो ? यसो भन्ने साथीहरू एकदम अन्यौल र विशुद्ध जोडघटाउमा हुनुहुन्छ । यस्तो जोडघटाउ जरुरी छैन । एमालेका सबै कार्यकर्ता पार्टीका सम्पत्ति हुन् । त्यो सम्पत्तिलाई संरक्षण गरेर अगाडि बढ्नु पर्छ ।
यहाँहरूबीचका संवादमा अहिलेसम्म कुन–कुन विषयमा सहमति जुट्यो त ?
त्यसको विस्तृत अहिले बताउन असमर्थ छु । तर, तीन–चार वटा विषयलाई आधार बनाएका छौं । आज एमाले यस्तो ठाउँमा छ, जो कमजोर हुँदा एमाले र कम्युनिष्ट आन्दोलन मात्रै कमजोर हुँदैन, देशको लोकतन्त्र, राष्ट्रियता र स्थायीत्व कमजोर हुनजान्छ भन्ने साझा स्वीकारोत्ती छ । यो जिम्मेवारीबोधका साथ छलफल गरिरहेका छौं । दोस्रो– हाम्रा अन्तरविरोधहरू छताछुल्ल भएर बाहिर पोखिए । पार्टीभित्र रहँदा यति ठूलो समस्या परेको थिएन । पार्टीभन्दा बाहिर गएर विपक्षीहरूसँग मिलेर नेतृत्वलाई निशेध गर्ने, समाप्त गर्ने तहसम्म पुगिसकेको छ । लिकभन्दा बाहिर गएको अन्तरविरोधलाई पार्टीको चौघेराभित्र कसरी ल्याउने भनेर छलफल गरिरहेका छौं ।
तेस्रो– जेठ ३ पूर्वको अवस्थामा फर्केर कसरी एकताबद्ध बनाएर लैजाने विषयमा छलफल गरिरहेका छौं । चौथो–हामीले पार्टी एकता गर्यौं तर विभिन्न कारणले एकता निष्कर्षमा पुग्न सकेन । फागुन २३ को फैसलापछि पनि अध्यक्षले प्रचण्डलाई हामीसँग १५ दिन समय छ, फेरि प्रयत्न गर्ने हो कि भनेर एकता जोगाउन अन्तिम प्रयास गर्नुभयो । प्रचण्डले त्यसमा रूचि राख्नुभएन, बरु खिल्ली उडाउनु भयो । उहाँ आफ्नो बाटो हिँड्नु भयो । तर, एकीकृत पार्टीमा रहेका कतिपय नेता एकताको पक्षमा उभिएका छौं, यही रहन्छौं भन्नुभयो । नेपाली कम्युनिष्ट आन्दोलनको स्पिरिटका साथ उहाँहरू अडिनु भएको थियो । उहाँहरूलाई सम्मानजनक स्थान दिने र उहाँहरूको उर्जा, क्षमता र योगदानलाई समेटेर अगाडि जाने हाम्रो साझा कर्तव्य हो । यिनै विषयमा छलफल गरिरहेका छौं । र, हामी सहमतिनजिक छौं ।
कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्यो । र, दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई वैधानिकता दिएन । यसबारे के भन्नु हुन्छ ?
यदि फ्लोर क्रस गर्दा पनि कारबाहीको विषय बन्दैन, पार्टीले गरेको कारबाहीले बैधता पाउँदैन भने हामी दलीय प्रणालीलाई समाप्त गर्ने बाटोमा जान्छौं । संविधानको पिलर भनेको बहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक प्रणाली हो । दलीय प्रणाली भनेको दलको अनुशासन, मर्यादा र विधानअनुसार चल्नुपर्छ । यस्ता निर्णयले विस्तारै दलीय प्रणालीलाई खोक्रो बनाएर मुलुकलाई अराजकतातिर लैजान्छ । अहिले एमालेलाई अफ्ट्यारो पर्यो भनेर कसैले ताली बजाउने पनि होला । तर, त्यसको मूल्य धेरै महङ्गो पर्छ कालान्तरमा । त्यसकारण लोकतन्त्रलाई नै कमजोर बनाउने यस्ता फैसलाहरू किन भए भनेर कानुनी प्रक्रिया गर्छौं । हामी यसलाई खारेज गर्न सर्वोच्चमा जान्छौं ।
एकता भयो भने एमालेभित्रका पूर्वमाओवादीहरुलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
उहाँहरू एमालेमा प्रवेश गर्नुभएको हैन । एकीकृत नेकपामा उहाँहरु हुनुहुन्थ्यो । त्यसकारण उहाँहरूसहितकै पार्टी अगाडि बढाउने हो ।
संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा छ । अदालतबाट आउने निष्कर्षले एमाले एकतालाई प्रभावित गर्छ कि गर्दैन भन्नेबारे पनि संवाद भएका होलान् ?
अदालतमा विचाराधीन मुद्दामा हामीलाई के मात्रै चिन्ता छ भने फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापित भयो । जेठ ८ गतेअघिको तीन महिनामा प्रतिनिधिसभाले न वर्तमान सरकारलाई विश्वासको मत दिने न वैकल्पिक सरकार दिनसक्ने अवस्था बन्यो । राजनीति एउटा अर्कमण्यतामा फँस्न पुग्यो । त्यतिमात्र नभएर विभिन्नखालका विकृतिहरूको विजारोपण भयो, त्यसले नेकपाको एकता खण्डित भयो । आज जनता समाजवादी पार्टी, एमालेलगायत अरु कुन कुन पार्टीलाई प्रभावित गर्छ । यो संरचनाभित्र राजनीतिक स्थायीत्व र राजनीतिक स्वच्छताको सम्भावना रहेन । त्यसकारण खुद सर्वोच्च अदालतले भनेजसरी सरकार बन्ने सबै ढोका पार गरेर संविधानको धारा ७६(७) मा पुगेको हो । अहिलेका समस्याको समाधान ताजा जनादेशबाट मात्रै सम्भव छ भन्ने विश्वास हो । यी मान्यताबारे हामीले अदालतमा कुरा राख्ने नै छौं । त्योसँग प्रत्यक्ष जोडिएको छैन अहिलेको एकताको प्रयास । यद्यपि एकता हुँदो अदालतले जस्तो फैसला गर्दा पनि पार्टीलाई अगाडि बढ्न सकारात्मक योगदान गर्छ ।
तर, तपाईहरूसँग संवादमा हुनुभएका २ नेतासहित माधव नेपालपक्षका २३ पूर्वसांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको मागसहित दायर रिटमा हस्ताक्षर गर्नुभएको छ । त्यो विषयमा कसरी सहमति गर्नुहुन्छ त ?
पार्टीभित्रका समस्या कचल्टिँदै जादाँ त्यहाँ पुगेको भए पनि त्यो हस्ताक्षर गलत हो । जस्तोसुकै अवस्थामा पनि यस्ता कुरालाई ‘जस्टिफाई’ गर्न सकिँदैन । त्यो कुराको अनुभूतिसहित हामी छलफलमा छौं । त्यो ठीक हो भन्ने हो भने त छलफल अगाडि बढ्दैनथ्यो । वार्ता टुंगिदाखेरी त्यसको पनि एउटा समाधान निकाल्छौं । समस्याको समाधान गर्ने जोश र समस्या समाधान गर्न सकिन्छ भनेर छलफलमा छौं । छलफलमा विभिन्न विकल्प र सुझाव आउँछन् । ती सबै सुझावलाई तुरुन्तै सार्वजनिक गर्नु वाञ्छनीय हुँदैन । यहाँहरूलाई धैर्य गर्न आग्रह गर्छु । कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया