असार २६, २०८२ बिहिबार July 10, 2025

कम्युनिस्ट पार्टीको कलह – बद्रिनरसिंह के.सी.

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटक जुट र फुट, सन्धि र विग्रह, आरोप/प्रत्यारोपबाट गुज्रिएका राजनीतिक झुण्ड हुन्। कम्युनिस्ट पार्टीका यी सबै घटक र गुटहरू एकै स्वरमा ‘संसारका मजदूरहरू एक होउँ’ भन्ने अर्तिजन्य नारा लगाउँछन् तर अरूलाई एकजूट होउँ भन्ने यिनीहरूचाहिँ एकजुट हुन भन्दा फुट्ने चरित्र देखाउँछन्। २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीमा २०१९ सालदेखि फुटको इतिहास चल्दै आएको छ।

पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, निर्मल लामा, तत्कालीन ‘झापाली ग्रुप’ आदि सबैले केशरजङ्ग रायमाझी महासचिव रहेको नेकपा परित्याग गरेर अलग पार्टी समूह गठन गरे। शीतयुद्धको त्यो बेला सोभियत कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीहरूका संसारभरि नै आआफ्ना पार्टी समूह गठन र क्रियाशील थिए। यसबीचमा अन्य गैरकम्युनिस्ट पार्टीहरूले पनि जुट र फुटका घटना नभोगेका होइनन्।

नेपालमा माओ विचारधाराको कम्युनिस्ट शक्ति जनाधारमा अन्य कम्युनिस्ट पार्टी भन्दा अग्रणी भए पनि २०२५ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीमा फुट, २०४१ सालमा नेकपा (चौथो महाधिवेशन), २०४२ सालमा नेकपा (मशाल), २०५१ मा नेकपा (एकता केन्द्र), २०५४ मा नेकपा (एमाले), २०६५ मा नेकपा (एकता केन्द्र–मसाल) मा आएका विभाजनहरू २०६९ असार सुरुमै भएको माओवादी विभाजनको पृष्ठभूमिका सम्झनलायक सन्दर्भ हुन्।

सबभन्दा ठूलो आन्तरिक संघर्ष, उथलपुथल, आरोप–प्रत्यारोप र जालझेलका हत्कण्डाको प्रयोग कम्युनिस्ट पार्टीको इतिहामा एमाले–माओवादीको एकता र अहिलेको फुट र कलह सब भन्दा दूरगामी, गम्भीर र घातक मानिन्छ। पार्टीको सर्वोच्च जिम्मेवारी सम्हालेको नेतृत्वको पालामा, घर–घरमा गिल्ला र चर्चा हुने अति अप्रिय गतिविधि निश्चय नै जनताका अगाडि पार्टीको हुर्मत लिने क्रियाकलाप हो।

इतिहासको स्वभावै भइसकेको छ, कम्युनिस्ट गुटहरूबीच हरेक स्वार्थको तथ्यले एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ। उनीहरू रिस उठ्यो भने एकले अर्कालाई गद्दार, सिआइडी, प्रतिक्रियावादीको एजेन्ट जस्ता शब्दावलीले गालीगलौज गर्न पछि पर्दैनन्। स्वार्थ मिल्यो भने सबै गाली बिर्सेर गला मिलाउन पनि लाज मान्दैनन्। एमाओवादीलाई केपी ओलीले ‘टेरोरिस्ट’ मात्र भनेनन्, भएभरका क्षुद्र शब्दावलीले छ््याँस्न बाँकी राखेनन्। तर माओवादीसँग एमालेको असफल पार्टी एकता गराउने उनै हुन्।

कथनीमा पाण्डित्य र आदर्श तर करनीमा प्रायः अराजकतावादी व्यवहार नै नेपालका कम्युनिस्टहरूको मात्रात्मक चरित्र हो भन्ने लाग्छ। विगतको यस्तो चरित्रबाट नेकपा (एमाले) ले केही पाठ सिक्दै र चेत फिरेको देखाउँदै तीन दर्जन भन्दा बढी गुट र घटक मिलाएर पार्टी त बनाए। तर वर्तमान नेतृत्वको पालामा झण्डै दुईतिहाइ संसदीय समर्थन पाउन सफल भएको एमाले, नेतृत्वकै कारण आज ध्वंश र विघटनको निकटबाट गुज्रिरहेको देखिन्छ।

एमालेमा नातागोताको वर्चश्व  

एमालेको गत नवौँ महाधिवेशन धेरै विशेषताले बेग्लै भयो। महाधिवेशन नै १० दिनसम्म चल्यो। अन्य विशेषताहरूबाहेक पार्टी अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षबाट करिब एक दर्जन नातागोताको उम्मेद्वारी पनि निकै चर्चाको विषय थियो। केन्द्रीय स्तरमा माधव नेपाल र पाल्पाका सोमप्रसाद पाण्डे सम्धी, झलनाथ खनाल र भीम आचार्य, स्व. रवीन्द्र अधिकारी र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई ज्वाइँ–जेठान हुन्।

राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, लक्ष्मण ज्ञवाली र रामकुमार ज्ञवाली, सहोदर दाजुभाइ हुन्। एमालेमा पति–पत्नी नै राजनीतिमा सक्रिय रहेकाहरूको संख्या उल्लेखनीय छ– अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल र सुजिता शाक्य, मन्त्री कृष्णगोपाल श्रेष्ठ र बिना श्रेष्ठ (विनोद श्रेष्ठ सालोसहित), बलराम बास्कोटा र सावित्रा भुसाल, गोविन्द कोइराला र गौरा प्रसाई, नरेश खरेल र पवित्रा निरौला पति–पत्नी हुन्।

हिजोसम्म केशरजंग रायमाझीका राजनीतिक गतिविधिलाई ‘माझीवाद’ भन्दै उग्र निन्दा गर्दै आएका एमाले अध्यक्ष ओली नै आज ‘माझीवाद’ को पदचिह्नमा हिँडिरहेका छन् भने कम्युनिस्ट पार्टीकै लागि यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्ला !

महेन्द्रबहादुर पाण्डे (हाल चीनका लागि राजदूत) र विन्दा पाण्डे, राजन भट्टराई र विद्या अधिकारी दाजु–बहिनी हुन्। अरुण नेपाल र सुरेश नेपाल, कैलाश ढुंगेल र माधव ढुंगेल एकै खलकका दाजुभाइ, केशव देवकोटा र मनोज देवकोटा एकै खलकका काका भतिज एवं गोमा देवकोटा केशवकी भाउजू हुन्। भानुभक्त ढकाल र रामेश्वर फुयाँल अलि टाढाबाट ज्वाइँ–जेठान, डा. विजय पौडेल मोदनाथ प्रश्रितका छोरा हुन्।

एकले अर्काको मर्म र भावना सहजै बुझ्न सकिने हुनाले समाधानमुखी व्यवहार अपनाउन पनि सहज हुने वास्तविकताको कसीमा हेर्दा नाताको यस्तो सशक्त सञ्जाल भएको पार्टीमा आज यति अभूतपूर्व र चर्को फुट कसरी भयो ? यो नै आश्चर्यलाग्दो छ। विरोधाभास, अराजकता र धुन्धुकारी चरित्र आजको एमालेभित्र कसरी मडारिन पायो ? यसको निष्पक्ष छानबिन सोही पार्टीका निष्ठावान् कार्यकताले गर्ने हो। यस आलेखको आसय एमालेविरूद्ध निरपेक्ष नकारात्मक टिप्पणी गर्नु किमार्थ होइन। नेपालको राजनीति कस्तो प्रवृत्ति र चरित्रका मानिसका हातमा रहेको छ भन्ने उदाहरण लिनमात्र खोजिएको हो। ‘लोकतान्त्रिक गणतन्त्र’ मा मूल्यको राजनीतिको अर्थ नैतिकता, इमानदारी तथा मर्यादाको राजनीति होइन, सत्तामुखी राजनीतिका लागि मान्छेको किनबेचको अर्थमा बुझिन थालेको छ।

कम्युनिस्ट पार्टीमा आन्तरिक विवादको एउटा प्रमुख विषय आर्थिक पक्ष हो। माओवादीभित्र वैद्य पक्ष फुटेर जानुभन्दा अघि पार्टीको बैठकमा प्रचण्ड पक्षलाई वैद्य पक्षले लगाएका १८ आरोपमध्ये अन्तिम बुँदामा भनिएको थियो– ‘आर्थिक आचरणमा भ्रष्टीकरणतर्फ उन्मुख देखिएको। पद, पैसा र प्रतिष्ठाका लागि नैतिक–अनैतिक जे पनि गर्ने प्रवृत्ति देखिएको। आर्थिक हरहिसाब र आयव्यय कमिटी प्रणालीविहीन बनाएको र पूरै व्यक्तिवादी ढङ्गले पार्टीको स्रोत–साधनको दुरुपयोग गरेको।’ यस अर्थमा प्रधानमन्त्री ओलीको व्यक्तिवादी तथा एकलकाटे प्रवृत्ति र प्रचण्डको उपरोक्त चरित्रको टक्कर नै कम्युनिस्ट पार्टीका लागि घातक र करिब दुईतिहाइ बहुमत बाँदरको हातमा नरिबल हुन पुग्यो।

पार्टी, सरकार, राज्य व्यवस्था सर्वत्र यत्रो घात–प्रतिघात व्याप्त हुँदा पनि प्रधानमन्त्री तथा सत्ताधारी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीमा मति सुध्रिएको वा चेत फिरेको नदेखिनु गम्भीर विडम्बना हो। संघीय लोकतान्त्रिक गणतन्त्रको दिशा देखाएर गुणात्मकरूपमा बहुदलीय पञ्चायत बनाउने अभ्यास भइरहेको छ। कानुनहरू लोकतन्त्रलाई प्रणाली बनाउनेखालका निर्मित हुनुपर्ने हो तर पञ्चायती शासनले पनि आँट नगरेका गतिविधि भइरहेका छन्। परिस्थिति दिक्दारलाग्दो, घीनलाग्दो र बदनाम भएपछि माओवादी अध्यक्ष प्रचण्डले यस्तो रूपको राष्ट्रपति हुनु भन्दा बरु उतिबेलाका राजाहरूमा धेरै शान थियो भन्ने वास्तविकता ढिलै भए पनि व्यक्त गर्न थाले। संविधानलाई अध्यादेशले काटिरहेको छ।

अध्यादेशलाई निर्देशिकाले काटिरहेको छ। निर्देशिकालाई टेलिफोनद्वारा ‘गणतान्त्रिक हुकुम’ ले काटिरहेको छ। अत्यन्त अनौठा र उदेकलाग्दा तमासा देखिने नाट््यमञ्च जस्तो भइरहेको छ कम्युनिस्ट राजनीति जहाँ नियम र नैतिकतालाई गोली मारेर खेलिएका क्रूर तमासा नाङ्गोरूपमा देखा परिरहेका छन् जसको सञ्चालक एमाले अध्यक्ष नै हुन्।

जब राष्ट्रिय शक्तिका रूपमा रहेका दलहरूले न्यूनतम सहमति र सहकार्यको नीति त्यागेर मूल्य/मान्यताबिहीन सत्तामुखी राजनीतिमा मात्र ध्यान दिन थाले, त्यसले संकटलाई अझ घनीभूत बनाउँदै लग्यो। राष्ट्रिय शक्तिका बीच एकताको सट्टा जब शत्रुतापूर्ण अन्तर्विरोधको बाटो लिइयो, त्यसले राष्ट्रको मियो–शक्ति त मास्यो नै, राष्ट्रिय शक्तिका बीच शत्रुता, वितण्डा र विग्रहलाई निरन्तरता दिइरह्यो, त्यसका अरू रूप र आयाम प्रकट हुँदै गए। राष्ट्रिय एकताविनाको लोकतन्त्रले धेरै प्रकारका जोखिम बोकेको हुन्छ भन्ने धरातलीय यथार्थको उदाहरण नेपाल आफैँ हुन पुगेको छ।

हिजोसम्म केशरजंग रायमाझीका राजनीतिक गतिविधिलाई ‘माझीवाद’ भन्दै उग्र निन्दा गर्दै आएका एमाले अध्यक्ष ओली नै आज ‘माझीवाद’ को पदचिह्नमा हिँडिरहेका छन् भने कम्युनिस्ट पार्टीकै लागि यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्ला ! परम्परागत शक्तिसँग मेलमिलाप र भाइचारायुक्त वातावरणको विकास तथा पार्टीहरूभित्र शीर्ष नेताहरूबाट उत्पन्न रछ्याने झगडाको निर्ममतापूर्वक अन्त्य नगरेसम्म सिंगो मुलुक राजनीतिक परिवर्तनको बहानामा यस्तै अन्योल र कठोरता भोग्न विवश भइरहनेछ।  नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार