वैशाख १२, २०८१ बुधबार April 24, 2024

शुल्कवृद्धिको विरोधमा कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको कृषि संकायले प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको विरोधमा विद्यार्थी आन्दोलित भएका छन् ।

कृषि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ढाड सेक्ने गरी प्रवेश परीक्षा शुल्क बढाएको भन्दै फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका छन् । कृषि संकायले आइतबार सूचना प्रकाशन गरी प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको छ ।

शुल्क वृद्धिको विरोधमा अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले शुक्रबार बिहानैदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय शितलचोकमा नारावाजी गरेका छन । उनीहरुले वृद्धि भएको शुल्क तुरुन्त फिर्ता लिन चेतावनी दिएका छन ।

अनेरास्ववियूका अध्यक्ष सन्तोष खतिवडाले विद्यार्थीसँग अधिक पैसा उठाएर अपारदर्शी ढंगबाट खाने योजना अनुसार शुल्क बढाइएको आरोप लगाएका छन । आन्दोलनरत विद्यार्थीहरुले कृषि संकायमा डिनको कार्यालयमा तालावन्दी गरेका छन् । आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विद्यार्थीले प्रवेश परीक्षा नै ५ हजार रुपैयाँ राखेर गरिब, जेहेन्दार विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप लगाएका छन् । विश्वविद्यालयमा कार्यालय सहायक परीक्षामा आवेदन शुल्क ८ सय, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १ हजार तथा सहप्राध्यापकको आवेदन शुल्क १७ सय ५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीको आवेदन शुल्क ५ हजार तोकेर विद्यार्थीमाथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीको भनाइ छ । तत्काल शुल्क नघटाए अझै कठोर कदम चाल्न बाध्य हुने संघसंगठनले चेतावनी दिएका छन् ।

कृषि संकायले संकाय रामपुर र ७ वटा आंगिक क्याम्पस तथा ७ वटा निजी सम्बन्धन प्राप्त कलेजमा स्नातक तह बिएस्सी एजीमा भर्ना खुल्ला गरेको छ । केन्द्रीय क्याम्पस, आंगिक कलेज वा निजी क्याम्पसमा विद्यार्थीको चाहना अनुसार छनोट गर्न पाउनुपर्ने र सोही अनुसार मात्रै रकम तोकिनुपर्नेमा एकमुष्ट पाँच हजार प्रवेश शुल्क राखेकोले जसरी पनि पैसा उठाउने ध्याउन्नमा संकाय लागेको विद्यार्थीहरुको आरोप छ ।

अघिल्ला बर्षहरुमा केन्द्रीय क्याम्पसमा फारम भरेको दुईहजार पाँच सय र अन्य आंगिक कलेजमा फर्म भर्दा प्रतिकलेज अतिरिक्त पाँचसय तिर्नुपर्ने व्यवस्था गरिएको थियो ।
कृषि संकायका डिन जयप्रकाश दत्तले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि र आन्तरिक आय स्रोत बढाउन शुल्क बढाएको प्रतिक्रिया दिएका छन् । गत वर्ष कृषि संकायमा ४ सय विद्यार्थी भर्ना भएका थिए । यस वर्ष ५९८ जना भर्ना हुन पाउने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया