असार २८, २०८२ शनिबार July 12, 2025

यस कारण कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।

देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।

सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्थापन इतर पक्षले आआफ्नो अडान लिँदै आइरहेका छन् ।

संस्थापन पक्षले सदस्यताको विषयलाई सहमतिबाटै टुंग्याउने प्रयत्न गरिरहेको छ भने इतर पक्षले जथाभावी रूपमा सदस्यता बाँडिएको भन्दै कडा छानबिनको माग गर्दै आइरहेको छ । इतर पक्षका हरेकजसो नेताहरूको बैठकमा यो विषय उठ्दै आइरहेको छ ।

सदस्यता छानबिन समितिका सदस्य नेता जीवन परियारले मापदण्ड नबन्दा छानबिनमा समस्या देखिएको बताए । ‘अहिलेसम्म मापदण्ड बनेको छैन, एक दुई दिनभित्र टुंगो लगाउने आश्वासन शीर्ष तहबाट आएको छ, त्यसपछि हामी काम टुंग्याउँछौं,’ समितिका सदस्य रहेका नेता परियारले राजधानीसँग भने ।

कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वको लोकतन्त्रिक फोरम, राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापा नेतृत्वको समूह र अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई पार्टीमा समायोजन गर्न र उनीहरूलाई दिएको क्रियाशील सदस्यताको विषयमा धेरै विवाद देखिएको छ ।

कांग्रेस पार्टी कार्यालयका अनुसार हालसम्म कांग्रेस केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा ८ लाख २० हजार क्रियाशील सदस्यता इन्ट्री भइसकेको छ । त्यसमध्ये ३ लाख ९२ हजार पुराना र बाँकी नयाँ हुन् । करिब ६ लाख क्रियाशील सदस्यता निर्विवाद छन् भने र २ लाख २० हजार सदस्यता छानबिन क्रममा छन् ।

४ असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २० असारसम्म क्रियाशील सदस्यता विषय टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यादेश क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको थियो ।

तर, अझै पनि बर्दिया, बारा र सिन्धुपाल्चोकको सदस्यता नामावली पार्टी केन्द्रीय कार्यालयको सर्भरमा इन्ट्री भएको छैन । जसका कारण सो समयभित्र समितिले काम सक्ने सम्भावना अब न्यून हुँदै गएको छ ।

केही दिनअघि मात्रै समितिले मापदण्ड नबन्दा विवाद समाधान गर्न समस्या भएको भन्दै शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराएको थियो । कांग्रेसको क्रियाशील सदस्यताको विवाद सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ ।

छानबिन समितिलाई शतप्रतिशतभन्दा बढी नयाँ सदस्यता फाराम भरेका वडामा कसरी विवाद मिलाउने भन्ने समस्या परेको छ । यस्तै, तहगत रूपमा सिफारिस भएर आउनुपर्नेमा कुनै तह छुटाएर आएकालाई कसरी हेर्ने ? नेपाल लोकतान्त्रिक फोरमभित्रको समयोजनको विवादलाई के गर्ने ? र अन्य पार्टीबाट आएका भनिएकाहरूको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि समस्या देखिएको छ । समितिले यही आधारमा मापदण्डको प्रारम्भिक मस्यौदा बनाएर शीर्ष नेतृत्वलाई बुझाएको थियो ।

निधि, कोइराला र सिंहले केन्द्रीय सदस्यसँग छलफल गर्ने
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकामान सिंहले महाधिवेशनबारे पार्टीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।

नेता सिंहको ठमेलस्थित निवासमा मंगलबार बसेको तेस्रो चरणको छलफलपछि तीनै नेताहरू अबको छलफल केन्द्रीय सदस्यसँग गर्ने निर्णयमा पुगेका हुन् ।

नेता सिंहले अबको छलफल केन्द्रीय सदस्यसँग हुने जानकारी दिए । ‘हामी तीन चरणको छलफलमा बस्यौं अब केन्द्रीय सदस्यहरूसँग हामी छलफल गर्छाैं, त्यसपछि नेतृत्वबारे कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुग्छौं,’ नेता सिंहले बैठकपछि राजधानीसँग भने ।

सिंहका अनुसार आगामी शुक्रबार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल आयोजना हुनेछ । केन्द्रीय सदस्यसँगको छलफलपछिको अर्को चरणमा भने १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरूसँग पनि छलफल गरिने नेता सिंहले जानकारी दिए ।

तीन नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल हुँदै आइरहेको छ । उनीहरूबीच हाल पार्टीभित्र रहँदै आएका गुट अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल हुँदै आइरहेको छ ।

नेता त्रयबीच सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यसपटक नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको छ । सो रणनीतिअनुसार सबै आकांक्षीबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्वीकार्ने विषयमा उनीहरूबीच छलफल भइरहेको हो ।

नेता त्रयबीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगन्जमा ११ असारमा छलफल भएको थियो भने त्यसअघि ७ असारमा उपसभापति निधिको मध्यबानेश्वरस्थित निवासमा छलफल भएको थियो । कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदै छ । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार