‘कम्युनिस्ट’ सरकारमा भए पनि सत्ताका मूल अंग कालाकोटे र खैराकोटे ‘जर्नेल’ नै हुन् । सरकार त उनकै दया र विवेकमा टिक्ने न हो । अझ सबै अंगलाई कर्पोरेट विश्वले चलाउँछ । कम्युनिस्ट भने सुदूर भविष्यका मात्रै अभियन्ता बने । बुर्जुवा वर्गभित्रका अन्तर्विरोधलाई तिनले या त महत्व दिएनन् या ‘व्यावहारिक’ बन्ने भनाइ र गराइका कारण र्याङको ठ्याङ मिलाउन जानेनन् ।
‘कम्युनिस्टका’ दुःख : दोहोरो भूमिकामा देखिने ‘कम्युनिस्टका’ दुःख पनि कम्तीका छैनन् । हिजो दलित र ‘कम्युनिस्टको’ सडकमा जम्काभेट भयो । तर्कका ओइरो लागे । कहिले ‘कम्युनिस्टको’ मधिसेसँग, कहिले जनजातिसँग, कहिले महिलासँग, कहिले मजदुरसँग, कहिले बुद्धिजीवी र पत्रकारसँग आमनेसामने भएर एक–आपसमा आँखा तरातर भइरहन्छन् । ‘कम्युनिस्टका’ राजनीति, घोषणा र नारामा त उत्पीडितका विषय सँगेटिन्छन्, तर यिनले भुइँमान्छेलाई कहिल्यै भरोसा भने गरेनन् । आवेग र उत्तेजनालाई शक्तिको औजार त बनाइयो, तर भरोसा लिने कोसिस भने भएन । ‘सवाल्टर्न’ तप्काबाट आएका भनिएका नेतृत्व पनि ‘विष्ट’ पुज्ने मात्रै देखिए । उत्पीडित तप्काका अभिजातलाई दया गरेर सत्ताको हिस्सा दिएको देखिए पनि मूल कार्यकारीबाट पाखा लगाइँदै गयो । हेरक पार्टी, सत्ता र सरकारको नेतृत्व नियाले वर्चश्वशाली तप्काको चाल, चित्र र चरित्र देखिन्छन् ।
भुइँमान्छेसँग जम्काभेट मात्रै हुँदैन ‘कम्युनिस्टहरूको’ इतिहाससँग, द्वन्द्ववादसँग, वर्गसंर्घषसँग, आफ्नै आदर्श, इतिहास, पृष्ठभूमि, छाया र प्रतिबद्धतासँग पनि भयानक टकराहट भएर द्वैध भूमिकामा देखिन बाध्य हुन्छन् । ‘कम्युनिस्टका’ दुःख पनि बहुकोणीय हुन्छन्, एकैपटक शासक पनि हुनुपर्ने र कम्युनिस्ट पनि देखिनुपर्ने ! एकैपटक भौतिकवादी पनि देखिनुपर्ने, पशुपतिमा क्षमापूजा गर्दै करोडौँको सुनको जलाहारी पनि हालिदिनुपर्ने । सीतारामको मूर्तिमा प्राणप्रतिष्ठा पनि हाल्नैपर्ने, अर्कातर्फ विश्वका मजदुर एक हौँ भन्दै सहिदलाई श्रद्धाञ्जली दिन मुठी पनि कस्नैपर्ने । वर्चश्वशालीलाई खुसी पार्न राजशाहीप्रति नरम देखिनैपर्ने अर्कातर्फ धर्मनिरपेक्ष र गणतन्त्र पनि बिर्सन नहुने । एकातर्फ चरम राष्ट्रवादी पनि देखिनुपर्ने र अर्कातर्फ प्रभुलाई खुसी पनि पार्नुपर्ने । सामान्य कलाकारले दुवै भूमिका एकैपटक निभाउनै सक्दैन ।
जे छ, भन्न र देखिन नसक्नु, जे छैन र होइन, त्यही भन्नु र देखिनु ‘कम्युनिस्टको’ बाध्यता हो ।
नसिकिएको पाठ : पूर्वी बर्लिनमा १७ जुन १९५३ मा मजदुर विद्रोह दबाउन सोभियत रुसको सेनाका ट्यांक जर्मनीमा गुडे । त्यसलाई महान् साहित्यकार÷नाटककार बर्तोल बे्रख्तले– मजदुर र कम्युनिस्टको पहिलो भेटघाट’ भने । त्यस घटनाको आधारभूत विश्लेषण भएको भए कम्युनिस्ट व्यवस्थाको आधारभूत कमजÞोरीमाथि राम्रो बहस हुन सक्थ्यो । तर, कम्युनिस्ट र उनका विरोधीले त्यो कष्ट उठाएनन् ।
सन् १९३० को दशककोे मध्यतिरै रातो पछ्यौरीमै लालमण्डले बिगबिगी सोभियत रुसमा सुरु भइसकेको थियो । त्यसलाई ‘न्युमेन क्लातुरा’ भनिन्थ्यो, अझ सत्तामा पुगेको कम्युनिस्ट आन्दोलन सखाप पार्न वर्ग फेरिएका नेता, कार्यकर्ता र मानसिक व्यवस्थापन गर्ने जैविक बुद्धिजीवीप्रति एन्टिनियो ग्राम्स्कीले ‘बन्दीको डायरीमा’ सचेत गराइसकेका हुन् । सबैसँग तर्क हुन्छ, आफूलाई सर्वज्ञ सोच्ने शक्ति आलोचना सुन्नै सक्दैन । अझ कम्युनिस्टहरू आलोचक सहयोद्धालाई प्रतिक्रियावादीको घुसपैठ वा एजेन्ट सहजै भनिदिन्छन् । अन्य विचार र आन्दोलनभन्दा गाली शास्त्रका ‘कम्युनिस्ट’ राजनीतिक ‘पण्डितहरूमा’ शुद्धता धेरै पाइन्छ ।
‘आन्दोलन, संघर्ष, त्याग र बलिदान’बाट उठेका नेतृत्वलाई आलोचना गर्दा त चरक्क हृदय चिरिन्छ । तर, आत्मालोचना र आलोचना त आन्दोलनलाई धारिलो बनाउँदै जीवन्त राख्ने हतियार हुन् । नेताबाट मालिकमा फेरिएका ‘कमरेडहरू’ आलोचना स्विकार्नै सक्दैनन् । आलोचना खुलामञ्चमा सबैसामु जनताबीच हुनुपर्छ । सबैभन्दा खराब त्यो मान्छे हो, जसलाई समाजले राम्रो भनेको हुन्छ, तर ऊ गलतलाई साथ दिन्छ । यस उपमहाद्वीपमा माक्र्स र अम्बेडकरको संयुक्त चस्माबाट ननिहाले जाति, वर्ण र वर्गको उत्पत्तिको समाज बुझाइ अपूरो हुन्छ ।
दोहोरो भूमिकामा ‘कम्युनिस्ट’ : जे छ, भन्न र देखिन नसक्नु, जे छैन र होइन, त्यही भन्नु र देखिनु ‘कम्युनिस्टको’ बाध्यता हो । वर्चश्वशाली तप्काको संगत आचार, विचार, व्यवहार र संस्कृति पछ्याएर मात्र ऊ सत्ताधारी र आधुनिक बन्न पाउँदोरहेछ । तर, जनमत वामढल्को भएकाले ‘कम्युनिस्ट’ देखिन पनि बाध्य छ । एकाबिहानै त्यही द्वैध भूमिकामा रहेका मित्रवर शर्माजीको जिज्ञासामा मुस्लिमका यति धेरै संगठन बन्दा हिन्दू संगठन किन नबनाउने ! खुला जवाफ दिनुस्, लेख्नुस् भने । प्रश्नसँगै अपेक्षित उत्तर थिए । अहिले भारतमा सनातनी हिन्दू र राष्ट्रिय स्वयंसेवक संगठन (आरएसएस) वैचारिकताका दुई थरी हिन्दू छन् । आरएसएसको हिन्दुवाद (डा.बालकृष्ण शिवराम मुंजे, हिटलर र मुसोलिनीद्वारा प्रशिक्षित र अनुयायी) आक्रामक र घृणाको कारखाना हो, उसलाई आवेग बढाउन नक्कली शत्रुको आवश्यकता पर्छ । त्यसकै प्रभावमा सांस्कृतिक राष्ट्रवादी ‘कम्युनिस्ट’ पर्दै गएका छन् ।
सेन्सरहीन लेख्नु र बोल्नु आजको समयमा सबभन्दा ठूलो चुनौती हो । शर्माजीको आशयभित्र प्रतिक्रियाको चिन्तन, अभ्यास र भूमिकाको अपेक्षा थियो । प्रतिक्रिया फैलिँदै जाँदा अरू जिज्ञासा थपिँदै जान्छन् । महिला संगठन बन्दा पुरुष संगठन किन नबनाउने ? किसान संगठन बनाउँदा जिम्दार संगठनको किन विरोध ? मजदुर संगठन बन्दा मालिक संगठन किन नबनाउने ? (यसै पनि उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्स, उद्योग परिसंघ त छँदै छन्) दलित संगठन हुन्छ भने सवर्ण वा ब्राह्मण संगठन किन नबनाउने ? मधेसी मोर्चा बन्छ भने पहाडी संगठन किन नबनाउने ? मगर, थारू, किराँत वा जनजाति संघ बनाउन हुन्छ भने खस वा पण्डित संगठन किन नखोल्ने ? एउटाको प्रतिक्रिया, आवेग र घृणा अर्को किन नहुने ?
‘कम्युनिस्टका’ दुःख पनि बहुकोणीय छन् । एकैपटक शासक पनि हुनुपर्ने र कम्युनिस्ट पनि देखिनुपर्ने । एकैपटक भौतिकवादी पनि देखिनुपर्ने, पशुपतिमा क्षमापूजा गर्दै करोडौँको जलाहारी पनि हालिदिनुपर्ने । सीतारामको मूर्तिमा प्राणप्रतिष्ठा पनि हाल्नैपर्ने र विश्वका मजदुर एक हौँ भन्दै सहिदलाई श्रद्धाञ्जली दिन मुठी पनि कस्नैपर्ने ।
परिणामले मात्रै राम्रोको किटान गर्छ : एडोल्फ हिटलर सामाजिक र सांस्कृतिक रूपमा धेरै असल र शालीन मान्छे थिए । धार्मिक जीवन र आचार, व्यवहार शुद्ध थियो । पूर्ण शाकाहारी थिए । बिँडी, चुरोट छुँदैनथे, जाँडरक्सी सेवन गर्दैनथे । पेन्टिङ गर्थे, सुन्दर तस्बिर बनाउँथे, संगीतका सौखिन थिए । दुस्मनले समेत महिलाप्रति असम्मानको आरोप लगाउन सकेका थिएनन् । अविवाहित थिए । सोभियत सेना बर्लिन पुगेपछि अर्थात् मृत्युको केही घन्टा पहिले मात्र २८ अप्रिल १९४५ प्रेयसी इवा ब्राउनसँग बिहे गरेर दुवैले बंकरमै आत्महत्या गरे ।
हिटलर समाजवादी थिए । नाजी पार्टीबाट निर्वाचित चान्सलर बने । ‘हर फ्युरर’ भन्न थालियो । यहुदी वंशलाई भने अत्यन्तै घृणा गर्थे । घृणाका शक्तिशाली तर्कले जर्मन जनता लट्ठ परेर आवेगी मात्रै भएनन्, अन्धभक्त पनि भए । तर्क थियो– १) पहिलो विश्वयुद्धमा जर्मनीको पराजय र अपमानपूर्वक सन्धिमा यहुदीको ‘गद्दारी, राष्ट्रघाती’ भूमिका २) शुद्ध आर्यरक्त भएकाले जर्मनजाति संसारकै श्रेष्ठ मानव हो । घृणा बढ्दै जाँदा कतिपय यहुदीले ख्रिस्तान धर्म स्विकारे, कतिपय जर्मनीबाट पलायन भए । तिनैमध्येका हुन्– अल्बर्ट आइन्सटाइन पनि । यहुदी मान्छे नै होइनन्, भए पनि द्वयं दर्जाका हुन् भनियो । उनलाई हेप्नु, अपमान गर्नु र दण्ड दिनु जर्मन ‘दायित्व’ ठानियो । आफूलाई श्रेष्ठ प्राणी बताउँदै र जर्मनीको समस्या यहुदी हुन् भन्ने जबर्जस्त मान्यता स्थापित हुँदै गयो । विचार र साम्राज्य विस्तार गर्न युद्धमा धुरीराष्ट्रको नेतृत्व गर्न पुगे ।
अहंकार, घृणा र सत्ता प्यासले एक शालीन राजनीतिज्ञ जनमतलाई आवेग र उत्तेजनामा उरालेर आफू फासिस्टमा फेरिँदोरहेछ । सामाजिक शालीनता, भद्रता र धार्मिकता अहंकारको चुचुरोमा पुगेपछि तर्कले परिणाम छोप्न सकिँदोरहेनछ । इस्लामोफोबिया ग्रसित समाजमा मुसलमानप्रति संसारमै अहिले घृणा फैलँदो छ । त्यसमा आरएसएसको प्रभावमा पर्दै गएर ‘सांस्कृतिक राष्ट्रवादी’ बनेका भारतीय र नेपाली ‘कम्युनिस्ट’ पनि अहिले दबाबमा परेका छन् ।
अन्त्यमा : सरकारको नेतृत्व र ‘कम्युनिस्ट’ पार्टीको सर्वोच्च कार्यकारी भएकाले कामचलाउ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली दोहोरो दबाब र चुनौतीपूर्ण समयमा छन् । उनले ढोका खोल्न ढिला गरिसके । एकल नेतृत्वमा निर्णय केन्द्रीकृत भएपछि अरू निर्णयकर्ता नभएर कार्यान्वनकर्ता मात्र बनेर दायित्व कसैको हुँदैन । जितका सबै हकवाला हुन्छन्, पराजयका कोही अंशियार देखिँदैन ।
राम्रा मान्छेले राजनीतिक हस्तक्षेप नगर्दा खराब पात्रको शासनमुनि शासित हुन देश बाध्य हुन्छ । असल, विद्वान्, दूरदृष्टि र मान्छेलाई केन्द्रमा राखेर भूमिका निभाउनेले पनि खराब मान्छेका अधीनमा शासित हुनुपर्छ । त्यस्ताका शक्ति ग्रन्थी रसाउन थालेपछि राज्य भनेको मै हुँ भन्दै संसद्, कार्यपालिका र न्यायपालिका हुकुममा लत्रिनुपर्छ भन्ने सोच्छन् । शक्तिकेन्द्रित गरिएपछि सेटिङ र षड्यन्त्र शासनका औजार बन्छन् । भय र लोभले सहयोगी तयार गरिन्छ । जनमत मेरै नजरियाले सोचोस् भन्ने आशा गर्छ । खोका कार्तुसलाई ब्रह्मास्त्र सोच्न थाल्छन् । भय र त्रासमा हाँकिएका नागरिक क्रमशः प्रजामा फेरिँदा नांगो सत्य बोल्न सक्दैनन् ।
राजनीतिक धर्म परिवर्तन त कोरोनाका लागि त भ्याक्सिन लगाएर जाने भो, तर राजनीतिक क्यान्सर कसरी समाधान गर्ने कुन केमो लगाएर सन्चो होला ! विचार बसाइँ सरेपछि कानुनी माक्र्सवादी बनिन्छ । अधिकांश ‘कम्युनिस्ट’ नेतृत्व कोख र भूगोलले वर्चश्वशाली तप्कामा पर्थे । शासक जातीय धर्म र लिंगीयकै थिए । अरूलाई उपदेश-मान्यता दिन त पण्डित बने पनि कर्ममा उत्रिन औधि कठिन पर्नेरहेछ । जन्मथलो र कोख छान्ने कसैको पनि अधिकार क्षेत्रमा पर्दैन । वर्चश्वशाली चिन्तनमा आफूलाई श्रेष्ठ र अरूलाई हीन सोच्ने घृणाशास्त्र जोडियो भने त्यो अहंकारमा फेरिँदै क्रमशः फासिस्ट मतियारमा फेरिन्छ । लुक्ने बर्को संस्कृति बन्छ । मान्छेलाई केन्द्रमा राख्ने र विज्ञानको चस्माले जीवन र जगत् नियाल्दा भने फरक हुन्छ ।
एउटा वामपन्थी वा कम्युनिस्ट जतिसुकै सिद्धान्तहीन भए पनि ऊ साम्प्रदायिक, धार्मिक, जातीय असहिष्णु भने हुनैसक्दैन । जाति वा धार्मिक आडमा कुनै पनि देशको राष्ट्रियता र पहिचान अडिएको हुँदैन । धर्म निजी विश्वास हो भने मानव सभ्यता विकासक्रममा जगेर्ना गरिएका सौन्दर्य संस्कृति हुन् । बहुजातीय र बहुधार्मिक देशमा संस्कृति पनि बहुसांस्कृतिक हुन्छ । शासकजाति अर्थात् वर्चश्वशाली तप्काका संस्कृति समग्र देशवासीको संस्कृति हुँदैन । संस्कृतिको टेको पाएन भने संसारकै कुनै पनि धर्म एकछिन पनि टिक्न सक्दैन ।नयाँपत्रिका दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया