काठमाडौं । संविधानसभाका अध्यक्ष तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू पाँचाैंपटक सभामुख बन्न तयार रहेको संकेत गरेका छन् ।
कृष्णबहादुर महराले राजीनामा दिएलगत्तै सभामुखमा नाम चर्चामा आउँदा नेम्वाङले आफू पुनः सभामुख हुन इच्छुक नरहेको प्रतिक्रिया दिएका थिए ।
यद्यपि , प्रधानमन्त्री तथा नेकपाका पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको रुचि नेम्वाङलाई नै सभामुख बनाउने रहेकाले पाँचौं पटक उनको सम्भावना बढेको कतिपय नेताहरु बताउँछन् ।
पहिलोपटक ०६३ सालमा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बनेका नेम्वाङ त्यसपछि तत्कालीन विद्रोही माओवादीसहितको अन्तरिम संसदको पनि सभामुख निरन्तर भए । ०६४ / ०७० को संविधानसभा निर्वाचनपछि नेम्वाङ नै संविधानसभा अध्यक्ष र सभामुखमा दोहोरिए ।
नेकपाभित्र अग्नि सापकोटा र देव गुरुङ पनि सभामुखको लबिङमा रहेका र उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख बन्ने निश्चित भएपछि मात्र उपसभामुखबाट राजीनामा दिने बताइरहेका बेला नेम्वाङले भने यो निर्णय पार्टी र संसदले सहज रूपमा गर्ने दाबी गरेका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा नेम्वाङले आफू सभामुख बन्नुपर्ने अवस्थामा तयार रहेको संकेत मात्र गरेनन्, संविधानबमोजिम उपसभामुख फरक दललाई दिनु परे पनि कांग्रेसले नपाउने आशयसमेत प्रकट गरेका छन् ।
उपनिर्वाचनका बेला अध्यक्ष प्रचण्डसँगै अर्का अध्यक्ष ओलीको प्रतिनिधिका रूपमा देश दौडाहा गरेका नेम्वाङले उपनिर्वाचनले सत्तापक्षलाई नमात्तिन र प्रतिपक्षलाई नआत्तिन सन्देश दिएको बताएका छन् ।
प्रस्तुत छ– नेकपा संसदीय दलका उपनेता नेम्वाङसँग गरिएको संक्षिप्त कुराकानी:
प्रमुख प्रतिपक्षले संसद खोज्न थालेको छ, प्रधानमन्त्री बिरामी र सभामुख जेलमा भन्दै संसदबाट जनताका आवाज बोल्न पाइएन भन्ने गुनासो पनि आएको छ । सत्तापक्षको उपनेताको हिसाबले प्रतिपक्षको सरोकारलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
प्रतिपक्षले सडक नखोजेर संसद खोज्नु यो राम्रो कुरा हो । यो संसदीय प्रणाली, जसलाई हामीले संविधानमा स्थापित गरेका छौं र प्रभावकारी बनाउन चाहेका छौं, त्यसका लागि यो सुखद संकेत हो ।
प्रतिनिधिसभा नियमित रूपमा बस्नुपर्छ । सदाको चलन यो हिउँदे अधिवेशन पुसको १२/१३ गतेतिर बस्ने हो । त्यसबारेमा अहिले छलफल भइसकेको छैन । तर, प्रतिपक्षको यो चाहना र भावनालाई सम्मान गर्दै सत्तापक्षले छलफल गरेर चाँडै टुंगोमा पुग्छ ।
प्रधानमन्त्री विरामी भएको र सभामुखको टुंगो लगाउन नसकेको दुःखका बीच सत्तापक्षले संसदलाई पछि धकेल्न खोजेको आशंका पनि गरेको छ नि प्रतिपक्षले त ?
त्यसो होइन । प्रधानमन्त्री अहिले स्वास्थ्य उपचार गरेर फर्किएपछि स्वस्थ हुनुहुन्छ । उहाँ नियमित काममा फर्किसक्नुभएको छ । जहाँसम्म सभामुखको चयनको कुरा छ, सभामुख संसदबाटै चयन हुन्छ । नियमित संसदको अधिवेशन चाँडै बस्छ भन्ने मलाई लाग्छ । त्यसपछि संसदले सभामुख पाइहाल्छ ।
तर, दुई महिनाभन्दा बढी भयो सभामुख नभएको, यसले केही असर गरेको छैन ?
सभामुखको विशेषतः संसद सञ्चालनमै भूमिका हुन्छ । त्यसभन्दा बाहिर पनि संसद नबसेका बेला समितिको क्रियाशीलताका सन्दर्भमा पनि सभामुखको आवश्यकता हुन्छ । त्यसैले सभामुखको अरुबेला काम हुँदैन भन्ने हुन्न । सभामुखको आवश्यकता जहिलेसुकै हुन्छ । तर, हामीले कल्पना नगरेको स्थिति अहिले बन्यो । यस्तो स्थितिलाई जतिसक्दो चाँडो अन्त्य गर्नु बुद्धिमानी हुन्छ ।
जतिसक्दो चाँडो गर्नलाई नेकपाले नसकेको हो ?
मलाई लाग्छ, हामी मंसिर १४ गते र त्यसको आसपासम्म उपनिर्वाचनमै व्यस्त थियौं । सत्तापक्ष–प्रतिपक्ष सबै उपनिर्वाचनमा व्यस्त रह्यौं । अब त्यसबाट मुक्त भइसकेका छौं । सभामुख चयनका सन्दर्भमा अब छलफल हुन्छ ।
नेकपाले निकास दिने हो भने पनि त्यो अब जतिसक्दो चाँडो नै हुन्छ । देशलाई र संसदलाई सभामुख दिनुपर्छ हामीले । मलाई लाग्छ, अब देशले चाँडै सभामुख पाउँछ ।
सभामुख को बन्ने भनेर बहस भइरहेको छ । तपाईको नाम फेरि पनि एक नम्बरमै चर्चामा छ । तपाई आफैंचाहिँ त्यो पदको आकांक्षी हो कि होइन ?
मैले व्यक्तिगत रूपमा यसबारेमा टिप्पणी गर्ने गरेको छैन । किनभने, कस्तो सभामुख प्रतिनिधिसभालाई चाहिन्छ, देशलाई चाहिन्छ भन्ने कुरा एउटा व्यक्तिको दाबी भन्दा पनि त्यो संसदलाई आवश्यक पर्ने सभामुखको चयन दलहरुले गरुन्, संसदले गरोस् र एउटा राम्रो निष्कर्षमा पुगौं भन्ने मेरो चाहना हो । त्यसैले व्यक्तिगत रूपमा मैले यसबारेमा कुनै टिप्पणी गर्न चाहेको छैन ।
तर, तपाई त्यो अवस्था आयो भने फेरि सभामुख बन्नुहुन्छ ?
मैले शुरुमा यसबारेमा आफ्ना केही टिप्पणीहरु गर्न खोज्दा दलका नेताले मलाई अहिले तपाई केही नबोल्नुस् भनेका छन् । नेताहरुले यो त संसदले निर्णय गर्छ, पार्टीले निर्णय गर्छ, यसमा तपाईले किन टिप्पणी गर्नुहुन्छ ? जे गर्ने हामी गर्छौं तपाई नबोल्नुस् भन्नुभएको छ । त्यसपछाडि मैले व्यक्तिगत रूपमा बन्छु बन्दिनँ भनेर केही टिप्पणी गरेको छैन ।
भनेपछि तपाईंलाई फेरि सभामुखका रूपमा देख्न पाइने भो ?
त्यस्तो प्रसंग आएछ भने त्यसबेला छलफल गरौंला, सल्लाह गरौंला र एउटा उपयुक्त निष्कर्षमा पुगौंला ।
प्रतिपक्षको एकजना सांसदले अनलाइनखबरमै लेख्नुभएको छ, महिला सभामुख बन्न नदिन सत्तापक्षमै चलखेल भयो भनेर । तपाईहरुले अहिलेको उपसभामुखलाई सभामुख बन्नबाट बञ्चित गर्न लाग्नुभएको हो र ?
त्यो उहाँलाई पनि त्यस्तो लागेको छैन । उपसभामुखले पनि केही बोल्नुभएको छैन । तर, किन प्रत्येक प्रसंगमा हामी यो ढंगको राजनीति गर्छौं, मैले बुझ्न सकेको छैन । जहाँसम्म महिलालाई अघि बढाउने सन्दर्भ छ, हामीले त यो सन्दर्भमा विश्वमै उत्कृष्ट संविधान बनाएका छौं ।
व्यवहारमा महिलालाई राज्यका तीनै अंगका प्रमुख बनाइसकेका छौं । त्यसलाई व्यवहारमा उतार्ने सन्दर्भमा कानुनबाटै व्यवस्था गरेर स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधिलाई स्थापित गरेका छौं । त्यसैले यस्तोखालको राजनीति प्रतिपक्षबाट जुन हुन खोजेको छ, यस्तो अति राजनीतिक आग्रहमाथि म टिप्पणी गर्न आवश्यक ठान्दिनँ ।
उपसभामुखचाहिँ कांग्रेसलाई दिनुहुन्छ यसपटक ?
संविधानको व्यवस्था र हाम्रो व्यवस्था भनेको सभामुख र उपसभामुख विपरीत लिंगको हुनुपर्छ र फरक दलको हुनुपर्छ भन्ने छ । यो व्यवस्था व्यवहारमा उतार्नुपर्छ । संविधानको यो अक्षर र भावनालाई व्यवहारमा उतार्ने गरिकन अगाडि बढ्न हामी प्रतिवद्ध छौं ।
फरक दल भनेपछि कांग्रेसकै हुने भन्ने त संविधानमा लेखेको छैन । यति बुझ्नुस्, सभामुख र उपसभामुख फरक दलबाट निर्वाचित हुन्छन् ।
कहिलेसम्म ?
उपचुनावको धङधङगीबाट अब हामी मुक्त हुँदैछौं । त्यसपछि सबै प्रक्रिया अघि बढिहाल्छन् ।
उपचुनावका सन्दर्भमा नेकपा सकिने नि सच्चिने भन्ने दुई विकल्प जनमतले दियो भनेर कांग्रेसले भनिरहेको छ, नेकपाले उपचुनावको परिणामका बारेमा प्रष्ट केही भनेको छैन, तपाईहरु हतप्रभ हुनुभएको हो ?
उपनिर्वाचन भइरहँदा परिणाम आउनुभन्दा अगाडि अब यसपटक उपुनिर्वाचनबाट सत्तापक्ष नेकपा पूरै बढारिनेछ,सत्तापक्ष पूरै समाप्त हुन्छ भन्ने ढंगका टिप्पणीहरु आएका थिए । सरकार साह्रै अलोकप्रिय भएको छ र त्यसको परिणाम देखिन्छ भनेर हामीमाथि ठूलो प्रहार थियो ।
तर, परिणाम हामीले देख्यौं । केही अपवादका ठाउँमा हाम्रो आफ्नै कमजोरीका कारण गुमाउनु बाहेक समग्रमा निर्वाचनको परिणाम नेकपाको पक्षमा आएको छ । यो उपनिर्वाचनको परिणाम हेर्दा सबैले जितेको म देखिरहेको छु ।
जहाँसम्म सक्किने कि सच्चिने भन्ने प्रश्न छ, उहाँहरुलाई धन्यवाद हाम्रोबारेमा चिन्ता लिइदिनुभएकोमा । तर, चुनाव परिणामले नेकपा र कांग्रेसबीचको अन्तर लगभग दोब्बरकै बीचमा देखाएको छ । हामीले ३२ स्थानमा जित्दा उहाँहरुले १३ स्थान जिन्नुनभएको छ ।
कतिपय हिजो हामीले हारेका ठाउँमा अहिले जितेका छौं । हामीले कहिल्यै हार्दैनौं कि भनेको ठाउँमा प्रतिपक्षले जितेको छ । त्यसैले मैले भन्ने गरेको छु, यो उपनिर्वाचनमा हामी सबैले जितेका छौं । लोकतन्त्रले विजय हासिल गरेको छ ।
जहाँसम्म जनताले कोही ठाउँमा कसैलाई, कोही ठाउँमा कसैलाई जुन ढंगले कल्पना नगरिएको परिणाम दिएका छन्, त्यसमा आधारित भएर मैले भनेको छु, यो निर्वाचनमा जनताले सत्तापक्षलाई नमात्तिनु र प्रतिपक्षलाई नआत्तिनु भन्ने सन्देश दिएका छन् । हामीले यही ढंगले बुझेर अघि बढ्नुपर्छ ।
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर धेरै टिप्पणी भएका छन्, उहाँलाई आराम गर्न दिउँ, देशलाई बन्धक नबनाउँ भनिँदैछ । तर, तपाईहरु जो नजिकमा हुनुहुन्छ, तपाईहरु चाहिँ उहाँलाई आराम गर्न दिने पक्षमै हुनुहुन्न भन्ने आरोप छ नि ?
सबैभन्दा पहिलो कुरा त एक/दुईवटा अपवादका व्यक्तिगत टिप्पणीलाई लिएर म यस सन्दर्भमा अरु टिप्पणी गर्न चाहान्नँ । सबै दलहरुले, सिंगो मुलुकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
पछिल्लो समयमा हाम्रो पार्टी एक ढिक्का भएर पाँच वर्ष प्रधानमन्त्री केपी ओलीले नै देशको नेतृत्व गर्नुहुन्छ भन्ने निष्कर्ष निकालेको छ । हामी सबै यसमा खुसी छौं । प्रधानमन्त्रीज्यू अब चाँडै क्रियाशील भएर देश र सरकार सञ्चालन गर्न अग्रसर हुनुहुन्छ । यसमा अरु कुनै टिप्पणी गर्न आवश्यक छैन ।
अलिकति पनि कुनै अप्ठेरो छैन । कुनै पनि प्रकारले देश बन्धक भएको भनेर प्रश्न उठ्ने अवस्था छैन । पार्टीको कुरा कसरी अघि बढाउने भनेर दुवै अध्यक्षले दृष्टिकोण बनाउनुभएको छ र पार्टीले त्यसलाई अंगीकार गरिसकेको छ । केपी ओली र प्रचण्डको नेतृत्वमा देश अघि बढेको छ र नेकपा अघि बढ्छ ।
प्रतिक्रिया