असार २६, २०८२ बिहिबार July 10, 2025

कांग्रेसमा वैचारिक दुर्दशा – बद्री नरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लोकतान्त्रिक व्यवस्था ल्याउन अग्रणी र निर्णायक भूमिका पूरा गरेका नेपाली कांग्रेसलगायतका संघर्षशील ऐतिहासिक पार्टी आफूले ल्याएको व्यवस्थामा नै चिन्ताजनक स्थितिबाट गुज्रिरहेका छन्। लोकतान्त्रिक शक्ति कमजोर हुँदा मुलुक कमजोर भयो तर कमजोर हुनुपर्ने कारण केले ल्यायो ? ७ लाख कार्यकर्ता, ३२ लाख मतदाता र लाखौं शुभेच्छुक भएको कांग्रेसलाई आफ्नो संगठनात्मक हैसियत सशक्त र निर्णायक बनाउन केले बाधा हाल्यो र आजको दुर्गति पैदा भएको हो ? कांग्रेसको शक्ति सुदृढ भएर सत्ता पाएको होइन, अर्काको दुर्गतिमा भाग्यमानी हुनुलाई सबल भएको मानिँदैन। ‘खत्तम’ को विरोध नै ‘उत्तम’ को प्रमाण होइन, बरु कदाचित लोकतन्त्रको रित्तो ढ्वाङ् भएको हुन सक्छ।

निर्वाचनबाट शानदार बहुमत र सत्ता पाएको सत्तारुढ एमाले आज पराजित भइ विपक्षमा बस्न बाध्य भयो। त्यसमाथि पार्टीको हालत क्षतविक्षत हुन थालेको छ। नेतृत्व लिनेले दोषको भागी हुनुपर्ने शाश्वत मान्यता कुनै पार्टीका नेताहरूबाट पनि आत्मसात गर्न नसक्दा पार्टीहरूले पाएको दुर्लभ अवसर भताभुङ्ग हुँदै गयो। दुखेका आँखालाई बलेको दीयोसमेत सह्य हुँदैन भनेजस्तै उपलब्ध अनुकूल अवसर पनि आफ्नै कारणले प्रतिकूल भइरहेको देखिन्छ। सत्तारुढ कांग्रेस र सत्ताच्युत एमालेतिर तेर्सिरहेका यस्ता साझा सवालउपर मोलाहिजा र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष विश्लेषण र सत्यको निष्कर्षमा पुग्नु इमानदार राजनीतिको लक्षण हो। कांग्रेसको हकमा तबमात्र घोषित मितिमा अनिश्चित हुँदै गएको चौधौं महाधिवेशनप्रति वैचारिकरूपमा जागरुक भएको पुष्टि हुन्छ।

जहाँ धम्कीको बोलवाला हुन्छ, त्यहाँ विचारको विजोग हुन्छ। बिपी भन्नुहुन्थ्यो– ‘सत्यको मुख थुनिदियो भने मिथ्याको थुतुनो उघ्रिन्छ।’ अर्थात मिथ्याको थुतुनो उघ्रिएको ठाउँमा सत्यको हत्या हुन्छ। अपराध प्रवृत्तिबाट निर्देशित राजनीति कदापि सदाचारी हुँदैन। हालै जनता समाजवादी पार्टीको आधिकारिकता विवाद मिलाउने क्रममा, व्यक्ति हत्याको अभियोगमा बन्दी भइरहेका निलम्वित सांसद रेशम चौधरीको निर्णय लिन निर्वाचन आयोगमा हाजिर गराउनु संवैधानिक प्रक्रियामा अभियुक्त सरिक गराउनु विवादयुक्त र बदनियतपूर्ण गतिविधिको सानो उदाहरण हो। जुन पार्टीमा उसैको इतिहासको कसीले खारिएका विचारधारा, नीति र सिद्धान्तकै हत्या हुन्छ, त्यस पार्टीको भविष्य बाँकी रहँदैन। आजको कांग्रेसमा त्यस्तो भवितव्य उत्पन्न भइसकेको छ। कांग्रेसको नियति प्रजापरिषद्कै जस्तो होला भन्ने डरको चिसो यसका कतिपय निष्ठावान् र चेतनशील कार्यकर्तालाई परिरहेको देखिन्छ। डर जनताका कारणले उत्पन्न भएको होइन, नेता र उनीहरूको नैतिकता तथा सिद्धान्तहीनता र जुँगाको लडाइँका कारण भएको हो।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा जब मञ्चमा उभिएर बोल्न थाल्नुुहुन्छ, उहाँ पार्टीका योजना, लक्ष, नीति र सिद्धान्तबारे केही बोल्नुहुन्न। पार्टी–सभापतिले त सिङ्गो पार्टीको साझा आवाज बोल्नुपर्ने हो। कांग्रेसको राजनीतिक जीवनमा इतिहासका कतिपय सन्दर्भ प्रकारान्तरले दोहोरिएर आएको पाइन्छ। त्यो अवस्थामा बिपी, गणेशमानजी, सुवर्णजी, सूर्यबाबु जस्ता राजनेताले कसरी समस्याको निराकरण गरेका थिए भन्ने सवालमा आजका पार्टी सभापतिलाई ती सन्दर्भ र समाधानमा अपनाइएका उपाय खोज्नतिर मतलव देखिन्न। उहाँले बिपीको नाम र सन्दर्भ लिएर उहाँसँग आफ्नो सान्निध्यका प्रेरक प्रसङ्ग सुनाएको मैले अपवादका रूपमा पनि थाहा पाएको छैन।

कांग्रेसका लागि जनतामा पुग्ने वैचारिक राजमार्ग बनाउनुका साथै पार्टीका जरा समाजमा गहिरोसम्म पु¥याउने काम बिपी कोइरालाले गर्नुभएको थियो। सुवर्णजी, गणेशमानजी, किसुनजी, सूर्यबाबुले पनि पार्टीमा कालजयी विचार प्रतिपादन गर्नुभयो तर बिपीको हाराहारीमा आउन सक्ने अर्को नेता कांग्रेसमा त के नेपालका कुनै पार्टीमा जन्मेनन्। तर विडम्बना ! बिपी विचारधाराको तेजोवध र पार्टी–संगठन तहसनहस पार्ने काम पार्टीभित्रबाटै भयो। आज त्यसैको निरन्तरता सुचारु छ, जो देउवाले गरिरहनुभएको छ। कांग्रेसको वर्तमान कार्यकाल कहिले पूरा हुन्छ, र कहिलेसम्ममा चौधौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने कुरा तेह्रौँ महाधिवेशन सकेर नेतृत्व लिएपछि हेक्का रहनुपर्ने सत्य थियो। तर कार्यकाल पूरा भएर अरू एक वर्ष म्याद थपेर नपुगी अझै ६ महिना थप्दा पनि पार्टीको महाधिवेशन गर्न नसक्ने नाममात्रको नेताले कुरामात्र ठुल्ठूला गर्नु लज्जास्पद विषय हो। यसो हुने कारण एउटै छ, बिपीले बनाएको पार्टी विधान र किसुनजीको नेतृत्वमा बनेको देशको संविधानलाई नेतृत्वले एकसाथ मनपरि मिचेर हिँड्ने हुँदा पार्टी, मुलुक र लोकतन्त्रकै दुर्गति भएको हो।

बिपीले कांग्रेसलाई जनताका बीच क्रियाशील हुने वैचारिक र प्रजातान्त्रिक संस्कारयुक्त कार्यदिशा सिकाउनुभयो। पार्टीको मध्यमार्गी यात्रा र जनताको उच्चतम हितजन्य गन्तव्य तय गर्नुभयो। राजतन्त्र, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संविधान, दक्षिण एसियामा नेपालको भूमिका, राजनीतिक कार्यकर्ताको जनतामा भूमिका, विदेशी खतरा, उग्रवाद, अधिनायकवाद, अर्थतन्त्रको ढाँचा, विरोधी पक्षसँगको सम्बन्ध भारत, चीन, साहित्य, कला, धर्म, संस्कृति, आदि यावत् पक्षमा उहाँले सुस्पष्ट विचारधारा छाडेर जानुभयो। आफू आठ वर्ष जेल, त्यति निर्वासन र आफ्नो पार्टी ३० वर्षसम्म प्रतिबन्धित हुँदा पनि बिपीले राजसंस्थाको आवश्यकताका पक्षमा बोल्न छाड्नुभएन। २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किँदा उहाँमाथि आठवटा गम्भीर आरोपसहितका मुद्दा थिए। पञ्चहरूबाट देशभरि फाँसीको सजाय माग घन्किरहेको थियो। तैपनि बिपीले आफ्नो अन्तरात्माको आवाज, राष्ट्रको आवश्यकता र भूराजनीतिक परिस्थितिका लागि आवश्यक भएको राजतन्त्रको भूमिकाबारे पार्टीमा प्रशिक्षण चलाइरहनुभयो।

नसोची नबोल्ने र बोलेको कुरा शाश्वत सत्यमा आधारित हुनुपर्छ भन्ने मान्यताबाट बिपी कहिल्यै चुक्नुभएन। आपूmले बोेल्ने कुरामा मुलुक र जनताको हित लुकेको हुन्छ हुँदैन भन्ने राम्रो जाँच गर्न उहाँले कहिल्यै हेलचेक्य्राइँ गर्नुभएन। राष्ट्रिय मेलमिलापमा आधारित राजनीतिको युगमा त उहाँले ‘राजा र मेरो घाँटी एकै ठाउँ जोडिएको छ’ समेत भन्नुभएको थियो। यो के डराएर भन्नुभएको थियो ? आफ्ना विचार राख्दा सैद्धान्तिक आलोचनाबाहेक अतार्किक बकवास, ओठे जवाफ र ठाडो गाली उहाँले कहिल्यै प्रयोग गर्नुभएन। बिपीका बारेमा यस्ता धेरै सन्दर्भ र प्रसङ्ग छन् कि कांग्रेसले उहाँका विचारधाराबारे निरन्तर बहस चलाइरहन सक्छ। अनुसन्धान र विश्लेषण भइरहनुपर्ने हो तर वैचारिक राजनीति कांग्रेसभित्र शून्यप्रायः भइसकेको छ।

आज कांग्रेस हुनलाई बुद्धि नचाहिने जस्तो भइसक्यो। पैसाको बोलवालामा सिद्धान्त र नैतिकताको हत्या भइरहेको छ। बिपीले भन्नुभएको भनी निष्ठावान कार्यकर्ताले मुखाग्र बनाएको भनाइ चरितार्थ भइरहेको देखिन्छ– ‘प्रजातन्त्र आएपछि सरकार र पार्टीतिर मोटाघाटा, चिल्ला, सुकिला, सुविधाभोगी एकथरि मानिसको बोलवाला बढ्नसक्छ। इमानदार कार्यकर्ताले यसविरुद्ध अर्को संघर्ष गर्नुपर्ने हुन सक्छ।’ राजनीतिक नेतृत्वले बस्नुपर्ने राज्यका उच्च ओहोदामा आज प्रधानमन्त्री देउवाबाट गरिएको, पैसाको तुजुकले आएका ठूलाठालुहरूको ढसमस हेर्दा उपरोक्त भनाइ सत्य प्रमाणित हुन्छ। निष्ठावान, जुझारु र नैतिकवान कार्यकर्तालाई लघुताभास लिएर यो रमिता हेर्न विवश बनाइएको छ। त्यसैले कांग्रेसमा विचार र बुद्धि हुनु नै अभिशाप जस्तो हुँदैछ र इमानदार तथा निष्ठावान् कार्यकर्ता हुनु बेबकुफ हुनु हो भनी हालै एक कांग्रेसजनले निराशाका सुस्केरासँग तीतो अनुभव पोखेको सम्झना हुन्छ। यस्तो धुन्धुकारी चरित्र पार्टीमा हौसिनुको कारण चिन्तनहीनता र पार्टीभित्रै बिपीवादको हत्या हो। ‘आफ्नै लाशको मलामी जाने’ भन्ने गीतको उदाहरण कांग्रेस नै भइरहेको त छैन ? त्यस पार्टीका कार्यकर्ताले आपैmँलाई छाम्ने बेला आएको देखिन्छ। ‘बिपीका विचार आज पनि उत्तिकै सान्दर्भिक छन्’ भन्ने कांग्रेस नेताहरू ‘उहाँका सपना साकार पार्छौँ’ चाहिँ किन भन्दैनन् ? यही प्रश्नमा बिपीबारे कांग्रेस नेताहरूको नियत उदाङ्गिन पुग्छ।

आजको नेपाली कांग्रेस बिपीले दिएको मार्गदर्शनबाट च्यूत भएको छ। उहाँले बसालेका अनुकरणीय परिपाटी र संस्कारलाई पनि त्यस पार्टीले निर्ममताका साथ तोडेको छ। त्यही कारण हो पछिल्लो जनआन्दोलनयताको राजनीतिमा कांग्रेसले लगातार अभूतपूर्व धक्का बेहोर्नु परिरहेको छ। २०७४ मा भएका तीन तहका निर्वाचनमा त कांग्रेसको हुर्मत गुमाउने काम नेतृत्वका कारणले भएको हो। यसको क्षतिपूर्ति हुन त्यस पार्टीले अर्को बिपी कोइराला नै जन्माउनुपर्छ। बिपीले देखाएको बाटोमा कांग्रेसले आफूलाई फर्काउन सक्यो भने त्यो नै बिपीप्रतिको सच्चा निष्ठा र पार्टी तथा तमाम प्रजातन्त्रवादीप्रति न्याय हुनेछ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार