असार २५, २०८२ बुधबार July 9, 2025

बङ्गलादेशमा सङ्क्रमण घटेन, एकै दिन १५ हजारभन्दा बढी सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गलादेशमा हरेक दिन कोरोना सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको देखिएको छ । बङ्गलादेशका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ बिहीबार मात्र १५ हजारभन्दा बढी सङ्क्रमितहरु भेटिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक हो भनेको छ । यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना सङ्क्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही सङ्क्रमणबाट ज्यान पनि गएको थियो ।

त्यसैगरी बिहीबार मात्र यहाँका २३९ जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान पनि गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पाइएको छ ।

बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर १.६५ प्रतिशत रहेको छ । त्यसैगरी यहाँको निको हुने दर ८५.६ प्रतिशत रहेको छ । यहाँको सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापी रुपमा लकडाउनको व्यवस्था गरेको छ ।

कोरोना भाइरस नघटेपछि यहाँ लकडाउन कायम गरिएको हो । तर पनि पछिल्लो महिना यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सङ्क्रमण भने घटेको छैन । (रासस/सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया