असार २६, २०८२ बिहिबार July 10, 2025

इतिहास स्मरणीय बनाउने अवसर – धर्मेन्द्र झा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचौं पटक देशको प्रधानमन्त्री बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको यस पटकको कार्यकारी प्रमुखको यात्रा पहिलेको भन्दा चुनौतीपूर्ण हुने आकलन गरिएको छ । सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बन्न सम्भव भएको अवस्थामा देउवाले यस पटक देश, जनता, पार्टी कार्यकर्ताका साथै अदालतको पनि मान राख्नुपर्ने छ । यस आलेखमा प्रधानमन्त्री देउवाका भावी कार्यसूची र चुनौतीका बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

सबभन्दा महत्त्वपूर्ण त देउवाले के सोच्नु जरुरी छ भने केपी शर्मा ओली जे कारणले सत्ताबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भयो, त्यो अवस्था भोलि देउवाका सन्दर्भमा पनि उत्पन्न नहोला भन्न सकिन्न । यो अवस्था आउन नदिनु शायद देउवाको सबैभन्दा ठूलो चुनौती हो । यसबाहेक उहाँसामु अन्य धेरै चुनौती पनि छन्, जसको सामना उहाँले डटेर गर्नुपर्ने छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको नेपाली काँग्रेसको सभापति र पाँच पटकसम्म देशको प्रधानमन्त्री बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन । विगतमा चार पटक देशको प्रधानमन्त्रीको कार्यभार सम्हालिसक्नुभएका देउवा विविध कारणले राजनीतिक चर्चामा रहिरहनुहुन्छ । वैचारिक र सैद्धान्तिक आधारसँगै आक्रामक व्यक्तित्व, सत्ता–चातुर्य, साङ्गठनिक चुस्तता तथा कार्यकर्ताको संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा प्रधानमन्त्री बनेसँगै नेपाली काँग्रेस नयाँ धारको राजनीतिमा प्रवेश गरेको विश्वास गरिएको छ । त्यसो त अहिले काँग्रेसले सरकारको नेतृत्वको लोभ गर्नु हुँदैनथ्यो भन्ने राजनीतिक विश्लेषकको पनि कमी छैन । शुक्रबार, यस पङ्क्तिकारसँग महेन्द्रनगर (कञ्चनपुर)का कुँवर थरका एक जना काँग्रेसी कार्यकर्ता टेलिफोनमा भन्दै थिए, ‘यसपटक काँग्रेसले सरकारको नेतृत्व नगरे हुन्थ्यो । सरकारमा नगएको भए निर्वाचनमा काँग्रेसले शायद राम्रो लाभ प्राप्त गर्न सक्थ्यो र पार्टीले बढी स्थान सुरक्षित गर्न सक्थ्यो होला ।’ यो एक प्रकारको मत हो, जसको सान्दर्भिकतालाई ठाडै अस्वीकार गर्न सकिँदैन ।

वास्तवमा देउवा अत्यन्त दुरुह समयमा सत्ताको वागडोर सम्हाल्न पुग्नुभएको छ । पूर्ववर्ती सरकारले सङ्घीयता र लोकतन्त्रप्रति जनतामा वितृष्णा उत्पन्न गर्नेतर्फ कुनै कसर बाँकी नछोडेको बेलामा प्रधानमन्त्री बन्नुभएका देउवाले आमजनको लोकतन्त्र र सङ्घीयताप्रतिको विश्वासको रक्षा गर्न निर्णायक भूमिका निर्वाह गर्नुपर्ने छ । यो महत्त्वपूर्ण राजनीतिक जिम्मेवारी हो । यस्तै कोरोना सङ्क्रमणका समयमा देशको कार्यकारी प्रमुख बन्नुभएका देउवाका सामु सबै नेपालीलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउनुपर्ने चुनौतीपूर्ण अवस्था विद्यमान छ ।

विगतमा केपी ओलीले प्रधानमन्त्रीका रूपमा सत्ता सञ्चालन गर्दै गर्दा नियुक्त गर्नुपर्ने राज्यका कुनै पनि निकाय–अङ्ग खाली छोडिएका छैनन् । उहाँले मनोमानी ढङ्गले अनेक नियुक्ति गर्नुभएको छ । कतिपय नियुक्तिलाई वैध बनाउन संसदीय सुनवाइ आवश्यक हुने कुरा संविधानले नै निश्चित गरेको छ तर उहाँले संसद् विघटन गरेर संसदीय सुनवाइलाई नै मुल्तवीमा राखेर यस्ता अवैध नियुक्तिलाई बैध बनाउने प्रयास गरेको कुरा कसैबाट लुकेको छैन । यस अवस्थामा राजनीतिक आस्थाका आधारमा नियुक्ति पाएकाहरूले के देउवा सरकारलाई सहजै सहयोग गर्लान् ? यो महत्त्वपूर्ण प्रश्नको उपस्थितिमा उचित समाधान खोज्नु देउवाको अर्को चुनौती हो भन्ने कुरामा शङ्का छैन ।

भ्रष्टाचारका मुद्दा अर्को महत्त्वपूर्ण चुनौतीका रूपमा उहाँसामु उपस्थित हुने निश्चित छ । ओली सरकारको कार्यकालमा ओम्नी, यती, वाइडबडी विमान, सञ्चार उपकरण खरिद, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचारलगायतका अनेकौँ मुद्दा उठेका छन् । यसमा वर्तमान सरकारले चासो देखाउनुपर्ने छ । देउवा सरकारले यी मुद्दालाई कसरी हेर्नेछ, सबैका लागि प्रतीक्षाको विषय बन्न पुगेकोमा विमति हुन सक्दैन ।

यसैगरी संसद्को अस्तित्व र महìवलाई गौण मान्दै ओलीले अध्यादेशका आधारमा सत्ता सञ्चालनको सहज बाटो अँगाल्न पुग्नुभयो । यसक्रममा ओली कार्यकालमा जारी भएका दर्जनौँ अध्यादेशका सन्दर्भमा देउवा नेतृत्वको गठबन्धनको सरकारले कस्तो रवैया अपनाउने हो ? उत्तर अपेक्षित छ ।

अहिले संसद्मा प्रेस, सूचना र सञ्चारलगायत कतिपय विवादास्पद विधेयकहरू विचाराधीन अवस्थामा छन् । तिनका बारेमा पनि गठबन्धन सरकारले आवश्यक निर्णय लिनु आवश्यक छ । यी यस्ता विधेयक हुन्, जसले लोकतन्त्रको आयतन खुम्च्याउने उद्देश्य राखेका छन् । देउवा सरकारले यो विषयलाई कसरी अघि बढाउला ?

देउवाको अर्को महत्त्वपूर्ण चुनौती भनेको गठबन्धन सरकारको निर्वाध सञ्चालन पनि हो । यो सरकार काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहको एमालेको गठबन्धनमा निर्मित सरकार हो । माधव नेपाल समूहले हाल सरकारमा सामेल नहुने जनाइसकेको छ । विपक्षी गठबन्धनको महत्त्वपूर्ण आधारका रूपमा रहँदै आएका माधवकुमार नेपालले अदालतको फैसलालगत्तै गठबन्धनबाट आफू अलग भएको जानकारी दिइसक्नुभएको छ । माधव समूह सरकारमा सामेल नहुनुलाई सरकारका लागि त्यति सकारात्मक पक्ष मान्न सकिँदैन । यो अवस्थाको उपस्थितिको अर्थ हो, एमाले एकीकरणको सम्भावनालाई स्वीकार गर्नु । त्यसो त अहिले माधव समूहबिनै मन्त्रालयको बाँडफाँटको कार्यलाई टुङ्ग्याइएको छ । अन्य नियुक्तिहरूमा माधव समूहलाई प्राथमिकतामा राख्ने भन्दै सहमति गरिएको छ तर एमालेको विवाद टुङ्गिएको अवस्थामा यो सहमतिको अर्थ के रहला ? यो पनि विचारणीय छ । त्यसो त देउवासँग संयुक्त सरकार सञ्चालनको प्रशस्त अनुभव छ । यो अनुभव उहाँले एकपटक फेरि प्रयोग गर्नुपर्ने हुन्छ । यस परिस्थितिमा ओलीविरुद्धको गठबन्धनको नेतृत्व गर्दै हाल प्रधानमन्त्री बन्ने अवस्थामा आइपुग्नुभएका देउवाले यस पटकको चुनौती कसरी पार लगाउनुहोला ? उहाँको राजनीतिक चातुर्य परीक्षणको घडी आएको छ ।

संयुक्त सरकारकै कुरा गर्दा, अर्को पक्ष पनि विचारणीय छ । संयुक्त सरकार सञ्चालनका सन्दर्भमा संसदीय पद्धतिमै केही विकृति भित्र्याएको भनी देउवाको आलोचना गर्ने गरिएको छ । यो आलोचना ठीक वा बेठीक आफ्नो ठाउँमा होला तर अबको सरकार सञ्चालनका सन्दर्भमा यो आलोचनालाई पृष्ठपोषणका रूपमा स्वीकार गरी देउवाले भावी कार्यदिशा र नीति तय गर्नु वाञ्छनीय छ । यो आलोचना पूर्णतः असत्यमा आधारित छ भनेर अगाडि बढ्ने प्रयत्न उहाँबाट भयो भने यसले झन् अप्ठ्यारो स्थिति सिर्जना हुने निश्चित छ ।

विगतको तुलनामा यस पटक देउवाले तुलनात्मक रूपले विवादमुक्त ढङ्गले शासन सञ्चालन गर्न खोजेको आभाष हुन्छ । यसमा उहाँले केही सफलता पनि पाइसक्नुभएको छ । केही सन्देश सकारात्मक रूपमा प्रवाहित भएका छन् । केही अपवादलाई छोडिदिने हो भने यस पटक देउवा सरकारले गरेका निर्णय र नियुक्तिहरू विवादरहित नै छन् । निश्चय पनि यसले देउवाको पक्षमा सकारात्मक वातावरण निर्माण गर्न सघाएको छ तर केही नियुक्तिप्रति भने जनताले तीव्र असन्तुष्टि व्यक्त गरेको कुरा पनि देउवाका लागि भावी दिशा तय गर्ने दृष्टिले महìवपूर्ण छन् ।

देउवाले सरकार सञ्चालनका सन्दर्भमा दलभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई मूर्त रूप प्रदान गरेर अरूका सामु उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिनु पनि अनुचित हुँदैन । डोबाटे विश्वकर्माको अपमानको कुरा उठेको छ । कसरी यसलाई सम्बोधन गर्ने हो ? उहाँले सोच्नु जरुरी छ । जुनसुकै कारणले भएको होस्, विश्वकर्माको अपमानले पार्टीको साखलाई प्रभावित बनाउने निश्चित छ । प्रतिस्पर्धाकालीन तुषको उचित व्यवस्थापनका माध्यमबाट सबैलाई समायोजन गरी समान सहभागिताको अनुभव गराउने दायित्व उहाँको काँधमा छ । हिजोका दिनमा उहाँले एक गुटको नेतृत्व गरेको आरोप लागेकै हो तर अब एकपटक फेरि देशको सर्वोच्च कार्यकारी नेतृत्व प्राप्तिपछि पनि स्वयं देउवा र हिजोका दिनमा उहाँलाई सघाउनेहरूबाट पुरानै मनोविज्ञान प्रदर्शित हुने हो भने सिङ्गो काँग्रेसको भविष्य सङ्कटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । उहाँले इतिहासमा फेरि एक पटक महत्त्वपूर्ण अवसर प्राप्त गर्नुभएको छ । विगतमा के भयो, त्यतातिर नजाऊँ र आशा गरौँ, अब आफ्नो इतिहास स्मरणीय बनाउन प्राप्त भएको अवसरलाई उहाँले पूर्णतः सदुपयोग गर्नुहुनेछ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार