असोज ९, २०८३ शुक्रबार September 25, 2026

मुस्ताङमा ‘यार्तुन’ पर्व मनाउन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यार्तुन पर्व मनाउन शुरु भएको छ । बर्खा सकिएर हिउँद शुरु भएको सन्देश दिने यार्तुन पर्वलाई उपल्लो मुस्ताङका बासिन्दाले महत्वका साथ मनाउँछन् । कोरोना (भाइरस)को महामारीको जोखिमका कारण यस वर्ष औपचारिकरूपमा मात्रै यार्तुन मनाइरहेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु)ले परम्परालाई निरन्तरता दिन औपचारिकताका लागि यार्तुन मनाउन लागिएको बताए। “विगतका वर्षमा यार्तुनमा स्वदेशी पाहुना र पर्यटक पनि आउँथे”, उनले भने, “यसपाली कोरोनाको जोखिमलाई मध्यनजर गरेर परम्परालाई निरन्तरता मात्र दिइएको छ ।”

हरेक वर्षको साउन महिनाको अन्तिम सोमबारदेखि शुरु हुने उपल्लो मुस्ताङको यार्तुन पर्व तीन दिनसम्म मनाउँछन् । रोगव्याधि नलागोस्, अनिष्ठ नहोस्, अन्नबाली र व्यापार व्यवसाय राम्रो होस् भन्ने कामना गरेर यार्तुन मनाउने चलन छ । अग्रज र मान्यजनबाट आर्शिवाद लिने, नाचगान तथा घोडा घौडाएर यार्तुन मनाउने गरिन्छ । उपल्लो मुस्ताङका सांस्कृतिक राजा जिग्मे परवल बिष्ट र रानी धोर्जे याङ्जी बिष्ट पछिल्लो दुई वर्षको यार्तुनमा सहभागी हुनु भएको छैन ।

काठमाडौँमा रहेका विष्ट दम्पती कारोनाका कारण यार्तुनमा सहभागी नभएका हुन्। खेतीबाली लगाउने र थन्क्याउने काम सकेपछि यार्तुन मनाउने चलन छ । यार्तुन मनाएपछि त्यहाँका बासिन्दा जाडो छल्न र घुम्ती व्यापारका लागि पहाडी तथा तराई क्षेत्रमा जाने गर्छन् ।

‘यार’ को अर्थ बर्खा र ‘तुङ’को अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ । पहिलो, दोस्रो र तेस्रो दिन क्रमशः ज्येष्ठ नागरिक, युवा पुरुष र महिलाले घोडा दौडाउने चलन यार्तुनको विशेष आकर्षण हो ।

करिब ३० वर्गमिटर क्षेत्रफलको पिठोले तयार पारिएको घेराभित्र राखिने वस्तुलाई घोडा दौडाउनेले ढुङ्गाले हानेर फुटाउने चलन छ । जसले दौडिरहेको घोडा चढेर वस्तुलाई फुटाउन सक्छ, उसैलाई मुस्ताङी राजा, गाउँ मुखिया र स्थानीयले सम्मान गर्ने प्रचलन छ । यार्तुनमा गीत गाउने, नाच्ने र झाँकी देखाउने गरिन्छ । अग्रजको घरघरमा पुगेर आर्शिवाद लिन्छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया