काठमाडौंः शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा संचालन गर्ने बताएको छ । तर स्थायी शिक्षकको विज्ञापन गरे पछि मात्र लाइसेन्सको परीक्षा तोकिनेछ ।
यसअघि जारी भएका अनुमतिपत्रहरूमा भएका त्रुटि सच्याएर नयाँ ढंगबाट परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले तत्काल लाइसेन्स परीक्षा सञ्चालन गर्न नसकिने तर त्यसअघि नै स्थायी शिक्षकको विज्ञापन गरिने आयोगले स्पष्ट पारेको हो।
‘अहिले हामीले आयोगको कार्यतालिका निर्माण गर्दै छौँ। लाइसेन्स परीक्षा भन्दा अगाडि आयोगले स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरिरहेको छ,’ आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भन्नुभयो । कार्यतालिकापछि मात्र लाइसेन्स परीक्षा सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
आयोगको कार्यतालिका आएपछि त्यसकै आधारमा रोकिएका काम अगाडि बढ्ने उहाँको भनाइ छ। अहिले सत्तरी हजार बढीसँग लाइसेन्स छ भने लाईसेन्सको तयारी गर्न खोज्नेको संख्या दुई लाख बढी छ। आयोगले झन्डै १५ हजार स्थायी शिक्षकको बिज्ञापन गर्दैछ।
लाइसेन्स नभएको लाखौ जनशक्तिले उक्त बिज्ञापनमा सामेल हुन् नपाउने भएपछि निराशा थपिएको छ। यस बिषयमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ।
लाईसेन्सको परीक्षा लिएर मात्र शिक्षकको बिज्ञापन गर्न चर्को माग भएको छ। तर आयोगले भने स्थायी शिक्षकको विज्ञापनपछि लाइसेन्स दिइने जनाइएको छ । फारम भर्न पाउने सन्र्दभ विगतकै जस्तो रहने आयोगको भनाई छ । -जनबोली
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया