काठमाडौंः त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुनः पुष्पराज जोशी नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिनुभएको हो ।
उहाँको पहिलो कार्यकाल भदौ ८ गतेसम्म थियो । लगत्तै त्रिभुवन विश्वविद्यालयले ९ गते दोस्रो कार्यकालको लागि ४ वर्षे नियुक्ति दिएको हो ।
चारवर्षे कार्यकालमा जोशीले त्रिभुवन विश्वविद्यालयलाई विश्वकै उच्च श्रेणीको विश्वविद्यालयको सूचीमा पुर्याएको त्रिभुवन विश्वविद्यालयको दावी छ । उहाँको कार्यशैली र सुधारात्मक सोचले त्रिभुवन विश्वविद्यालयमा परिवर्तन आएको छ । प्रविधि मैत्री बन्दै गएको छ ।
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ ।
यस विश्वविद्यालय ३०४२–५–२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन् ।
यसले पचासवटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा दिइरहेको छ त्यस्तै १०७९ शीर्षकमा स्नातक तथा १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गरिरहेको छ ।
यसका साथै यसले पीएचडी का लागि समेत विभिन्न शीर्षकमा प्राविधिक तथा संकायस्तरीय शिक्षा दिइरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ९३१ वटा निजी क्याम्पसले सम्बन्धन लिएका छन् ।
सन् २०१३–१४ सम्म यसमा ६,०४,४३७ जना विद्यार्थीहरु विभिन्न शैक्षिक तहमा सामेल भएका छन् । त्रिभुवन विश्वविद्यालयमा ७९६६ अध्यापन संकाय छन् । त्रिभुवन विश्वविद्यालयमा १५,१९६ कर्मचारी कार्यरत छन् ।
कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ । ३८ केन्द्रीय विभागहरू समेत गरी यस विश्वविद्यालयका ६० आंगिक क्याम्पस रहेका छन् ।- जनबोली
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया