असोज ९, २०८३ शुक्रबार September 25, 2026

भगवती कोत मन्दिर पुनःनिर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण गरिएकोे छ। पुरातत्व विभागको बोलपत्र आह्वानमा ठेक्का पाएको मिलिजुली–किवेष्ट जेभीले रघुगङ्गा गाउँपालिका–२ स्थित उक्त मन्दिर पुनःनिर्माण गरेको हो ।

कम्पनीले करसहित रु ६९ लाख ३० हजार ५६६को लागतमा निर्माण गर्न विसं २०७७ फागुन २३ मा ठेक्का सम्झौता गरेकामा पाँच महिनामै सम्पन्न गरेको वडाध्यक्ष रिम कटुवालले बताए। पुरानै शैलीमा निर्माण गरिएको मन्दिरमा सिमेन्ट र रड सटृा चुना, सुर्की, गिटी र बालुवा प्रयोग गरिएको कम्पनीका प्रतिनिधि राजीव ढुङ्गेलले बताए ।

सत्रौँ शताब्दीमा निर्माण गरिएको मन्दिरमा दैनिक नित्य पूजाका साथै चैते र बडादशैँका बेला विषेश पूजा हुन्छ। दशैँको पूजामा यहाँ बलि चढाउने गरिन्छ। धौलागिरि आइसफल पदमार्गले छोएको मन्दिर परिसरबाट कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई सहजै नियाल्न सकिन्छ ।

यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न जोड दिइएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र कटुवालले बताए। सदरमुकाम बेनीदेखि चार कोष उत्तरमा कालिगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको यस मन्दिर आउन बेनी–गलेश्वर–पिप्ले–भगवती सडकले सहज बनाउनाका साथै पैदल यात्रा पनि गर्न सकिन्छ ।

तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रुपमा चिनिँदै आएको मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघि विभिन्न भुरे र टाकुरे राजा तथा १४ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया