काठमाण्डौंः अर्गानिक मानिने भएकाले नेपालगन्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगन्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ ।
नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ ।
अहिले सुरुआती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन् । नेपालगन्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।
नेपालगन्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको हो । जुम्लाको स्याउसँगै नेपालगन्ज बजारमा भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ । जुम्लाको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”
नेपालगन्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रतिकिलो बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताउनुभयो । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया