असोज १०, २०८३ शनिबार September 26, 2026

गौरा पर्व विधिवत रूपमा विसर्जन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा आज डोटीसहितका अन्य जिल्लाहरुमा विधिवत रूपमा विसर्जन गरिएको छ ।

भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्व आज विधिवतरुपमा बिस्तारै विसर्जन गरिएको जोरायल गाउँपालिका–५ की धर्मादेवी विष्टले जानकारी दिए । उनका अनुसार गड्सेरा, जोरायल, वाइल, दिपायल, मुडभारा, बर्छैनलगायतका ठाउँमा बढी गौरा मनाइन्छ ।

पञ्चमीदेखि एक वा डेढ सातासम्म देवी पूजनसँगै देउडा खेलेर यहाँ गौरा पर्व मनाइने गरिए पनि यो वर्ष कोरोना भाइरसले खासै रौनकता नभएकाले छिट्टै विसर्जन गरिएको पण्डित डिल्लीराज जोशीले बताए । उनले भने, “कोरोनाले यो वर्ष खासै गौरामा रौनकता भएन र हामीले भीडभाड पनि गरेनौँ, चाँडै विसर्जन गरिदियौँ ।” गौरा पर्वमा बढी भीडभाड नगर्न तथा समूह बनाएर देउडा नखेल्न स्थानीय प्रशासनले आग्रह गरेका कारण यहाँ गौरा पर्व चाडै विसर्जन भएको स्थानीयवासीहरु बताउँछन् ।

उता यहाँका कतिपय ग्रामीण भेगमा भने स्थानीय प्रशासनको नियमको उल्लङ्घन गरेर ठाँउठाँउमा भव्य पूजाआजा र देउडा खेलेर गौरा पर्वको विसर्जन गरिएको छ । सुदूरपश्चिमका नौ जिल्लाका विभिन्न क्षेत्रमा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुरुप फरक–फरक दिन पारेर गौरा पर्वको समापन गर्ने गरिन्छ ।

सुदूरपश्चिममा स्थानीय देवीदेवताका गाथा, महाभारत, रामायणलगायत धार्मिक ग्रन्थमा आधारित कथा गाउँदै गौरा पर्वको समापन गर्ने चलन रहेको अर्का स्थानीयवासी पण्डित मेखराज भट्टले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया