असार २५, २०८२ बुधबार July 9, 2025

मैत्रीपूर्ण फुटबलः भारतसँग नेपाल २-१ गोलअन्तरले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।

भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गर्नुभयो । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गर्नुभयो । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।

दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गर्नुभएको थियो । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गर्नुभयो । उहाँ बिनाअवरोध सहजै गोल गर्न सफल हुनुभयो । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्नुभयो । उहाँले झण्डै २० यार्ड टाढाबाट गोल गर्नुभएको थियो ।

नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गर्नुभएको थियो भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल हुनुभएको थियो । आज खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाउनुभएको थियो । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गर्नुभएको थियो ।

खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित हुनुभयो । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गर्नुभयो । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित हुनुभयो । उहाँले रु एक लाखको चेक र ट्रफी पाउनुभयो । उहाँहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गर्नुभयो ।

आजको खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ ।

अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । खेलमा पाँच हजार १०० दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । भातीय टोली नेपालसित खेल्न ६ वर्षपछि नेपाल आएको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ ।

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार