काठमाण्डौंः ‘किसानलाई मारेर कार्यक्रम संचालन गरे’, यो भनाइ हो गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारका किसान ख्यामबहादुर कार्कीको कृषि ज्ञान केन्द्रको आयोजना तथा त्रिदेवी कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालन भएको तरकारी ब्लक कार्यक्रम अन्र्तगत सम्झौता भएअनुसार प्लाष्टिक घर निर्माणको रकम नपाउँदा किसान मारमा परेका छन् । प्लाष्टिकको घर (टनेल) निर्माणका लागि ५० प्रतिशत अनुदान पाउने भएपछि ऋण गरेर टनेल निर्माण गरेका कार्कीले अहिलेसम्म पाउनुपर्ने रकम नपाएको गुनासो गरे ।
‘५० प्रतिशत हामी दिन्छौ टनेल बनाउनु भने, ऋण गरेर भएपनि टनेल बनाएँ’, कार्कीले भने, ‘अन्तिममा त्यहि प्लाष्टिक मात्र दिए । पहिले यस्तो हुन्छ भन्ने थाहा भएको भए हामी आफ्नो तरिकाले टनेल निर्माण गथ्यौँ ।’
ऋण गरेर टनेल निर्माण गरेका किसानलाई यति बेला ऋण तिर्न समस्या परेको छ । सोही ठाउँमा तरकारी खेती गर्ने हर्कबहादुर आले मगरलाई टनेल बनाउँदा लागेको खर्च कहाँबाट ल्याएर तिर्न भन्ने चिन्ताले सताउने गरेको छ ।
‘पहिले आश देखाएर यत्रा खर्च गर्न लगाए, अहिले सबै आफैंले तिर्नु परेको छ’, गालामा हात राख्दै मगरले भने, ‘हामी त धेरै मर्कामा परौँ हजुर, कहाँबाट ल्याएर त्यो पैसा तिर्न होला ।’
मगरले ५० प्रतिशत अनुदान पाइने भनेपछि साढे चार लाख रुपैयाँ लगानीमा १४ वटा टनेल बनाए । लगभग साढे दुई लाख रुपैयाँ अनुदान पाइने आशमा चार लाख लगानी गरेका मगरले एक लाख रुपैयाँ पनि पाएनन् ।
‘५० प्रतिशत अनुदान दिने भनेपछि साढे चार लाख रुपैयाँ खर्च गरेर टनेल बनाएँ । साढे दुई लाख आउनु पर्ने हो’, मगरले भने, ‘साढे दुई लाखको आश देखाएर त्यहि ७० हजार जतिको प्लाष्टिक दिएर टारे ।’
५० प्रतिशत अनुदान दिने भनेर आफूहरूलाई आश देखाइ ऋणमा ढुवाउने षड्यन्त्र गरेको आरोप किसानले लगाएका छन् । किसानलाई भ्रममा पार्ने काम गरेको भन्दै सोही स्थानमा तरकारी खेती गदै आएका खेमबहादुर बस्नेतले आक्रोशित हुँदै भने, ‘पहिले सबै सम्झौतासमेत भएको थियो । एउटा टनेल निर्माण गर्दा ३२ हजार चार सय लाग्ने खर्च पनि निकालेको थियो ।
त्यसमा हामीले १६ हजार दुई सय रुपैयाँ लगानी लगाउनु पर्ने, बाँकी १६ हजार दुई सय रुपैयाँ अनुदानमा पाउने भने । हामीले सबै खर्च व्यहोरेर टनेल निर्माण गरौँ । अन्तिममा त्यहि प्लाष्टिक मात्र दिए । सानलाई मारमा पार्ने काम गर्नु भएन नि । यो त किसानको नाम बेचेर खाएको जस्तो देखियो ।’
यता त्रिदेवी कृषि सहकारी संस्थाका अध्यक्ष रोशन श्रेष्ठ भने इन्जिनियरले टनेलको स्टमेट गर्दा केही गल्ति गरेको कारण ज्ञान केन्द्रले आधीभन्दा वढी रकम भुक्तानी नगरेको बताउँछन् ।
‘स्टमेटमा प्लास्टिकको मुल्य बढी राख्नु भएको रैछ । टनेल निर्माण गर्दा लाग्ने जाला, बाँस लगायतको खर्च कम राखिएको रैछ । प्लाष्टिकमा बढी मूल्य राखेको भन्दै ज्ञान केन्द्रबाट थोरै भुक्तानी भयो’, अध्यक्ष श्रेष्ठले भने ।
२३ लाख रुपैयाँभन्दा बढीको टनेल निर्माण गरेर पनि स्टमेटमा गल्ती देखाउँदै ज्ञान केन्द्रबाट लगभग पाँच लाख रुपैयाँमात्र भुक्तानी भएको उनको भनाइ छ । किसारसँगै सहकारीलाईसमेत नोक्सानी भएको श्रेष्ठले बताए । यस्तै कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख श्रीकृष्ण अधिकारी भने स्टमेटमा गल्ती भएको कारण पूरै रकम भुक्तानी गर्न नसकेको बताउँछन् ।
गोलन्जोर गाउँपालिका ३ मा ब्लक कार्यक्रम अन्र्तगत ५० लाखको कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशतमा तालिम तथा प्रशिक्षण र प्रचारप्रसार, बाँसको टनेल निर्माण, टनेलको लागि साना सिँचाई व्यवस्थापन, नर्सरी स्थापना, बिरुवा उत्पादन र गोठेमल खरिद, साना मेसिनरी कृषि औजार खरिद तथा वितरण र करिब ७३ वटा प्लाष्टिक घर निर्माण गरिने सम्झौता भएको थियो ।
७३ वटा प्लाष्टिक घर निर्माणका लागि २३ लाखभन्दा बढी खर्च भएको थियो । खर्च भएको रकममा ५० प्रतिशत अनुदान दिने सम्झौता भएपनि किसानले लगभग साढे चार लाख मात्र पाएका छन् । न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया