काठमाडौं । सत्तारुढ नेकपाभित्र तीव्र विवाद भइरहँदा एमसीए नेपालले संसदबाट एमसीसी अनुमोदनका लागि औपचारिक रुपमै आग्रह गरेको छ।
आइतबार मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले विज्ञप्ति जारी गर्दै संसदको हिउँदे अधिवेशनबाट उक्त कम्प्याक्ट अनुमोदनका लागि अनुरोध गरेको हो।
विज्ञप्तिमा एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन २०७७ असार १६ देखि हुने र यसको कार्यान्वयन थालनी हुनुपूर्व पूरा गरिसक्नुपर्ने ६ वटा शर्तहरूमध्ये नेपाल–भारत सीमापार प्रसारणलाइन निर्माणसम्बन्धमा भारतसँग गर्नुपर्ने सम्झौतासहित चारवटा पूर्वशर्त पूरा भइसकेको उल्लेख गरिएको छ।
आयोजना समयमै कार्यान्वयन गर्न निर्धारित आर्थिक सहयोग नेपालले प्राप्त गर्ने सुनिश्चित गर्नका लागि अब पूरा हुन बाँकी दुईवटा महत्वपूर्ण पूर्वशर्तहरु कम्प्याक्टको संसदीय अनुमोदन र आयोजना क्षेत्रमा पहुँच रहेको विज्ञप्तिमा जनाइएको छ।
एमसीए नेपालका अनुसार नेपालमा लगानी वृद्धि र आथिृक विकासमा तीव्रता ल्याउन सहयोगी वातावरण सिर्जना गर्नका लागि नेपालको विद्युतको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्ने, सडक गुणस्तर कायम गर्ने तथा नेपाल र यस क्षेत्रीच ऊर्जा व्यापारलाई सहज बनाउने उद्देश्यसहित तर्जुमा गरिएका आयोजनाको कार्यान्वयनका लागि आवश्यक तयारी कार्यको अन्तिम चरणमा रहेको छ।
तयारी चरणमा नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारणलाइन कार्यान्वयनका लागि नेपाल र भारत सरकारबचि २०१९ अक्टोबर १५ मा सहमति भइसकेको, २०१९ सेप्टेम्बर ३० मा नुवाकोटका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लाको मुआब्जा निर्धारण समिति गठन गरी अन्य नौ जिल्लामा पनि समिति गठन सुरु भएको, सम्भावित निर्माण तथा सेवा प्रदायक संस्थाहरुलाई कार्यक्रमबारे जानकारी प्रदान गर्न तथा यसअन्तर्गतका आयोजनाको निर्माणका लागि हुने विश्वव्यापी टेन्डर प्रक्रियामा विश्वका सर्वोत्कृष्ट कम्पनीहरुको सहभागिता रहने सुनिश्चित गर्न गत नोभेम्बर १८ मा काठमाडौंमा र नोभेम्बर २९ र ३० मा नयाँ दिल्लीमा आउटरिच कार्यक्रम आयोजना गरिएको उल्लेख गरिएको छ।
यस्तै प्रसारणलाइनबाट प्रभावित हुने १० जिल्लाका ३० वटा नगरपालिका र गाउँपालिकामा आयोजना कार्यान्वयनका कारण पर्ने वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गत नोभेम्बर २४ देखि डिसेम्बर ६ सम्म आयोजना गरिएको र यसबारे ३० वटै पालिकाले सिफारिस दिएको पनि एमसीएले स्पष्टीकरण दिएको छ।
त्यस्तै आयोजना सञ्चालन गरिने ३० वटै नगर र गाउँपालिकामा स्थानीयस्तरका सरोकारवालाहरुसँगको अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ। नुवाकोट, सिन्धुपाल्चोक र नवलपरासी (बर्दघाट सुस्ता पश्चिमं)मा गरी तीनवटा जिल्लास्तरीय सरोकारवालाहरुसँगको अन्तक्र्रिया गरिएको पनि एमसीए नेपालले जनाएको छ।
एमसीए नेपालका अनुसार २०२० जुन ३० मा कम्प्याक्टलाई सफलतापूर्वक कार्यान्वयन चरणमा प्रवेश गराउनका लागि आयोजनाहरुको विस्तृत डिजाइन कार्य, प्रसारणलाइन मार्ग टुंगो लगाउने कार्य तथा निर्माण कार्यका लागि बोलपत्र प्रकाशन र ठेकेदार चयन प्रक्रिया निर्धारणसम्बन्धी कार्य दुई महिनाभित्रै हुने उसले बताएको छ।
एमसीए नेपालले उक्त कम्प्याक्ट अनुदान पाउन नेपालले विश्वव्यापी प्रतिस्पर्धा गर्नुपरेको स्मरण समेत गराएको छ। साथै सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकका लागि लगानीसम्बन्धी एमसीसीका मापदण्डमा नेपाल सफल भइसकेपछि मात्र नेपाललाई उक्त अनुदान दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
‘यसैगरी एमसीए नेपालमा कार्यरत ६० जनाभन्दा बढी कर्मचारीहरुसहित नेपाली विज्ञहरुबाटै कम्प्याक्ट अन्तर्गत निर्धारण गरिएका आयोजनाहरु सम्पन्न गर्न सकिन्छ भन्ने प्रमाणित गर्नका लागि नेपालले पाएको यो ठूलो अवसर हो’, विज्ञप्तिमा भनिएको छ, ‘कार्यान्वयन थालनी भएको ५ वर्षमा सम्पन्न हुने कम्प्याक्ट समयसीमायुक्त कार्यक्रम हो।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया