असार २६, २०८२ बिहिबार July 10, 2025

कथा बिरासतको – किशोर नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा तथा श्रीमती आरजु देउवाका सुपुत्र जयवीर देउवा कांग्रेसको क्रियाशील सदस्य बनेको विषयले अहिले कांग्रेसको राजनीतिक वृत्त तातेको छ । देउवाको गृहजिल्ला डडेलधुरा तात्नुको अर्को कारण त्यहाँको पार्टी कार्यालयसँग खेलिएको जालसाजी पनि रहेको छ ।

कांग्रेसको जिल्ला कार्यालयबाट केन्द्रमा पठाइएको सूचीमा चार सय ६० जनाको निर्विवाद क्रियाशील सदस्य सदर थियो । त्यसलाई हटाई जिल्लाका कुनै पनि निकायमा कुनै जानकारी नै नभएका तीन सय १२ जनाको नाम त्यसमा थपिएको छ । यो जाली काम डडेलधुरामा पहिलोपल्ट भएको हो । देउवा परिवारसँग सम्बद्ध सूत्रका अनुसार ‘जयवीर देउवालाई कांग्रेसको ‘हाइप्रोफाइल’ सदस्य बनाउनु र महाधिवेशनको मुखमा क्रियाशील सदस्यतामा यस्तो जालसाजी गर्नुको कुनै तुक छैन । यसले कांग्रेसका मतदातामा अविश्वासको सिर्जना भएको छ । यो काम श्रीमती आरजु देउवाको इसारामा गरिएको हो ।’

कांग्रेसको नेतृत्वमा जम्ने महत्वाकांक्षाको तुष्टिका लागि पछिल्लो निर्वाचनमा कैलालीबाट पराजित भएदेखि नै श्रीमती देउवाको आँखा डडेलधुरातिर तानिएका हो । सभापति देउवाको निर्वाचन क्षेत्र भनेर चिनिएको डडेलधुरामा जयवीरलाई आफ्नो बाबुको विकल्पका रूपमा स्थापित गर्ने दूरगामी दृष्टि राखिएको बताउँछन् जानिफकारहरू ।

सभापति देउवा वृद्धावस्थाका कारण धेरै सक्रिय हुन पनि नसक्ने र न्याय–अन्यायको छ्यान विचार पनि गर्न नसक्ने अवस्थामा पुगेकाले उनलाई आगामी निर्वाचनमा समानुपातिकतिर धकेलेर छोरा जयवीरलाई बाबुको उत्तराधिकार दिलाउने विचार श्रीमती देउवाले राखेको चर्चा डडेलधुराको राजनीतिक वृत्तमा चल्न थालेको छ । जयवीर देउवाको कांग्रेस प्रवेश त्यति महत्वपूर्ण विषय होइन । तर, छोरा जयवीरलाई बाबु शेरबहादुरको बिरासत धान्ने प्रतिनिधिका रूपमा कांग्रेसमा स्थापित गर्न खोजिनु आफैँमा हास्यास्पद हो ।

नेपालको राजनीतिमा जे पनि हुन्छ । त्यसमा पनि सत्ताको खेलमा माहिर राणा परिवारकी चेली आरजु राणा राजनीतिक हिसाबले कुटिल मानिन्छिन् । कहाँ कसलाई कसरी खेलाउनुपर्छ र कसरी लडाउनुपर्छ, उनमा त्यसको विषद ज्ञान रहेको बताइन्छ । कांग्रेसमा कोइराला, सिंह, राणा, भट्टराई, उपाध्याय र निधिहरूको बिरासत रहेजस्तै ‘देउवा–राणा’ को पनि बिरासत र वर्चस्व कायम हुनुपर्छ भन्ने मानसिकता, नेपालको खानदानी परम्परा र परिवेशमा अस्वाभाविक होइन ।

छोरा जयवीरलाई बाबु शेरबहादुरको बिरासत धान्ने प्रतिनिधिका रूपमा कांग्रेसमा स्थापित गर्न खोजिनु हास्यास्पद हो ।

नेपालको राजनीतिमा बिरासतको कुरा गर्दा कांग्रेसजनको नाम अगाडि आउँछ । कम्युनिस्ट राजनीतिमा बिरासतको प्रवृत्ति देखिँदैन । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालकी श्रीमती साहना प्रधान २०४६ को परिवर्तनपछि राजनीतिक परिदृश्यमा नदेखिएकी होइनन् । तर, त्यो बिरासतमा पाएको भन्दा पनि आफ्नै मिहिनेतले फलाएको फल थियो । एमालेका स्वर्गीय नेता मदन भण्डारीकी पत्नी विद्या भण्डारी बिरासतको हाँगो समातेकै भरमा राष्ट्रपति भएकी छिन् । यी दुईका अतिरिक्त कम्युनिस्ट नेताका छोराछोरीले ‘योग्य’ बाबुको बिँडो थामेको देखिन्न ।

तर, कांग्रेसमा बिरासतको राजनीति गरेको अभियोग सबै ठूला नेताका छोराछोरीले धानेका छन् । कांग्रेसका संस्थापक अध्यक्ष बिपी कोइरालाका सुपुत्र प्रकाश कोइरालाको दाबीअनुसार उनले बिरासतको राजनीति गरेनन् । उनको राजनीति उनको आफ्नै खुशीराजीको दस्ताबेज रह्यो । उनलाई महाराज ज्ञानेन्द्रले मन्त्री बनाए । उनी बिपीका सुपुत्र नभएर ‘सडकको साधारण मानिस’ भएको भए पक्कै पनि महाराजका मन्त्री बन्ने थिएनन् । यसबाट प्रकाश कोइरालाले बिरासतको राजनीति नगर्दा पनि उनी कोइराला बिरासतबाट पृथक् छैनन् भन्ने प्रस्ट हुन्छ ।

प्रकाश कोइराला बिरासतको लहरबाट बाहिरिएपछि बिपीका कान्छा सुपुत्र शशांक कोइरालाको नाम सबभन्दा अगाडि आउनु स्वाभाविक हो, जो अहिले कांग्रेस महामन्त्री छन् । उनले आगामी चौधौँ महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने विचार राख्दै आएका छन् । महाधिवेशनमा चुनावको राजनीतिक समीकरण कसरी अगाडि बढ्दै जान्छ ? त्यसैमा शशांकको उम्मेदवारी निर्भर रहन्छ । शशांकमा मानवीय गुणको कमी छैन । मानिस सुन्दर छन् । मीठो बोल्छन् ।

कांग्रेसमा बोलिने कपटको भाषा उनी बोल्दैनन् । त्यसबाहेक, सभापतिमा चुनाव जित्ने वा सभापति पद चलाउन सक्ने उनको योग्यता भनेको बिरासत नै हो । कांग्रेसका केही नेताका अनुसार अहिले कांग्रेसमा सभापति पदको भोट एकमुस्ट पाउने एक मात्र उम्मेदवार शशांक नै हुन् । उनलाई कांग्रेस सभापतिको उम्मेदवारका रूपमा हेर्न युवा–युवतीको ठूलो भिड सडकमा ओइरिनेछ । तर, कांग्रेस सभापति बन्नका लागि युवा–युवतीको भिडभन्दा कांग्रेस प्रतिनिधिको भिड लाग्नुपर्छ ।

यो सत्य हो, शशांक कांग्रेसको तेह्रौँ महाधिवेशनमै सभापति पदमा लड्न लालायित थिए । तर, त्यतिवेला शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिन शशांकलाई ‘प्रभावशाली’ ठाउँबाट बाध्य पारियो । चौधौँ महाधिवेशनमा उनको उम्मेदवारीलाई सघाउने वचनबद्धतापछि उनी महामन्त्रीमा चुनाव लडेका थिए । यसपटक ‘प्रभावशाली’ रणनीति के रहनेछ ? भन्न सकिँदैन ।

बिरासतको लहरमा शशांकपछि सुनिने नाम हो, शेखर कोइराला । बिपी कोइरालाका माहिला भाइ केशवप्रसाद र नोना कोइरालाका कान्छा सुपुत्र शेखर पेसाले विशेषज्ञ चिकित्सक भए पनि राजनीतिबाट उनी कहिल्यै बाहिर रहेनन् । हो, केही वर्ष पढाइका लागि उनी भारत बसे । नेपालको राजनीतिले उनलाई त्यहाँ पनि छोडेन । उनको जीवन विराटनगरमै बित्यो ।

चिकित्सा पेसा र आन्दोलनमा सहभागिता सबै एकैसाथ चलिरहन्थ्यो । कोइराला बिरासतका एक अंशियार हुन शेखर । कोइराला निवासको शक्ति विस्तारमा शेखरकी आमा नोनाको योगदान अभूतपूर्व छ । तर, शेखरमा त्यो बिरासतकै मात्र लोभ छैन । उनी बिरासतबाहेक आफ्नो शक्तिमा पनि विश्वास राख्छन् । तेह्रौँ अधिवेशनमा सर्वाधिक मत ल्याएर उनी केन्द्रीय सदस्य चुनिएका थिए । उनी एकपटक अथवा एक कार्यकालका लागि सभापति भएर कांग्रेसको कायापलट गर्न चाहन्छन् ।

नेपालमा बिरासतको राजनीतिको प्रचलन छैन । अहिलेसम्म देखिएका विशिष्ट नेताहरूमध्ये कसैले पनि आफ्ना भाइ–छोराको हातमा पार्टीको सत्ता सुम्पेको देखिएको छैन ।

हालका लागि कोइराला बिरासतकी अन्तिम दाबेदार हुन सुजाता कोइराला । पिता गिरिजाप्रसाद कोइरालाले सत्ताको सिँढी उकाल्न धेरै प्रयत्न गरे पनि उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्था स्थापना र सञ्चालनमै रमाइन् । उनी वेला–वेलामा आफू पनि कांग्रेस सभापति पदमा चुनाव लड्ने कुरा गर्छिन् ।

कोइराला परिवारको यो वृत्तबाहिर पनि कांग्रेसको बिरासत रहेको छ । कांग्रेसका असल नेता मानिनुहुने सुवर्ण शमशेरका सन्तानले बिरासत राजनीतिको आनन्द लिन चाहेनन् । राजनीतिमा झलक्क देखिएका रुक्मशमशेर राणा खेलकुदको संसारमा रमाए, राजनीति गरेनन् । राणा बिरासतकै सागरशमशेर र उनका छोरा उदयशमशेर राजनीतिमा निरन्तर छन् । बाबुछोरा दुवैले राणा बिरासतको खोजी गरेका छैनन् । कृष्णप्रसाद भट्टराईले आफ्नो बिरासत खडा गरेनन् । सूर्यप्रसाद उपाध्याय पनि बिरासतको झन्झटमा परेनन् ।

कोइरालापछि सबभन्दा ठूलो राजनीतिक बिरासत खडा भयो, गणेशमान सिंहको । यो बिरासत सिंहको खानदानका कारण पनि ठूलो थियो । सिंहले आफ्नो बिरासत वा उत्तराधिकार भन्ने जस्तो कुनै कुरा खडा गरेनन् । उनलाई आपूm काठमाडौंको प्रसिद्ध काजी खलकको सदस्य हुँ भन्ने गुमान पनि थिएन । बिपी कोइरालाले पनि कहिल्यै आफ्नो बिरासत अँगालेनन् । कांग्रेसका यी दुवै शीर्ष नेताको विशेषता त्यही हो । खानदान र राजनीतिक बिरासत दुई नितान्त भिन्न कुरा हुन् ।

गणेशमान सिंहसँग भारदारी खानदान र राजनीतिक बिरासत दुवै थियो । सिंहले यी दुवैको उपयोग कहिल्यै गरेको कसैले थाहा पाएन । अहिले सिंहको बिरासत ‘धान्ने’ काम सिंहका कान्छा सुपुत्र प्रकाशमानले गरिरहेका छन् । पछिल्लो समयको राजनीतिमा प्रकाशमानको आफ्नै योगदान छ । यसैको बलबुतामा उनले कांग्रेस सभापति बन्ने दृढ अठोट लिएका छन् । अब उनले आफ्नो अठोटलाई कसरी पूरा गर्नेछन् र बिरासतको प्रतिष्ठा कसरी जोगाउँछन्, त्यो हेर्न बाँकी छ ।

बिरासतकै सन्दर्भमा आउने अर्को नाम हो– महेन्द्रनारायण निधि । मधेसको लोकतान्त्रिक राजनीतिमा निधिको नाम नलिए त्यो अधुरो रहन्छ । निधि आफैँमा बिरासत पनि होइनन् । एक सामान्य परिवारका मानिस, आफ्नो चिन्तन र कर्मले नेपालको लोकतान्त्रिक राजनीतिको शीर्ष स्थानमा स्थापित भएका हुन् निधि ।

उनका कान्छा छोरा विमलेन्द्र निधिले कांग्रेसको चौधौँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् । विमलेन्द्रको आफ्नै पृष्ठभूमि छ । आफ्नै राजनीति छ । उनको नेतृत्व क्षमताको जाँच स्वयं बिपी कोइरालाबाटै भएको थियो । २०३६ सालको उत्तराद्र्धमा बिपीकै संकेतमा विमलेन्द्र सबभन्दा कम उमेरमा नेपाल विद्यार्थी संघका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि पनि उनले उत्कृष्ट योगदान दिएका छन्, नेपालको लोकतान्त्रिक राजनीतिमा ।

वास्तवमा भन्ने हो भने नेपालमा बिरासतको राजनीतिको प्रचलन छैन । अहिलेसम्म देखिएका विशिष्ट नेताहरू कसैले पनि आफ्ना भाइ–छोराको हातमा पार्टीको सत्ता सुम्पिएको देखिएको छैन । नेपालमा बिरासत शब्दले मानिसलाई झस्काउँछ । बिरासतको नाममा भारतका ठूला पार्टीमा सन्तानको उत्थान गर्ने जुन राजनीति देखिएको छ, त्यसको प्रतिक्रिया डरलाग्दो छ । त्यसको प्रभाव नेपालमा नपरोस् भन्ने चाहना हो सबैको । कांग्रेसको राजनीतिमा दशकौँ बिताएका राजनीतिज्ञहरूले भोलि जयवीर देउवाको झोला बोक्नुप¥यो भने त्यो कस्तो प्रणाली साबित होला ? कस्तो राजनीति होला त्यो ? सोच्नुपर्ने विषय हो यो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार