वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

ताप्लेजुङको पाथीभरा मन्दिर असोज १ गतेदेखि खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुल्ने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएको र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ।

कोभिडको जोखिम न्यून भए पनि पूर्ण रुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्ण रुपले पालना गर्न अनुरोधसमेत गरिएको छ।

‘सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्ण रुपले हटिसकेको अवस्था छैन। त्यसैले मन्दिरको दर्शन एवं पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ’, कार्यकारी निर्देशक काफ्लेले भने ।

ताप्लेजुङमा पछिल्लो समय सङ्क्रमणको दर न्यून हुँदै गएको छ। सङ्क्रमणको अवस्था सामान्य हुँदै गएपछि चार महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया