काठमाण्डौंः अल्जेरियाका पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको निधन भएको छ ।
उहाँको शुक्रबार ८४ बर्षको उमेरमा निधन भएको सार्वजनिक टेलिभिजनले समाचार प्रसारण गरेको छ । सन् २०१९ मा राजीनामा गर्नुअघिसम्म उहाँले झण्डै दुई दशक अल्जेरियामा शासन गर्नु भएको थियो ।
उहाँले आन्दोलनकारीको चर्को दवाव, लामो र ठूलो आन्दोलनपछि मात्रै राजीनामा दिनु भएको हो । देशमा लामो समयसम्म शक्तिशाली व्यक्तिका रूपमा रहनु भएका अब्डेलाजिलले सन् २०१९ को अप्रिलमा राजीनामा दिनु भएको थियो ।
आफूलाई राजीनामा दिनका लागि सेनाले समेत दवाव दिएको उहाँले बताउनु भएको थियो । उहाँले राष्ट्रपतिको रूपमा पाँचौ कार्यकाल सम्हाल्नै लाग्दा आन्दोलन भएको थियो । आन्दोलनबाट सत्ताबाट बाहिरिनु भएका अब्डेलाजिज पश्चिमी अल्जेरियामा बस्दै आउनु भएको थियो ।
उहाँ लामो समयदेखि सार्वजनिक हुनु भएको थिएन । फ्रान्सेली उपनिवेशबाट मुलुकलाई मुक्त गरेपछि उहाँ पहिलो पटक सन् १९९९ मा राष्ट्रपति हुनु भएको थियो । फ्रान्सेली उपनिवेश हटाउने संघर्षका क्रममा झण्डै २० हजार जनाको मृत्यु भएको थियो ।
देशलाई उपनिवेशबाट मुक्त गराउने संघर्षको नेतृत्वकर्ताको रूपमा र राष्ट्रपतिको रूपमा उहाँले गरेको योगदानका कारण उहाँ उच्च सम्मानित हुनुहुन्थ्यो । (रासस-एएफपी)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया