काठमाण्डौंः बैतडीको सन्सेरीमाण्डौँका व्यापारी हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
पक्राउ परेका सात जना मध्ये तीन जनालाई सोधपुछपछि छोड्दै चार जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा न. ५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र संकरसिंह महरालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
रातिको समयमा मदिरा सेवन गरेका उनीहरूले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । प्रहरीले मदिराका कारण झगडा भएको बताए पनि मृतकको परिवारले भने पैसाका कारण हत्या गरेको आशङ्का गरेछन् ।
मृतक महरासँग त्यस दिन नौ लाखभन्दा बढी नगद रकम साथमै भएकाले हत्या गरी रकम लुटेको हुनसक्ने परिवारजनलाई उद्धृत गर्दै स्थानीय गणेश मडैले बताउनुभयो ।
अपाङ्गता भत्ता कार्यक्रमलाई निरन्तरता
बैतडीको सुर्नया गाउँपालिकाले अपाङ्गता भत्ता कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने भएको छ ।
(क) वर्ग र (ख) वर्गका व्यक्तिहरूलाई सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेकोमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले केही रकम भत्ताका रुपमा वितरण गर्ने गरेको छ ।
गत आर्थिक वर्षमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई ३ हजार र ३५ सयका दरले भत्ता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो ।
यस वर्गका अपाङ्गताको परिचय पत्र बनाए पनि उनीहरूका लागि भत्ताको व्यवस्था नभएको हुँदा पालिकाले केही रकम दिन सुरु गरेको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिन तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा गाउँपालिका भित्रका १ सय ६० जनाले पालिकाबाट भत्ता पाएको गाउँपालिका स्तरीय अपाङ्गता समितिका सचिव निर्मला चन्दले बताउनुभयो ।
पहिलाको तुलनामा यसपालि अपाङ्गता परिचय पत्र बनाउने व्यक्तिहरू थप भएको उहाँले बताउनुभयो ।
हालसम्म ग र घ वर्गमा ६० जना थप भएको गाउँपालिकाले जनाएको छ । सुर्नया गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरणको काम निरन्तर रुपमा चलिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया