असार २६, २०८२ बिहिबार July 10, 2025

विश्वप्रकाश, गगन र युवा नेतृत्व – डा. प्रकाश बन्जाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ कांग्रेस नेताहरूले तयारी गरिरहेका छन् । गगन थापाले १४ भदौमा आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको काठमाडौं महानगरपालिका ३० नं. वडामा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरे । दुई प्रभावशाली युवा नेताको उम्मेदवारी घोषणाले अन्य पदाधिकारीमा पनि युवाहरूलाई नै उम्मेदवार बनाउन वा युवाहरूले आँट गर्ने सहज बाटो खुलेको छ । महाधिवेशन नेतृत्व छनोटको अवसर मात्र होइन, सैद्धान्तिक बहस, नीति, भावी कार्यदिशा निर्माणसहितको नेतृत्व छनोटको अवसर पनि हो । महाधिवेशनमा युवा नेताहरूको अग्रसरता नहुँदा त्यसको मूल्य पार्टीले मात्र होइन, सारा मुलुकले नै चुकाउनुपर्छ । युवा कांग्रेसले आँट गर्नैपर्छ र इमानदार शीर्ष नेतृत्वले गुट–उपगुट बिर्सिएर युवालाई साथ दिनैपर्छ ।

गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी सन्दर्भमा सार्वजनिक गरेका अभिव्यक्तिहरूमा केही समान कुरामा जोड दिएको पाइन्छ । कांग्रेसले तीनवटा निर्वाचन लगातार जितेर देशलाई एउटा बाटो दिनुपर्छ । यी दुई युवा नेताले कांग्रेसको क्रान्तिकारी छविको पुनरावृत्ति गराउने, पार्टीप्रति युवापुस्ताको आकर्षण बढाउने, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको अगुवा बनाउने, क्रियाशील सदस्यता वितरणको भद्रगोललाई सधैँका लागि अन्त्य गर्नेलगायत व्यवस्थापनका अन्य विषय पनि अगाडि सारेका छन् । मूलतः कांग्रेसलाई नीतिगत रूपमा प्रस्ट र कार्यशैलीमा चुस्त पार्ने योजना सुनिन्छ । कांग्रेसमा वैचारिक शून्यता अन्त्यका लागि युवा नेतृत्व आँट र तयारीका साथ अगाडि आउनैपर्छ ।

सहभागितात्मक निर्णय प्रक्रिया, आर्थिक पारदर्शिता, जवाफदेहिता, नागरिकप्रति उत्तरदायी शासन व्यवस्था लोकतन्त्रका आधारस्तम्भ हुन् । लोकतन्त्रलाई संस्थागत गर्न राजनीतिक दलमा पनि आन्तरिक लोकतन्त्रको विकास जरुरी छ । हाम्रै नेपालको राजनीतिक इतिहासलाई फर्केर नियाल्दा आधुनिक नेपाल एकीकरणको अभियान थाल्दा पृथ्वीनारायण शाह २१ वर्षका थिए । जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्रीका रूपमा शासनको बागडोर सम्हालेका थिए । कृष्णप्रसाद भट्टराई ३५ वर्षको उमेरमै पहिलो सभामुख भएको इतिहास छ । ००७ सालको क्रान्ति सम्पन्न गर्दा बिपी कोइराला ३६ वर्षका मात्रै थिए, ३७ वर्षमा मुलुकको गृहमन्त्री र ४५ वर्षको उमेरमा प्रधानमन्त्री भए । वर्तमान पार्टी सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । गगन थापा र विश्वप्रकाश शर्माको सफलताले बिपी, सुवर्णजस्ता नेताहरूको परिकल्पनामा आधारित भएर अघि बढ्न सहज हुनेछ । बिपी कोइराला, पुष्पलाल, सुवर्ण शमशेरहरूको सपनाको बाटोमा हिँडे हाम्रो समाज एक कदम अगाडि बढ्नेछ । कांग्रेसमा संस्थागत रूपमा सैद्धान्तिक बहसले ठाउँ नपाएको वर्षाैं भयो । पटक–पटकको अवसरमा सफल साबित हुन नसकेका नेताहरूभन्दा प्रचुर सम्भावना भएका युवा नेताहरूलाई मौका दिए नेपाली राजनीतिमा कांग्रेसको योगदान सार्थक होला ।

गगन थापा र विश्वप्रकाश शर्मा दुवैलाई हार्ने छुट छैन, अहिलेको महाधिवेशन हारे पार्टीमा मनोनीत हुनेछैनन् । थापा र शर्मा बाहिर रहँदा कांग्रेस कम्तीमा २५ वर्ष पछि धकेलिनेछ ।

नेतृत्व नयाँ पुस्तामा आउनु जरुरी छ । सामाजिक आन्दोलनमा राजनीतिक दलका युवाको उपस्थिति कमजोर छ । राजनीतिक पार्टीका युवामा अध्ययनको अभाव, राजनीतिको अपराधीकरण र गुटगत राजनीतिको अभियानमा आकर्षण छ । अहिले नेपालको राजनीतिमा आलोचनात्मक चेत भएको युवा जमात निकै कम छ । आत्मबल, सोच, कार्यशैली र क्षमता कमजोर छ । गाउँ, बस्तीमा जताततै युवा र आमजनताका मुद्दा छन् । राजनीतिक मुद्दा छरपस्ट छन् । युवा नेताहरूलाई यसमा कुनै रुचि छैन । उमेरले युवा देखिए पनि सोचमा युवापन, कार्यशैली र क्षमता धेरै कम नेतामा छ । विधिको शासन, लोककल्याणकारी राज्यव्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूत आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ । युवा नेतृत्वको बहस गर्दा कम्तीमा अहिलेको समाजलाई विभिन्न कोणबाट हेर्न सक्नुपर्छ । राजनीति जब भुइँसँग जोडिँदैन, उसको राजनीतिमा वैधानिकता कमजोर हुँदै जान्छ । अहिलेका युवा भुइँसँग जोडिएका छैनन् या जोडिन चाहँदैनन् । राजनीतिमा पनि युवा विचार र युवा सोचको उपस्थिति पातलिएको छ । पढेलेखेका युवा जमात राजनीतिदेखि टाढा हुँदै गएका छन् । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्नै मुस्किल छ ।

प्रवृत्ति र संस्कार नबदल्ने हो भने अहिलेको युवावर्गले पुरानो विचारको पुस्तालाई आगामी धेरै वर्षसम्म प्रतिस्थापन गर्ने हैसियत राख्ने देखिँदैन । युवाकेन्द्रित राजनीति, मुद्दा र मूलधारको राजनीतिबारे छलफल चलाउँदा हामीले समाजसँग जोडेर बहस गर्न सकेनौँ भने त्यो अपूरो हुन्छ । युवा राजनीति केवल राजनीतिक पार्टीका युवा संगठनले गर्ने राजनीति होइन । निष्ठा, सिद्धान्त, ज्ञान र चेतनाले भरिएका युवाहरूको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उपस्थितिले मात्रै मुलुकलाई समृद्धितर्फ लैजान सक्छ । यसका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आवश्यक छ । नेतृत्वको खडेरी परेका वेला युवाहरूले विकल्पसहित प्रस्तुत हुन ढिला गर्नुहुँदैन ।

गगन थापा र विश्वप्रकाश शर्मा वंशविरासत होइन, आफ्नै मिहिनेतनिर्मित सार्वजनिक साख भएका नेता हुन् । पार्टीभित्र मूल्यमान्यताको खडेरी पर्दै गएको आमआलोचनाबीच यिनले आत्मानुशासन र संस्कारको अभ्यास गर्न खोजेका छन् । गगन थापा र विश्वप्रकाशले लामो अवधि पार्टीभित्र असहमतिको भद्र स्वर दर्ज गर्दै आएका हुन् । पार्टीभित्र प्रतिस्पर्धा गर्दै हुर्केका यी नयाँ पुस्ताले मूलधारको राजनीतिको नेतृत्व गर्ने सामथ्र्य राख्छन् । भारतमा कन्हैया कुमार, अमेरिकामा अलेक्जेन्डर कोर्टेजजस्ता युवा ‘वर्किङ क्लासबाट राजनीतिको केन्द्रमा स्थापित भएका छन् । समाज एकै दिनमा त परिवर्तन हुँदैन, तर उज्यालो कुरेर बस्ने कि बत्ती बालेर उज्यालो बनाउने भन्ने हाम्रो इच्छाशक्ति र तयारीमा भर पर्छ । युवा नेतृत्वको विषय राजनीतिक पार्टीहरूमा उनीहरूको सहभागिता र नेतृत्व कस्तो छ भन्नेमा निर्भर गर्छ । अहिले पनि विभिन्न देशमा भएका आन्दोलन हेर्ने हो भने युवाहरूले नै नेतृत्व लिएका छन् ।

यसअघि १३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने आँट गरेका थापा महाधिवेशनकै सबैभन्दा लोकप्रिय उम्मेदवार भए । कांग्रेस नेतृत्वको काँध थाप्ने जिम्मेवारी अब आफ्नो पुस्तामा आएको सन्देश दिन थापा सफल भए । महाधिवेशनका सन्दर्भमा विश्वप्रकाशले बिपी कोइरालाको सपना र युवाको सपना एकाकार गरेर समयसापेक्ष सपना निर्माण गर्ने वेला आएको भनी दिएको अभिव्यक्ति अर्थपूर्ण छ । कांग्रेसको संशोधित विधानअनुसार पार्टीका दुवै महामन्त्री निर्वाचनबाट चयन हुनेछन् । गगन थापा र विश्वप्रकाश शर्मा दुवैलाई हार्ने छुट छैन, अहिलेको महाधिवेशन हारे पार्टीमा मनोनीत हुनेछैनन् । थापा र शर्मा बाहिर रहँदा कांग्रेस कम्तीमा २५ वर्ष पछि धकेलिनेछ । आशा गरौँ, गगन र विश्वप्रकाशले जिते एउटा व्यक्ति राष्ट्रपति एकपटक मात्रै, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक भन्दा बढी हुन नपाउने व्यवस्था संविधानमा राख्न प्रयास गर्नेछन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार