श्रावण १, २०८२ बिहिबार July 17, 2025

सरुवा आतंकः बाहिरै बन्न थाले कर्मचारी सरुवाको सूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ ।

कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य सचिव शंकरदास वैरागी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले दिक्दारी महसुस गर्न थालेका छन् ।

उनीहरूले निकटस्थहरूसँग दिक्दारी महसुस गर्दै हस्तक्षेप रोक्ने उपायको बारेमा छलफल थाले पनि त्यसलाई सशक्त रूपमा अघि बढाउन सकेका छैनन् । राजनीतिक नेतृत्वबाट उच्च दबाब आउने क्रम बढेपछि मुख्य सचिव र सामान्य सचिव निरीह जस्तै बन्न पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

सामान्यतः सचिव र सहसचिव सरुवाको चाँजोपाजो आवश्यकताका आधारमा मुख्य सचिवले सामान्य प्रशासनका सचिवसँग समन्वय गरी गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सचिव सहसचिव सरुवाको सूची बाहिरै बनेर प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा आउने क्रम बढेपछि मुख्य सचिव र सामान्य सचिव खिन्न हुन थालेका हुन् ।

तर, पनि उनीहरूले यस प्रकारको विकृतिबारे सामान्य ‘अब्जेसन’समेत गर्न नसकेको प्रधानन्त्री कार्यालय स्रोतको दाबी छ । ‘बाहिर अमूक व्यक्तिको रुचिमा सचिव सहसचिवको सरुवा हुने क्रम बढ्दा पनि मुख्य सचिव र सामान्य सचिवले त्यसको विरोध गर्न नसक्नु घोर विडम्बना हो,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले राजधानीसँग भने ‘यसले निजामती प्रशासनलाई घायल मात्रै होइन पूर्णरूपमा पक्षघात नै बनाउने खतरा बढेको छ ।’ उनीहरूले प्रशासनलाई विकृत र निरीह बन्नबाट रोक्न मुख्य सचिव र सामान्य सचिवले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता आंैल्याए । यस्तो प्रवृत्ति बढेपछि असल र राम्रा प्रशासकको मनोबल खस्कन थालेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका ती अधिकारीका अनुसार गलत खालका सरुवाको सूची बनेर आएमा मुख्य सचिव र सामान्य सचिवले त्यसलाई रोक्ने हिम्मत गर्न सक्नुपर्छ । मुख्य सचिव प्रशासन र सबै कर्मचारीको संरक्षकका रूपमा रहन्छन् । तर, यतिखेर कर्मचारीमा व्याप्त सरुवा आतंकले आमकर्मचारी आतंकित भइरहेको अवस्थामा मुख्य सचिवले कर्मचारीलाई कुशल अभिभावकत्व ग्रहण गर्न नसकेको गुनासो कर्मचारीवृत्तबाटै आउन थालेको छ । ‘राजनीतिक नेतृत्वको गलत कुरामा मुख्य सचिवले अडान लिन नसक्ने हो भने मुख्य सचिवको गरिमा नै नरहने विश्लेषण प्रशासकहरूको छ ।

यसो त धेरै सचिवहरू नै गुटबन्दीमा लाग्ने र शक्तिको पछाडि दौडने क्रम बढ्न थालेकाले पनि समस्या भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूको विश्लेषण छ । ‘सचिव सहसहसचिवहरू आफंै नेताहरूका झोले कार्यकर्ताजस्ता भएका छन्, यो प्रशासनभित्रको अशुभ संकेत हो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले भने ।

अहिले सचिव सहसचिवहरू आफंै सरुवाका लागि नेताकहाँ दौडधुप गर्ने क्रम बढेको छ । सरकारले साढे दुई महिनाको अवधिमा दुई दर्जन बढी सचिवहरूको सरुवा गरिसकेको छ भने सयौंको संख्यामा सहसचिवको सरुवा गरिसकेको छ । यो सरुवामा राजनीतिक हस्तक्षेप अत्यधिक देखिएको हो । ‘प्रदेश एकमा सरुवा भएका एक सहसचिव भन्छन् ‘सामान्यतः मुख्य सचिव, सामान्य सचिव र विभिन्न मन्त्रालयका सचिवहरूको समन्वयमा प्रशासन चल्नुपर्ने हो तर अहिले प्रशासन कहाँबाट कसले सञ्चालन गरिरहेको छ भन्ने कुरा नै बुझ्न सकिएको छैन् ।’ जसका कारण प्रशासन भद्रगोल अवस्थामा पुगेको ती सहसचिवको दाबी छ ।

ट्रेड युनियन अधिकार अधिकृतसम्मलाई मात्रै दिएको भए पनि अहिले त्योभन्दा माथिका उपसचिव, सहसचिव र सचिवहरूले खुलेआम राजनीतिक दलसँगको आबद्धता देखाउन थालेको पाइएको छ ।

विशेषगरी अधिकांश उपल्लो तहका कर्मचारीहरू प्रधानमन्त्रीको पार्टी नेपाली कांग्रेसप्रति लचिलो बन्न थालेको विश्लेषण गर्न थालिएको छ । ‘कांग्रेस नबन्दासम्म आकर्षक ठाउँमा जान नसकिने भएकाले लालची कर्मचारीहरू बाहिरबाहिर कांग्रेसकै ठूला नेताजस्ता बन्न थालेका छन्,’ एक मन्त्रालयका सहसचिवले भने । यसो त कर्मचारीभित्र एउटा यस्तो गिरोह छ, त्यो सधैं शक्तिको वरिपरि घुमिरहन्छ र जुनसुकै पार्टीको सरकार बने पनि त्यो गिरोह हावी हुने प्रवृत्ति उस्तै देखिने गरेको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार