काठमाण्डौंः जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ ।
पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहनु भएका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गर्नु भएको हो ।
पार्टीको अति महत्वपूर्ण जिम्मेबारी अमारीलाई सुम्पिने निर्णय उहाँले बिहीबार गर्नु भएको पार्टी श्रोतले जनाएको छ ।
अहिले पार्टीको कर प्रणालीसम्वन्धी अनुसन्धान आयोगको प्रमुख रहनुभएका ७२ बर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ ।
पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ ।
जापानका पूर्व विदेशमन्त्रीसमेत रहनुभएका किशिदाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको हो । उहाँका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याउनुभएको थियो ।
नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नुहुने छ । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाउनुभएको हो ।
सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने घोषणा गर्नु भएको थियो । उहाँ प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लाग्नु भएको छ । रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया