काठमाण्डौंः साफ च्याम्पियनसिप-२०२१ अन्तर्गत सोमबार नेपाली राष्ट्रिय फुटबल टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।
श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पराजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु आफ्नो अनुकुल नतिजा निकाल्नका लागि खेल्दैछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।
‘श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण हुनेछ । सजिलो हुनेछैन । हामीले श्रीलंकाविरुद्ध कम्तिमा एक अंक बटुल्ने अपेक्षा लिएका छौ,’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने, ‘मलाई थाहा छ श्रीलंकाका खेलाडीहरू ट्याकलमा आक्रामक छन् । तर, उनीहरुको आक्रामक खेलको फाइदा उठाउने छौं ।’
नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । ‘श्रीलंकाविरुद्ध हामीले तीन अंकका लागि खेल्नेछौं । हामीले ९० मिनेटसम्मै जितका लागि फाइट गर्नेछौ,’ कप्तान किरणले भनेका छन् ।
सोमबार नै अपरान्ह ४:४५ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश लगातार दोस्रो जितको खोजीमा रहँदा भारतले च्याम्पियनसिपमा पहिलो खेल खेल्दैछ । यस खेलले पनि प्रतियोगिताको फाइनल समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया