असार २६, २०८२ बिहिबार July 10, 2025

समृद्धि मात्र होइन, समतामूलक समृद्धि – मिलन पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंले घडीको बारेमा एउटा कुरा याद गर्नुभएको छ ? सबै ब्रान्डका नयाँ घडीको बाहिर बट्टामा वा विज्ञापनमा घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । त्यसो किन गरिन्छ, थाहा छ ? यो बारेमा धेरै भ्रम र कथाहरू छन् । तर, वास्तविकता के हो भने १० बजेर १० मिनेट जाँदा घन्टा र मिनेटको सुइ जसरी ‘भी’ जस्तै आकार बनाएर बस्छन्, त्यसले मुस्कानलाई प्रतिनिधित्व गर्छ । खुसीलाई प्रतिनिधित्व गर्छ । टाइमेक्सलगायत केही घडी कम्पनीले सुरुमा बट्टाहरूमा ८ः२० को समयमा राख्ने गरेका थिए, जहाँ दुइटै सुइ तल फर्किएका हुन्थे । यो समयले दुःखी अनुहारलाई प्रतिनिधित्व गथ्र्याे । एउटा अध्ययनमा १०ः१० समय राखेर व्यापार गरिएको घडी ०८ः२० समय राखेर व्यापार गरिएको घडीभन्दा धेरै बिकेको पाइयो । र, सबै कम्पनीहरूले १०ः१० कै समय राखेर विज्ञापन गर्न थाले । यो उदाहरणले मलाई दिएको सबैभन्दा महत्वपूर्ण सन्देश हो– अबको संसार र मानिसको जीवनको उद्देश्य खुसी हो, मुस्कान हो ।

संसारमा एउटा यस्तो देश छ, जहाँ वर्षमा करिब दुई समय ठन्डी हुन्छ । करिब–करिब वर्षमा दुई महिना सूर्य नै उदाउँदैन । तापक्रम माइनस २० डिग्रीसम्म पनि पुगिरहेको हुन्छ । तर पनि त्यो देश अर्थात् फिनल्यान्ड लगातार चौथो वर्ष पनि ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२१’ मा एक नम्बरको खुसी देशमा दर्ज भएको छ । १५३ देशहरूको यो सूचीमा नेपाल ८७औँ स्थानमा छ, भारत १३९औँ स्थानमा । अर्काे छिमेकी चीन ८४औँ स्थानमा छ । अर्थतन्त्रका हिसाबले तेस्रो अनि पहिलो बन्दै गरेका भारत र चीन पनि प्रतिवेदनको पुछारतर्फै छन् । यो तथ्यांकले बताउँछ, आर्थिक रूपले समृद्ध हुनु र समग्रमा समृद्ध हुनमा अन्तर छ । किनकि, धनी हुनु र खुसी हुनु एउटै कुरा होइन ।

फिनल्यान्ड बारम्बार एक नम्बर कसरी बनिरहेको छ भनेर विगत केही वर्षहरूमा निकै बहस भएको छ । कारणहरू अनेक छन् । त्यसमध्ये एउटा प्रमुख कारण हो, विश्वास । यहाँका नागरिक आफ्नो सरकारलाई विश्वास गर्छन् । एक-अर्कालाई विश्वास गर्छन् । गत वर्ष गरिएको एउटा अध्ययनअनुसार यहाँका करिब ८० प्रतिशत नागरिक प्रहरीमा विश्वास गर्छन् । यो दर अन्य देशहरूको भन्दा धेरै हो । लोकतन्त्रको उच्चतम अभ्यास, न्यून भ्रष्टाचार, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँचका कारण उनीहरू खुसी छन् । स्वतन्त्रता, खुला र समतामूलक समाजका लागि फिनल्यान्डले गरेको निरन्तरको लगानीकै कारण यो सम्भव भएको हो ।

एउटा नेपालीले दिनभरि आत्मसम्मानसहित काम गरेर आफ्नो परिवारका निम्ति शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका बारेमा चिन्ता नगरी वर्षमा एकचोटि आफ्नो परिवारलाई घुमाउन लान सक्ने अवस्था बनाउनु नै हामीले खोजेको समतामूलक समृद्धिको मोडेल हो ।

हामी केही वर्षयता समृद्धि–समृद्धि भनिरहेका छौँ । तर, नेपालमा कस्तो समृद्धि भन्ने गहिरो बहस हुन सकिरहेको छैन । हामीले समृद्धि भनिरहँदा आर्थिक वृद्धिको कुरा गर्दै छौँ वा आर्थिक विकासको ? छलफल पुगेको छैन । विगत ४५ वर्षमा अमेरिकाले प्रतिव्यक्ति आय दुई गुना बढाएको छ, तर नागरिकको जीवनस्तरलाई तुलनात्मक रूपले उकास्न सकेको छैन । पिउ रिसर्च सेन्टरका अनुसार सन् २००० ताका नाइजेरिया, अंगोला, इक्वेटोरियल, गिनीलगायत अफ्रिकन मुलुकहरू संसारकै छिटो आर्थिक वृद्धि गर्नेमा पर्थे । तर, आर्थिक प्रगति गरे पनि उनीहरूले आफ्ना नागरिकलाई समृद्ध बनाउन सकेनन् । ती देशहरूको चमत्कारी आर्थिक वृद्धिदर रहँदारहँदै पनि गरिबी घटेन ।

हामी नागरिकलाई धनी बनाउने भन्छौँ, तर धनी भनेको के हो बुझाउन सकिरहेका छैनौँ । के साथमा पैसा हुनु धनी हुनु हो ? यसो नहुन सक्छ । हामीले खोजेको समृद्धि समतामूलक समाजको जगमा टेकिनुपर्छ । अर्थात्, एउटा मानिस धनी हुँदा उसको शिक्षा, चेतना, शारीरिक तथा मानसिक स्वास्थ्य पनि ठीक हुनुपर्छ । त्यो नागरिकको आत्मसम्मान पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्लो वर्षसम्म साउदी अरेबियामा महिलाहरूलाई गाडी चलाउने लाइसेन्स उपलब्ध थिएन । महिलाको आत्मसम्मानलाई ठेस पुर्‍याएर कैद गर्ने समृद्धिको के काम ? पैसा छ, देश धनी भएर अस्पताल पनि बनाएको छ, तर अस्पताल जानुपर्छ र आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ भन्ने चेतना नहुने हो भने त्यो समृद्धिको पनि के काम ? मानिसले संसार देखेकै छैन, एउटा गाउँमा बसेर जे छ, त्यसमै खुसी भएर महत्वाकांक्षा मारेर वा थाहा नै नपाएर खुसी हुनु मात्र पनि समृद्धि होइन । त्यसैले आज हामीले खोजेको समृद्धि ‘समतामूलक समृद्धि’ हो । आर्थिक वृद्धि मात्र होइन, हामीले खोजेको आर्थिक विकास हो ।

अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टरका निर्देशक प्राध्यापक जान–इम्यानुयल डी नेभेकाअनुसार खुसी मानिसहरू, तनावरहित मानिसहरू आफ्नो काममा करिब १३ प्रतिशत बढी प्रभावकारी रहन्छन् । त्यसैले नागरिकको खुसी समृद्धिका निम्ति निकै महत्वपूर्ण छ । देश कसरी धनी हुन्छ भन्ने विषय एउटा छुट्टै आलेखमा चर्चा गर्नेछु । तर, कामको प्रभावकारिताको कुरो उठिसकेको हुनाले यहाँ म श्रमको बारेमा एउटा प्रसंग भने कोट्याउन चाहन्छु । कुनै पनि देश विकास हुनका लागि श्रमको सम्मान हुन जरुरी छ । ठूलो काम र सानो काम भन्ने विभेद रहेसम्म समाजमा समृद्धि आउँदैन । नागरिक खुसी रहन सक्दैनन् ।

संसारकै खुसी देश फिनल्यान्डकै उदाहरण हेर्ने हो भने पनि यो मुलुक ‘फ्ल्याट वर्किङ मोडेल’मा काम गर्न सुरु गर्ने देशहरूमा अग्रपंक्तिमा छ । फ्ल्याट वर्किङ मोडेल अर्थात् जहाँ पदसोपान (हाइआर्की) छैन, व्यवस्थापक र कर्मचारी सबैलाई समान व्यवहार गरिन्छ । संस्थामा सबैलाई निर्णयमा सामेल गरिन्छ । सबै कर्मचारीबीच खुला संवाद गरिन्छ । र, सामूहिक हितलाई व्यक्तिगत हितभन्दा माथि राखिन्छ ।

समृद्धिको मोडेल देशअनुसार फरक–फरक हुन्छ । हाम्रो प्रकृति, भूगोल, कला, संस्कृति, समाज फरक छ । हामी नेपाली फरक छौँ । नेपालमा हामी समानता अनि आत्मसम्मानको जगमा उभिएको समृद्धि खोज्दै छौँ । जसमा प्रत्येक समुदाय, वर्ग, पेसा, क्षेत्र, लिंग आदिले अपनत्व महसुस गर्न सकोस् । 

समतामूलक समृद्धिको महत्वपूर्ण पाटो समानता र आत्मसम्मान हो । आक्रोश र द्वन्द्वको कारण असमानता हो । जुन देशमा लिंगको नाउँमा, जातको नाउँमा, भूगोलको नाउँमा, समुदायको नाउँमा विभेद हुन्छ, त्यहाँ समृद्धिको मार्ग कोर्न निकै कठिन हुन्छ । महिलाहरूले व्यावसायिक काम नगर्नु वा गर्दा पनि निकै असमान पारिश्रमिक पाउनु समृद्धिका निम्ति गहिरो खाडल हो । हिसाब प्रस्ट छ, आधा जनसंख्याले विभेद भोगेर देश बन्दैन । त्यस्तै, जातको नाउँमा, भूगोलको नाउँमा, समुदायको नाउँमा हुने विभेदले अन्ततः देशलाई समृद्धिको बाटोमा जानबाट रोकिरहेको छ । तसर्थ, सामाजिक विश्वास, समानता र स्वतन्त्रतासहित हितकारी नीतिले मात्र हाम्रा नागरिक खुसी रहन सक्छन् ।

मानिस कल्याणकारी नीति वा भत्ताले मात्र पनि खुसी हुने होइन । मानौँ, तपाईंले जागिर पाउनुभएको छैन । अब तपाईंलाई सरकारले बेरोजगार भत्ता दिन्छ भने तपाईं धेरै समय खुसी रहन सक्नुहुन्न । किनकि, त्यहाँ तपाईंको आत्मसम्मान गुमेको छ । पहिचान गुमेको छ । बरु सरकारले तपाईंको योग्यताअनुसार जागिर उपलब्ध गराउन नेतृत्व लिए वा सीप सिकाउन नेतृत्व लिए, त्यसले तपाईंको आत्मसम्मान जोगाउन सक्छ । त्यसैले हाम्रो कल्याणकारी राज्य बनाउने बहसमा नागरिकको आत्मसम्मान र आत्मविश्वासलाई गहिरोसँग मनन गरिन जरुरी छ । त्यसैले भन्दै छु, समतामूलक समृद्धिका निम्ति हाम्रो बहस पुगकै छैन ।

हुम्लाको एउटा गाउँको मानिस गाडी देखेरै पनि खुसी हुन सक्छ । गाउँमा बाटो पुगेको खबर होस् वा बच्चाहरू दुई घन्टा हिँडेर भए पनि स्कुल गएको दृश्य वा सुत्केरी गराउन हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं ल्याएकोमा भएको खुसी, यी सब खुसीभन्दा हामीले खोजेको खुसी भिन्न हो । आफ्ना आधारभूत महत्वाकांक्षालाई बाँधेर कुवामा रमाएर खुसी हुनुको अर्थ छैन । प्रतिव्यक्ति आय राम्रो हुनु, स्कुल अस्पताल आधा घन्टाको दूरीमा उपलब्ध हुनु, स्कुलमा राम्रो शिक्षा हुनु, अस्पतालमा राम्रो स्वास्थ्य सेवा हुनु, पढाइ सकेपछि जागिर पाउनु, कामको सम्मान हुनु, सुरक्षित स्वतन्त्र रूपमा आत्मसम्मानसहित हिँडडुल गर्न पाउनु नै हामीले खोजेको समतामूलक समृद्धि हो । आजको ‘समृद्धि’को परिभाषामा आर्थिक वृद्धिसँगै मानवता र प्रकृतिसँग पनि जोडिन जरुरी छ ।

स्वाभाविक रूपमा कम तनाव हुनु भनेको बढी खुसी हुनु हो । त्यसैले नागरिकको आधारभूत आवश्यकताबारे राज्यले नेतृत्व लिने हो भने नागरिक बढी खुसी हुन सक्छन् र बढी खुसी नागरिकले बढी परिणाम दिन सक्छन् । आधुनिक युगमा खुसीलाई थप परिभाषित गर्न आवश्यक छ । खुसीको गहिराइ मापन गरिन जरुरी छ । खुसीको आयतनको दायरा बुझ्न जरुरी छ । तपाईं तपाईंको परिवारसँग कति समय बिताउनुहुन्छ वा छिमेकीसँग कति संवाद गर्नुहुन्छ, युट्युब वा नेटफ्लिक्समा कति समय बिताउनुहुन्छ ? यसले पनि खुसीको दायरामा प्रभाव पारिरहेको हुन्छ । मसँग अध्ययनको रिपोर्ट त छैन, तर के कुरामा विश्वस्त छु भने हामीले खुसी देशका नागरिक र कम खुसी देशका नागरिकबीच अध्ययन गर्‍यौँ भने खुसी देशका नागरिकले युट्युबमा भन्दा आफैँसँग वा परिवारसँग बढी समय बिताएका हुन्छन् । अब हामीले समृद्धिको परिभाषा खोज्दै गर्दा व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्वबारे समेत छलफल हुन जरुरी छ ।

समृद्धिको मोडेल देशअनुसार फरक–फरक हुन्छ । हाम्रो प्रकृति, भूगोल, कला, संस्कृति, समाज फरक छ । हामी नेपाली फरक छौँ । नेपालमा हामी समानता अनि आत्मसम्मानको जगमा उभिएको समृद्धि खोज्दै छौँ । जसमा प्रत्येक समुदाय, वर्ग, पेसा, क्षेत्र, लिंग आदिले अपनत्व महसुस गर्न सकोस् । जहाँ एउटा ड्राइभर अनि एकजना डाक्टर दुवैले पेसागत सम्मान महसुस गर्न सकून् । मधेस, हिमाल, पहाड सबैले आत्मसम्मानित महसुस गर्न सकून् । विकास गर्दैगर्दा प्रकृतिलाई माया गर्न सकियोस् । हाम्रो संस्कृति अनि सम्पदालाई जोगाउँदै थप फैलाउन सकियोस् । तसर्थ, हामी समानता र आत्मसम्मानसहितको ‘समतामूलक समृद्धि’ खोज्दै छौँ ।

सत्तरीको दशकसम्म क्यानडालाई ‘ह्वाइट क्यानडा’ भनिन्थ्यो । क्यानडा उदार बनिसकेको थिएन । आज क्यानडा समृद्ध बन्नुको पछाडि पियरी ट्रुडोको नेतृत्वको महत्वपूर्ण भूमिका छ । १९६८ मा ट्रुडो प्रधानमन्त्री भएपछि क्यानडाले बहुसांस्कृतिक नीति अपनायो, जुन निर्णय चलिआएको धारभन्दा विपरीत थियो । यो निर्णयसँगै क्यानडा अध्यागमनमा उदार बन्यो । जसले शिक्षा, स्वास्थ्य, भाषामा उत्कृष्टतालाई प्राथमिकता दिलायो । ट्रुडोले बहु–संस्कृतिक पाटोलाई अर्थतन्त्रसँग जोडे । क्यानडा विकासको पथमा लम्कियो । विविधतालाई स्विकार्दै अघि बढ्न सके समाज थप सिर्जनशील हुन्छ र परिणाममुखी हुन्छ । विविधता नेपाली समाजमा अर्काे महत्वपूर्ण आधार हो ।

धन सम्पत्ति प्रशस्त हुनु मात्रै कुनै व्यक्ति वा परिवार समृद्ध हुनु होइन । मध्यपूर्वका कतिपय देशको प्रतिव्यक्ति आय अमेरिका र युरोपका देशहरूभन्दा पनि धेरै छ । तर, तपाईं कुन देश जान चाहनुहुन्छ भन्दा तपाईं हाम्रो प्राथमिकतामा क्यानडा पर्छ, अमेरिका पर्छ, युरोप पर्छ । किन ? किनकि, त्यहाँ खुला समाज छ । व्यक्तिगत स्वतन्त्रता छ । समानता छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच र अवसर छ । त्यसैले प्रगतिशील दुनियाँमा हामीले खोजेको समृद्धि मात्र होइन, समतामूलक समृद्धि नै हो । एउटा नेपालीले दिनभरि आत्मसम्मानसहित काम गरेर आफ्नो परिवारका निम्ति शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका बारेमा चिन्ता नगरी वर्षमा एकचोटि आफ्नो परिवारलाई घुमाउन लान सक्ने अवस्था बनाउनु नै हामीले खोजेको समतामूलक समृद्धिको मोडेल हो । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार