सहिद भगत सिंहको जन्मदिनको साइत पारेर तेजतर्रार भारतीय कम्युनिस्ट युवानेता कन्हैया कुमारको नयाँ राजनीतिक यात्रा कंग्रेसबाट सुरु भयो । उनले ओपनिङ ब्याटिङ अब कंग्रेसको नयाँ पिचमा खेल्नेछन् । निम्न मध्यमवर्गीय युवाका ‘पोस्टर–ब्वाई’ यी भूमिहारपुत्र विहारी बाबुले विचारको मूल्य दिल्लीका सडकमा, प्राज्ञिक र राजनीतिक बहसमा, जेलका कोठरीमा र चुनावी मैदानमा तिरे ।
जवाहरलाल नेहरू विश्वविद्यालय (जेयनयू) का विद्यार्थी अध्यक्ष कन्हैया मिडियाका न्युजमेकर बने । उनको गाउँ बिहट धरतीलाई पूर्वको लेनिनग्राद र बेगुसरायलाई मिनी मस्को भनिन्थ्यो । देशैको नजरकेन्द्रित बेगुसरायको गत संसदीय चुनावमा लालसलामका नारा घन्काउने कन्हैयाको समर्थनमा देशैभरिका सेलिब्रेटी उत्रिए । भाजपाले प्रतिष्ठाको लडाइँ लडेको सो चुनावमा उनी पराजित भए । कन्हैयाको कंग्रेस प्रवेशसँगै कम्युनिस्ट आन्दोलनभित्र अनेकौँ कोणले बहस उठे, उठ्दै छन् । आखिर किन कन्हैयाले कम्युनिस्टलाई लालसलाम, बाई–बाई भन्दै कंगे्रसी यात्रा सुरु गरे त !
संसदीय अभ्यासमा कम्युनिस्ट : हिन्दू महासभाबाट राष्ट्रिय स्वयंसेवक संघ बनेको (आरएसएस, भाजपाको माउ संगठन, २७ सेप्टेम्बर १९२५) जन्मेको तीन महिना नबित्दै भारतीय कम्युनिस्ट पार्टी (भाकपा) २६ डिसेम्बरमा स्थापना भयो । चिनियाँ कम्युनिस्ट पार्टी (२३ जुलाई १९२१) स्थापनाको चार वर्षपछि भाकपा जन्मेको हो ।
संसारकै पहिलो निर्वाचित कम्युनिस्ट सत्ता भएको देश सान मारिनो (१९४५–१९५५) भए पनि भारत, केरलको नम्बुदरिपाद सरकार (५ अप्रिल १९५७) चर्चित रह्यो । आठौँ लोकसभा चुनावमा (१९८४) भाजपाको दुई सिट थियो, तर सत्रौँ लोकसभामा (२०१९) भाजपा ३०३ सदस्यसहित राजकीय नेतृत्व गर्दै छ भने वामपन्थी सदनमा ६ सदस्य मात्र छन् । आधारभूत रूपमै भिन्न सोचाइका यी दुवै पार्टीबीच ९६ वर्षमा यो अवस्था के र कसरी आइपुग्यो ? वामपन्थको चुनावी पात्रो नियाल्दा बंगालमा ३३ वर्ष ३२५ दिन (अहिले शून्य सिट) केरलामा ३३ वर्ष ७१ दिन र त्रिपुरामा ३४ वर्ष ३६४ दिन सत्ता सञ्चालन गरेका पार्टीको सदनमा मात्र ६ सिट ।
नयाँ राजनीतिक यात्रा कंग्रेसबाट सुरु गरेका ‘कमरेड’ कन्हैयाले अबका दिनमा आफ्नो ओपनिङ ब्याटिङ कंग्रेसको नयाँ पिचमा खेल्नेछन् ।
लोकसभाको सभामुख, केन्द्रीय गृहमन्त्री भइसकेका र प्रधानमन्त्रीमा ज्योति वसुलाई प्रस्ताव गरिँदा पार्टीभित्रको कलहले सम्भव भएन । भारतीय कम्युनिस्ट पार्टीको अहिलेको हविगतको मुख्य कारण के हो ? सामाजिक सरोकारका विषयमा कम्युनिस्ट पार्टी उदासीन भयो र आन्दोलन बन्न सकेन । ऊ अहिले त्यसैको परिणाम झेल्दै छ । चौधौँ लोकसभाको अंक ५९ बाट घटेर सत्रौँ लोकसभामा ६ मा किन खुम्चियो ! संसदीय गणितमा यत्रो हेरफेर भारतीय समाजमा आएको फेरबदल हो कि ! पार्टी घोषित मूल्यमा टिक्न, अभ्यास गर्न नसक्नाको परिणाम हो ?
प्रविधि र सूचनाको अभूतपूर्व विकाससँगै आन्दोलनलाई कसरी जोड्ने ? सामाजिक सरोकारसँग पार्टीलाई कसरी सामाजिकीकरण गर्ने ? सामाजिक परिवर्तन, उत्पादनका साधन र स्रोतमा हेरफेर हुँदा समयलाई नेतृत्व दिन सक्ने कार्यनीति बनाउन नसक्नु वामपन्थका समस्या हुन् । सुविधाअनुसार सिद्धान्तको व्याख्या भइरहँदा रूप, गुण र नारा अवस्थाअनुरूप फरक हुन्छन् । पुरानै सोचले नयाँ समस्यामाथि हस्तक्षेप गर्न सक्दैन । दोहोरो अर्थमा शुद्धतावाद प्रयोग हुन्छ । फेरिँदो अन्तरविरोध र अवस्थाबीच बहस, लड्ने तरिका, स्थिति, वैचारिक उदारता या संकीर्णताको घेराबन्दी तोड्ने कसरी ? नेतृत्वले जोखिम कसरी उठाउने ? भन्ने हुन्छ । सोच परिवर्तन नभए रूपअनुसारको गुण हुँदैन । नामअनुसारको काम नहुँदा मर्म र कर्मबीच अन्तर देखिएर पार्टी साइनबोर्डमा सीमित बन्न पुग्छ ।
सर्वहाराको राजनीति जब अर्बहाराको चौतारीमा फेरिन्छ, तब पार्टी पसल बन्छन् भने नाम ट्रेडमार्क । समाज फेर्न गएकाहरू स्वयं फेरिएपछि लालसलाम लालमण्डलेले कब्जा गर्छन् । नक्कलीको बिगबिगीमा सपना तुहिन्छन्, आन्दोलन सकिन्छ, त्यस्तो वेला कम्युनिस्ट वा बुर्जुवा पार्टीबीच कुनै भिन्नता हुँदैन । राजनीति व्यवसायमा फेरिएर शक्तिको भ¥याङ मात्र बनेपछि पृष्ठभूमि लोकप्रियताको ज्यावल बनेर व्यक्तित्वको मार्केटिङ हुन थाल्छ । नयाँ समयका नयाँ चुनौती र आफ्नो समकालीन भूमिकाको आत्ममन्थन गर्दैन भने कार्यकर्ताले नयाँ भाव, भूमि र भूमिका खोज्नु नौलो होइन ।
के कंग्रेस फेरिँदै गएको हो ? : पन्जाबमा अमरिन्दर सिंह, विहारमा नितिशकुमार र पश्चिम बंगालमा ममता बनर्जीको राजनीतिक व्यवस्थापन गरिसकेका प्रशान्तकुमारले कंग्रेसमा नयाँ सोच, नयाँ ऊर्जा र नयाँ विश्वासको उभार ल्याउन सक्लान् ? राहुल गान्धीले नयाँ सोच, विचार र भूमिकाका नयाँ युवालाई पार्टीमा ल्याएर पुरानासँगको टकराहटको जोखिम मोलिरहेका छन् । भाजपासँग सांस्कृतिक राष्ट्रवाद र अखण्ड भारतको आवेगी तुरुप र नयाँ भाष्य छ । बुजुर्वा मध्यम वर्ग एकातर्फ कम्युनिस्ट चाहँदैनथे भने अर्कातर्फ अन्य वैकल्पिक शक्तिको अभावले जातीय, धार्मिक घृणाको आवेगमा फस्दै गए । खाली भएको सडक धार्मिक उन्मादीले सांस्कृतिक राष्ट्रवादी विचार र आन्दोलनले अपहरण ग¥यो । कांग्रेस मध्यमार्गी पार्टी भए पनि उसले उग्रदक्षिणपन्थीको मलिलो जमिन तयार गरिदिएकै थियो । मिश्रित अर्थव्यवस्था त्यागेको थियो ।
कम्युनिस्ट पार्टीभित्रको संकीर्णता, समयसँगै सिद्धान्त र व्यवहारमा तालमेल मिलाउन नसक्ने समस्या, राजनीतिलाई सामाजिकीकरण गर्न नसक्ने नेतृत्व आदिका कारण पार्टीबाट कन्हैया कुमारहरू पलायन हुनु अनौठो होइन ।
बंगालको चुनावमा भाजपाको पराजयले मध्यपन्थी धारमा आशा र ऊर्जा फैलियो । सबभन्दा पुरानो र लामो समय सत्तामा रहेको पार्टीले कुलीन नेतृत्वका ‘राजा–महाराजा’ ज्योतिरादित्य सिंधिया, जितिनप्रसाद, कैप्टन अमरिन्दर सिंहको ठाउँमा वाम र गरिब पृष्ठभूमिका सडक आन्दोलनका जुझारु र जनाधारवाला कन्हैया, जिग्नेश र हार्दिक पटेल मात्रै होइन, पन्जाबको मुख्यमन्त्रीमा पूर्वराजाको ठाउँमा दलित चन्नीलाई ल्यायो ।
अब ऊ जनाधार बढाउन इतिहासतिर फर्किन थालेको हो ? के यो ‘प्याराडाइम सिप्mट’ हो ? कर्पोरेट र कुलीन वर्गको हालिमुहाली हुँदा उदारवादको खासै अर्थ रहँदैन भने जनसरोकारका विषय सडकबाट उठाउने नेतृत्वको अभावले चुनौतीको सामना गर्न सक्दैनथ्यो । सत्ताबेगर रहन नसक्ने चरित्र मध्यमार्ग (सेन्ट्रिस्ट लेफ्ट) सामु अस्तित्वको संकट बन्यो । तब कंगे्रसमा पुराना भर्सेस नयाँको व्यक्ति, सोच र भूमिका खोज्न थालियो ।
आफ्नै विचारधारा खोजिरहेको अवस्थामा विचारधाराबेगर राजनीति गर्न सकिँदैन । के यो नयाँ प्रयोग विचारमा फेरबदल हो ? जब कि कंग्रेस र भाजपाको अर्थनीति र वर्गचरित्र एउटै छ । पुराना र कुलीनको ठाउँमा नयाँ जुझारु युवालाई लिएर नयाँ टिम बनाउने प्रयासले जनविश्वास फेरि पाउन सक्ला ? लामो समयको भाजपाको अभ्यासले ‘न्यारेटिभ’ नै फेरबदल हुँदा समाजमा तीव्र रूपमा धार्मिक धु्रवीकरण हुँदै छ । खानपान, पूजाविधि र कपडाको रङ (पहेँलोले हिन्दू, हरियोले मुसलमान, रातोले कम्युनिस्ट र निलोले दलित) ले उसको आस्था र पक्षधरता खोजिँदै छ ।
के कम्युनिस्टहरूले निर्मम समीक्षा गर्लान् ? : हरेक पार्टीको केन्द्रीय लक्ष्य सत्ताप्राप्ति नै हो । सत्ता प्रयोग गरेर आफ्ना सोचअनुसार समाज परिवर्तन गर्ने उद्देश्य हुन्छ । आन्दोलनले जनाधार तयार गर्दै राजनेता जन्माउँछ । विचार, आदर्श र लक्ष्यको अभ्यास आन्दोलनमा देखिन्छन् । वैचारिक मुद्दाबेगर राजनीति हुन सक्दैन । अन्य पार्टीका नेताले पार्टी प्रवेशसँगै विचार र संस्कृति पनि साथै लिएर आउँछन् या आत्मसमर्पण गरेर । कन्हैयाहरू अवसरको खोजीमा छन् । जेएनयू घटनाले उनलाई चर्चाको केन्द्रमा लग्यो । सांस्कृतिक फासीवाद र असहिष्णु सत्ताविरुद्धको प्रतीकमा विकसित पनि भए उनी । तर, एक्सिडेन्टल नेता बन्नु र हुनुु फरक कुरा हो ।
साम्प्रदायिक शक्ति र सोच विकास हुने आधार कंग्रेसकालमै ज्यादा भयो भने वामपन्थीहरू उदास र निष्क्रिय रहे । विचारअनुसार आन्दोलनको चरित्र बनाउन सकेनन् । ‘उच्च जाति’ र ‘उच्च वर्ग’बाटै आएका वाम नेतृत्वका कारण सामान्य परिवार वा ‘तल्लो जाति’का नेता कार्यकर्ताले दलित नै बन्नुप¥यो । आफ्नै भूमिकाले खुम्चिएको संसदीय वाममार्ग नेतृत्व, विचार र कार्यक्रमको संकटबाट गुज्रियो । जब विचारको अन्त्य हुन्छ, तब राजनीतिमा आवेगी भिड तयार गरेर पार्टी जिउँदा देखिन्छन् । तर, केरलबाहेक संसदीय कम्युनिस्ट पार्टीसँग बिल्डिङ र झन्डा मात्र छन् । सामाजिक न्यायको दिशा, जातिको बनोट र सामाजिकीकरणमा सबैखाले कम्युनिस्ट चुके । शास्त्रीय वर्गसंघर्षले मात्र समाजलाई राजनीतीकरण गर्न सकिँदैन । उनीहरूले ‘सोसल इन्जिनियरिङ’मा ध्यानै दिएनन् ।
आखिर मूल्यको राजनीतिलाई महत्व दिने कन्हैयाहरूले कम्युनिस्टबाट एकाएक बुर्जुवा राजनीतिमा किन फड्को मारे त ? यो व्यक्तिको प्रश्न नभई प्रवृत्तिको विषय हो । कम्युनिस्ट पार्टीभित्रको संकीर्णता, समयसँगै सिद्धान्त र व्यवहारमा तालमेल मिलाउन नसक्ने समस्या, राजनीतिलाई सामाजिकीकरण गर्न नसक्ने नेतृत्व आदिका कारण पार्टीबाट कन्हैया कुमारहरू पलायन हुनु अनौठो होइन, समस्या पार्टीमा हो कि कार्यकर्तामा ? ‘टुकडे–टुकडे ग्याङ’, ‘देशद्रोही ग्याङ’ भनेर सत्ताबाट खेदिएका कन्हैयाहरू कसरी एकाएक कंग्रेसलाई स्वीकार्य भए ? के कंग्रेस आफूलाई आधारभूत परिवर्तन गर्दै छ ? अझै रातै सर्ट लगाइरहेका कन्हैयाले नयाँ पार्टी प्रवेशसँगै भने— ‘कंग्रेस पार्टी एउटा ठूलो जहाजजस्तै हो । यदि यो बाँच्यो भने कैयौँ मान्छेको आकांक्षा बाँच्छ, महात्मा गान्धीको एकता, भगत सिंहको साहस र बिआर अम्बेडकरको समानताको विचार पनि बाँच्छ । तर, जयप्रकाश नारायण, चन्द्रशेखरजस्ता समाजवादीलाई पचाउन नसकेको कंग्रेसमा उनको भावी यात्रा सहज र सरल हुन कठिन छ ।
लोकप्रियतावाद आफैँमा एउटा तीव्र महत्वाकांक्षी रोग हो । यसलाई धान्न निरन्तर चर्चा आवश्यक हुन्छ । चर्चाका लागि भूमिका चाहिन्छ । जब अंकुश लाग्न थाल्छ, तब घेराबन्दी तोडिन्छन् । जब पुरानै तरिकाले नयाँ युद्ध लड्न सकिँदैन, तब नयाँ हतियार र रणभूमि पनि फेरिनुपर्छ । पार्टी एउटा साधन मात्र हो, जब पार्टी मौलिक चरित्रमा रहँदैन, न आन्दोलन बन्न सक्छ, न आदर्श धान्न सक्छ । तब कार्यकर्ता निराश भएर पलायन हुन्छन् वा छट्पटाएर सँघार तोड्छन् । कन्हैयाले पनि त्यही बाटो रोजे । तर, मौलिक चरित्र र नयाँ संस्थाबीच सोच र संस्कृति टकराहटमा कन्हैयाको अगाडिको बाटो सोचेजस्तो सहज र सरल भने छैन । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया