काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी नयाँ नेतृत्वको लागी १४औं महाधिवेशन २०७७ फाल्गुन ७-१० गते गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको केन्द्रीय कार्य समितिको बैठकबाट केन्द्रीय कार्य समितिको कार्यकाल एक वर्ष थप गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यसैगरी बैठकले वर्तमान केन्द्रीय कार्य समितिको म्याद आगामी ०७७ फागुन १९ गतेसम्म थप गरेको छ। आगामी महाधिवेशन मिति तय भएसँगै केन्द्रीय समितिको कार्यकाल थप भएको हो ।
बैठकले तरुण दलको म्याद ६ महिना थप गरेको छ भने कांग्रेस केन्द्रीय विभागको संख्या २८ बाट ४१ पुर्याउने निर्णय गरेको छ ।
२६ मंसीरबाट जारी केन्द्रीय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भने आगामी ०७७ मंसिरभित्रै महाधिवेशन गर्ने गरी निर्वाचनको स्पष्ट कार्यतालिका ल्याउनुपर्ने, नेविसंघ, तरुण दल, पार्टीका विभाग लगायतका विषयमा प्याकेजमै टुंगो लगाउनु पर्ने भन्दै बैठक बहिष्कार गर्दै आएका छन् ।
सहमतिका लागि सभापति शेरबहादुर देउवाले वार्ता समिति बनाए पनि नेता पौडेल र सिटौलालाई मनाउने पटक-पटको प्रयास बिफल भएको थियो ।
१३औं महाधिवेशनबाट निर्वाचित कांग्रेस नेतृत्व कार्यकाल आगामी फागुनमा सकिदैछ । तर, पार्टी संघीय संरचनाअनुसार, जानुपर्ने भएकाले निर्धारित मितिमा महाधिवेशन गर्न नसकिने संस्थापन पक्षले तर्क गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया