असार २५, २०८२ बुधबार July 9, 2025

निर्वाचनको सही बेला – डा. शोभाखर कँडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शेरबहादुर देउवा विपक्षी दलको नेता हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्नुभयो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले त्यतिखेर भन्नुभएको थियो, ‘‘अदालतले संसद् पुनस्र्थापना गरेमा वा नगरेमा पनि हामीले अदालतको निर्णय मान्नुपर्छ । तर हामी चुनावका लागि तयार हुनुपर्छ ।’’ हाल आएर पनि प्रधानमन्त्री देउवाले भन्नुभएको छ,‘‘यो गठबन्धनको सरकार हो र संसद्को पूरा समयभन्दा अघि निर्वाचनमा जाने कुरा गठबन्धनले निर्णय गरेपछि मात्र हुने हो ।’’

त्यसबेला देखिनै प्रधानमन्त्री देउवा चुनावकै पक्षमा देखिनुभएको छ । यो विषयमा काँग्रेसभित्रै एक मत थिएन । काँग्रेसका नेताहरू खासगरी वरिष्ठ नेतासहित देउवाइतर नेताहरू तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिगमनतिर मुुलुकलाई लगेको भन्दै संसद्ले पूरा अवधि काम गर्न पाउनुपर्छ, प्रतिगमनका विरुद्ध काँग्रेसले नेतृत्व लिनुपर्छ भन्ने भनाइ थियो । जब पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलगायत नेताहरूले प्रतिगमनका विरुद्ध नेतृत्व लिइदिन मरिहत्ते गरेपछि मात्र देउवाले नेतृत्व लिनुभएको हो । अदालतको निर्णय र संसद्को भारी मतसँगै वर्तमान सरकार सम्भव भएको हो ।

गठबन्धन रसायन

कुनै पनि पार्टीको मुख्य काम भनेको आफ्नो पार्टीको आन्तरिक संयन्त्रलाई सबल बनाएर सैद्धान्तिक, रणनीतिक तथा कार्यनीतिक रूपमा परिपक्व बनाउनु हो । जुनसुकै बेलामा पनि जनतामाझ जान नेता कार्यकर्ताहरू मन, वचन र कर्मले तयार रहनु, बनाउनु हो । हालको सत्तापक्षीय गठबन्धनमा नेकपाबाट अलग भएको नेकपा (माओवादी केन्द्र)को ध्वस्त भएको संरचनाको पुनर्निर्माण र एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी)को सङ्गठन निर्माण गर्नु नै हो ।

नेपाली काँग्रेसका लागि भने आफ्नै नेतृत्वमा निर्वाचन गराउनु हो । यो गठबन्धनमा समावेश भएका राजनीतिक पार्टीहरूको विश्लेषण गर्दा गठबन्धनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नै छ । भनाइमा प्रतिगमनका विरुद्धमा आन्दोलन भने पनि सत्ता र शक्ति हातमा भएमा मात्र सङ्गठन पुनर्निर्माण गर्न सकिन्छ भन्ने निष्कर्ष हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गठबन्धन चाहिनुको कारण काँग्रेसलाई अगाडि बढ्न मद्दत गर्ने त पक्कै होइन होला ? अरूको शक्ति र सङ्गठनमा खेलेर आफूलाई सत्ताको केन्द्रमा राख्ने उहाँको रणनीति यस पटक पनि काँग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति नहोला भन्न सकिन्न । गत स्थानीय निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेर छोरी रेणु दाहाललाई महानगर प्रमुखमा जिताउन उनले अँगालेको रणनीति उदाहरण छ । कहिल्यै भोट क्रस नगरेको चितवन काँग्रेसलाई ‘क्रस’ गर्न बाध्य पारियो । जब आमनिर्वाचनको सँघार आइपुग्यो, चटक्ककै काँग्रेसलाई छाडेर एमालेसँंग साझेदारी गर्नुभयो प्रचण्डले । उहाँ गठबन्धन तोड्ने र जोड्ने अनि केन्द्रबिन्दुमा रहिरहने कला आफैँमा अनुपम छ ।

नयाँ दल नेकपा एकीकृत समाजवादीको त झन् संगठन नै नयाँ निर्माण गर्नु । सत्ता बाहिर एकदिन मात्र भएमा कतिपय अहिलेका चर्चित पात्र नरहन सक्छन् । नेपाली समाज सत्ता पक्षीय छ भन्ने कुरालाई आत्मसात् गर्ने नै हो भने पनि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलाई सबैभन्दा बढी घाटा हुन सक्छ ।

सरकारको दिशा

नेपाली काँग्रेसको सन्दर्भमा कुरा गर्दा सरकारले पूर्णता पाउन ८६ दिन लाग्नु त्यति सुहाउने कुरा होइन । तर गठबन्धनको बाध्यता पनि थियो । संसद् अधिवेशन सुरु भएको यतिका दिन हँुदा पनि ‘विजिनेस’ बिहीन प्रभावकारी हुन सकेको छैन । प्रतिपक्षले अघे्रलो पनि गरिरहेको छ । बाढी पहिरोमा सरकारले पर्याप्त राहत दिन नसकेको गुनासो पनि छ । विकास निर्माणले तिब्रता लिन सकेको छैन । यो परिवेशमा सफलताको जस गठबन्धनले पाउने र अपजसको भारी नेतृत्वकर्ता नेपाली काँग्रेसलेनै व्यहोर्न पर्ने हुन्छ । गठबन्धनमा अरू पनि समस्या छन् । एमसीसीमा पारित सम्बन्धमा गठबन्धन भित्रै फाटो पर्ने सम्भावना पनि नकार्न सकिन्न । के सभामुख अग्नि सापकोटाले एमसीसी संसद्मा टेबुल गर्नुहोला ? टेबुल गरियो र संसद्बाट पारित भयो पनि भने अवस्था के हुन्छ ? कतिपय मुद्दाको अपजस काँग्रेसमा पनि आउन सक्छ । नेकपा एमालेलाई विपक्षमा बसेर विरोध गरे भइहाल्यो भन्ने अवस्था छ । चुच्चे नक्सा के हुन्छ भन्ने उसको प्रश्न पनि हुन सक्छ ।

एमालेको रणनीति

नेकपा (एमाले) आफूलाई जबर्जस्ती सत्ता बहिर्गमन गराएकोमा निर्वाचन आयोग र सर्वोच्च अदालत तथा परमादेशबाट बनेको सरकार भन्दै आन्दोलित । साथै सभामुख अग्नि सापकोटाले पार्टीहरूले अनुशासनको कारबाही गरेका सदस्यलाई संसद् सचिवालयमा सूचना टाँसेर संसद् सदस्यताबाट पद्च्यूत गर्नुपर्ने एकै प्रकृतिका कारबाहीमा पक्षपात गरे भन्ने मुद्दालाई अगाडि सारेर संसद्को गतिविधिलाई अवरोध गरिरहेको छ । एमालेका यी गतिविधिबाट संसद् विघटनको आफ्नो निर्णय सही थियो भन्ने प्रमाणित गर्नु उसको प्रमुख ध्येय नै भएजस्तो लाग्छ । अर्कोतर्फ छिन्न भिन्न भएको आफ्नो साङ्गठनिक संरचनालाई चुस्त दुरुस्त राख्न र आफ्ना कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा पलायन नहुन भन्नका खातिर विधान अधिवेशनपछि महाधिवेशन गरेर कार्यकर्ताहरू माझ जान चाहेको छर्लङ्ग छ । सत्तामा बस्दा काम गर्न नसक्नु, सत्ता बहिर्गमन र संसद् विघटनमा अरूको नै दोष भएको सूचना आफ्ना कार्याकर्तालाई सम्प्रेषित गर्नु एमालेको बठ्याइ हो ।

काँग्रेसको स्थिति

नेपाली काँग्रेस आफ्नो महाधिवेशनको चटारोमा छ । देउवा पक्ष र पौडेल पक्ष भन्ने स्पष्ट दुई समूह मेटिन सकेको छैन । भित्र भित्र विमलेन्द्र निधि र प्रकाशमान सिंह नेतृत्वमा स्पर्धा गर्न अगाडि बढ्नुभएको छ । आन्तरिक प्रतिस्पर्धा स्वस्थ होस् भन्ने कार्यकर्ताको चाहना भए पनि अधिवेशन नै पर सर्दै र टर्दै जाने खतरा भएको छ । काँग्रेसले महाधिवेशन समयमै सम्पन्न गरी आम निर्वाचनको तयारी गर्नुपर्ने थियो । संसद्को पूर्ण कार्यकाल अघि नै भए पनि निर्वाचनमा तयार हुनुपर्ने थियो तर रामचन्द्र पौडेल समूहको प्राथमिकता पार्टीको निर्वाचन र ‘अर्ली इलेक्सन’मा इच्छा देखिन्न । काँग्रेसभित्रको प्रतिस्पर्धाको स्पष्ट चित्र आइसकेको छैन । क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएपछि महाधिवेशन प्रतिनिधि आएको आधारमा मात्र यसै भन्न सकिन्छ । त्यसमा पनि पहिलो चरणमा के के सभापतिका दाबेदार हुने र समीकरण कस्तो बन्ने भन्नेले निर्धारण गर्छ ।

निर्वाचनपछि आफ्नो नेतृत्वमा पार्टीको टिकट बाँडेर जाने कल्पना नेतृत्वमा होला तर त्यसले मात्र देशमा आमूल परिवर्तनको गति र दिशा निर्धारण हुँदैन । व्यक्तिभन्दा नीति महìवपूर्ण हुन्छ । समाज परिवर्तनको गति बुझ्न सक्ने नेतृत्व आवश्यक छ । गठबन्धमा काम गर्न समस्या भए समयभन्दा वर नै निर्वाचनमा जान सक्नु पनि पर्छ ।

नयाँ जनादेश निर्वाचनबाट मात्र प्राप्त हुन्छ । व्यक्तिभन्दा नीति प्रधान भएर मुुलुकका वर्तमान समस्या समाधान गर्न नेतृत्वको चिन्तन जरुरी छ । अहिले समाज परिवर्तनको चिन्तनभन्दा निजी स्वार्थ हाबी भएको आम महसुस छ । गठबन्धन पनि त्यसै सेरोफेरोमा गयो भने मुलुकले निकास पाउने छैन । निर्वाचन जरुरी हुन्म्छ । त्यसैले निर्वाचनको सही समय वर वा पर भन्ने कुरा समय र विकसित घटनाक्रमले निर्धारण गर्ने हो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार