असार २५, २०८२ बुधबार July 9, 2025

‘न्यायपालिकाको समस्यामा दलहरु चुप लागेर बस्न मिल्दैन’ – हरिहर दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल बार एसोसिएसनबाट धेरै अगाडिदेखि न्यायालयमा सुधार हुनुपर्छ भनेर माग उठिरहेको थियो । त्यसै  सन्दर्भमा २०७७ साल साउनमा बारले सर्वोच्च अदालतलाई ज्ञापनपत्र दियो । न्याय क्षेत्रका विकृति र विसंगतिका बारेमा त्यो ज्ञापनपत्रमा धेरै प्रश्न उठाइएका थिए ।

त्यसमा गम्भीरतापूर्वक न्यायपरिषद्बाट पनि हेरिनुपर्छ र प्रधानन्यायाधीशको तहबाट पनि त्यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ भन्ने माग थिए । त्यसपछि सर्वोच्च अदालतको बार र बेन्च समन्वय समितिको बैठक बस्यो । त्यो समितिमा म पनि थिए । त्यहाँ पनि ज्ञापनपत्रमा उठाइएका कुरा छलफलका क्रममा उठेका थिए । जवाफमा प्रधानन्यायाधीशले विकृति र विसंगतिका बारेमा अध्ययन गर्ने समिति बनाउँछु भनेर प्रतिबद्धता जनाउनुभएको थियो । पेसी तोक्ने स्वचालित प्रणालीको विषय पनि बारले उठाएको थियो । त्यसको बारेमा पनि अध्ययन गर्नका लागि छुट्टै समिति गठन गर्छु भनेर प्रधानन्यायाधीशले भन्नुभएको थियो । त्यसअनुसार समितिहरू गठन भए ।

न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा विकृति, विसंगति अध्ययन गर्ने समिति गठन भयो । त्यसमा न्यायाधीश प्रकाश राउत, नेपाल बार र सर्वोच्च अदालत बारका अध्यक्षलगायत हुनुहुन्थ्यो । न्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा स्वचालित प्रणालीमा पेसी कसरी तोक्न सकिन्छ भन्ने अध्ययन गर्नका लागि समिति गठन गरियो । सुन्नमा आएअनुसार न्यायाधीश दीपककुमार कार्की अध्यक्षबाट हटेपछि न्यायाधीश हरिकृष्ण कार्कीले त्यो जिम्मेवारी लिनुभएको छ ।

विकृति, विसंगति अध्ययन गर्ने समितिले प्रतिवेदन बुझायो । त्यो प्रतिवेदनले न्यायालयमा हुने विकृति विसंगतिका सबै कुरा उजागर गरेको छ । प्रश्न कहाँनेर उठ्यो भने त्यो प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाल बार एसोसिएसनले आवाज उठाउन थाल्यो । त्यस सिलसिलामा पटपकपटक आवाज उठ्दै गयो, रञ्जन कोइरालाको मुद्दाको र अन्य विभिन्न खालका प्रसंग पनि जोडिँदै गए । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भागबण्डा खोजेका कुरा पनि आए । तर त्यो अमूर्त लाग्छ । त्यसलाई मैले त्यति ठूलो महत्व दिएको छैन । खासगरी संवैधानिक परिषद्मा उहाँको सहभागिता र नियुक्ति प्रत्यक्ष रूपमा देखियो । संवैधानिक परिषद्सम्बन्धि अध्यादेशविरुद्ध परेका मुद्दा सुनुवाइ हुन नसकेकाले पनि प्रश्न उठ्दै गयो । प्रश्न उब्जिँदै गए ।

संवैधानिक इजलासको सुनुवाइ जब सुरु भयो भदौ ११ गते, त्यसमा प्रधानन्यायाधीशको उपस्थितिलाई लिएर प्रश्न उठ्यो । प्रधानन्यायाधीशको संलग्नतामा निर्णय भएको हुनाले उहाँ नभएको इजलासबाट मुद्दा हेर्न उपयुक्त हुन्छ भनियो । मरहितको इजलासमा मुद्दा राख्न स्वीकार गरिसकेको भनेर प्रधानन्यायाधीशले टिभीको अन्तर्वार्तामा पनि भन्नुभएको छ । त्यस घटनाले पनि प्रश्न उठ्दै गए ।

त्यसपछि न्यायाधीश हरि फुयालको एकल इजलासले जबसम्म संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुनुपर्ने कि नपर्ने भन्ने मुद्दाको टुंगो लाग्दैन तबसम्म संवैधानिक परिषद्सम्बन्धी मुद्दा संवैधानिक इजलासले रोक्ने भन्ने आदेश दियो । त्यसैबारे बार र बेन्चको समन्वय समितिको भदौ २८ गतेको बैठकमा प्रश्न उठायौं । एकल इजलासले संवैधानिक इजलासमा भएका मुद्दाबारे अन्तरिम आदेश दिने कुरा कति उचित हुन्छ ? यो बारेमा छलफल हुनुपर्छ, यो किमार्थ उचित भएन भनियो । संवैधानिक इजलासले नै उक्त मुद्दाको टुंगो लगाउनुपर्छ पनि भनियो र समझदारी त्यस्तै भयो ।

संविधानको धारा १३७ मा प्रधानन्यायाधीशले तोकेको मुद्दा संवैधानिक इजलासमा पेस हुने भनिएको छ । त्यो कारणले गर्दा मुद्दा संवैधानिक इजलासमा लैजान बाधा थिएन । न्यायाधीश फुयालले आदेश गरेको मुद्दा पनि संवैधानिक इजलासमा जानुपर्छ र प्रधानन्यायाधीशरहित बस्ने कि सहित बस्ने भन्ने निर्णय गरोस् भन्ने सुझाव थियो । प्रधानन्यायाधीशले हुन्छ भन्ने आशय व्यक्त गर्नुभएको थियो । तर त्यो अनुसार इजलास गठन भएन । संयुक्त इजलास गठन भयो । संयुक्त इजलासमा मुद्दा पेस भएपछि विवाद जन्माउने काम गर्‍यो ।

यसैबीचमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनअनुसार स्वचालित प्रणालीका आधारमा पेसी तोक्ने र त्यसमा जानुभन्दा पहिला गोलाप्रथाको भदौ १६ गतेबाट सुरुवात गर्ने भनिएको थियो । त्यसमा पनि ढिलाइ भएको थियो । त्यसपछि राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यक्रममा प्रधानन्यायाधीशले न्यायाधीश कार्कीको प्रतिवेदनको बारेमा केही प्रश्न उठाउनुभयो । त्यसले नकारात्मक दृष्टिकोण आएपछि असहज परिस्थिति निर्माण भएको हो । प्रतिवेदन कार्यान्वयन गर्नमा शंका उत्पन्न भएको हो । त्यसलाई लिएर सर्वोच्चका न्यायाधीश बढी संवेदनशील हुनुभएको हो जस्तो लाग्छ । उहाँहरू त्यस विषयमा विगत १ हप्तादेखि कसरी अगाडि बढ्ने भनेर लाग्नुभएको होला, सार्वनजिक रूपमा त उहाँहरू बोल्नुभएको छैन ।

यी सबै कुरालाई जोड्दै पूर्व न्यायाधीश समाजले लामो अवधारणापत्र ल्याएको छ । त्यसमा उदारतापूर्वक निकास दिनुपर्छ भनेपछि वातावरण सिर्जना भयो । बारले पनि मार्गप्रसस्त गर्नुपर्छ भनेपछि अहिलेको अवस्था आएको हो । उतापट्टी न्यायाधीश इजलासमा जानुभएको छैन भने यतापट्टी बारले कालोपट्टी बाँधेर विरोध सुरु गरेको छ ।

निकासको बाटो

प्रधानन्यायाधीशको पदमुक्ति भनेको कि त राजीनामा दिनुपर्‍यो कि महाभियोग पारित हुनुपर्छ । महाभियोग प्रस्ताव पारित गर्नका लागि कानुन व्यवसायीको पहलले हुन्न । त्यसका लागि राजनीतिक नेतृत्व तयार हुनुपर्छ । राजीनामा त हामीले माग गर्ने कुरा भयो । कसैले मार्गप्रसस्त गर्नुपर्छ, कसैले राजीनामा दिनुपर्छ, कसैले निकास दिनुपर्छ भनेपनि कुरा एउटै हो ।

परिस्थिति यस्तो निर्माण भइरहेको छ । राजीनामा दिने नदिने उहाँको कुरा हो । तर संस्थालाई स‌धैभरी यसरी नै राख्ने कि नराख्ने भन्ने प्रधानन्यायाधीशले विचार गर्नुपर्छ । आफ्ना सहयोगी मानिने न्यायाधीशको विश्वास लिन सक्नुपर्‍यो । उहाँले अहिले आफ्ना सहयोगी न्यायाधीशको विश्वास लिन नसकेको अवस्थामा पदमा रहिरहनु कति उचित हुन्छ ? गम्भीरतापूर्वक विचार गर्नुपर्ने कुरा हो । लामो समय प्रधानन्यायाधीश, न्यायाधीश र न्याय क्षेत्रमा काम गरेको उहाँ आफ्नोबारेमा स्वंय संवेदनशील भइदिनुपर्छ । यो न्यायपालिकाको गरिमा, मर्यादालाई कसरी सुरक्षित राख्न चाहनुहुन्छ ? आफू बसेर वा मार्ग प्रसस्त गरिदिएर ? यो जस्तो परिस्थिति निर्माण भइरहेको छ त्यसले उहाँलाई साथ दिइरहेको छैन । उहाँलाई काम गर्न सहज छैन । यसमा उहाँले उदार भावना मुखरित गरिदिनुपर्छ । ताकि पछिसम्म पद मेरालागि ठूलो होइन, संस्था ठूलो हो भन्ने मानसिकता राख्न पाइयोस् । पदभन्दा पनि संस्था ठूलो हो, संस्थाको मर्यादा ठूलो हो भनेमा निकास निस्किन्छ । पदमा रहेर निरन्तरता दिनुभन्दा संस्थाको मर्यादाबारे सोच्नुपर्छ ।

यसमा प्रधानन्यायाधीशप्रति कुनै द्वेष भावना छैन । त्यो अनुभूति गर्नु उपयुक्त हुँदैन । द्वेष भावना राख्नु पनि छैन, राखेको पनि छैन । राखेका छन् होला भन्ने पनि लाग्दैन । म व्यक्तिगत रूपमा बडो चिन्तित छु । चार दशकदेखि अभ्यास गरिरहेको छु । यसअघि नभएको परिस्थिति देखिरहेको छु । यसले पिरोलेको छ । नहुनुपर्ने कुरा भइरहेको छ । नहुनुपर्ने कुरामा हामीले बोल्नु जरुरी भएको छ । हामीले स्वेच्छाले उहाँलाई पदमुक्त गराउँ भनेर बोलेका होइनौं । यसमा हाम्रो बदनियत छैन । संस्था बचोस्, संस्थाको मर्यादा रहोस् भनेर मात्रै हो ।

न्यायालयप्रति दलहरू र महाभियोगको प्रसंग

महाभियोगको बारेमा हामीले बोल्ने होइन । राजनीतिक दलहरूले जान्ने कुरा हो । महाभियोग प्रस्ताव गर्ने हाम्रो हैसियत पनि होइन । सल्लाह माग्दा दिने हो तर अहिलेसम्म कुनै राजनीतिक दलका नेतासँग छलफल भएको छैन ।

तर, न्यायपालिकामा जुन परिस्थिति निर्माण भएको छ, जो जनताका हकको संरक्षक हो, न्यायपलिकामा तरंग पैदा भइरहेको छ र समस्या छ । यो तरंग र समस्याको बारेमा बेखबर भएर राजनीतिक दल बस्न सक्दैन । बस्नु हुँदैन । कहिँ न कहीँ समस्या समाधानको हल ननिकाल्दा समग्र राज्यलाई असर पर्ने कुरा हो । न्यायपालिका राज्यको एउटा अंगको सवाल मात्रै छैन । व्यवस्थापिकाले गरेका गलत काम नियन्त्रण गर्ने न्यायपालिकाले हो र कार्यपालिकाले गरेका गलत काम नियन्त्रण, निवारण र बदर गर्ने पनि न्यायपालिकाले हो । राज्यको यो महत्वपूर्ण अंगमा समस्या उत्पन्न भइरहेको छ भने न्यापालिकाको समस्या न्यायपालिकाबाटै सुल्झिनुपर्छ भनेर पन्छिन मिल्दैन । सत्ता चलाउने सत्ता पक्षले यो कुरा मनन गर्नुपर्छ ।

प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले नै राजीनामा गर्नुपर्छ भन्ने केपी ओलीको पूर्वाग्रहपूर्ण अभिव्यक्ति हो । आफ्नो निर्णयविरुद्ध फैसला गरेको भनेर उहाँले त्यस्तो भन्नुभएको हो ।

यो समस्या समाधान गर्नका लागि राजनीतिक दलहरू गम्भीर भएर जानुपर्छ । महाभियोग बाहेक अरु केही पनि हुनसक्छ । प्रधानन्यायाधीशलाई सम्झाइ, बुझाइ गरेर केही निकास निस्किन्छ कि ? प्रधानन्यायाधीशसँग छलफल गरेर हुन्छ कि तेस्रो पक्ष कोही राखेर छलफल गराइदिने हो कि ? तर राजनीतिक दलका नेताहरूलाई यसरी न्यायपालिकाको समस्या न्यायपालिकाले नै सुल्झाउनुपर्छ भनी चुप लागेर बस्न मिल्दैन । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार