काठमाण्डाैंः वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
आज साेमवार प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे थियो । त्यस्तै उनकाे विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ ।
प्रदेश सभामा एक सय नाै रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । प्रदेश सभामा विश्वासकाे मत पाउन ५५ सांसदकाे समर्थन चाहिने हुन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे समर्थन कायम रहेको थियाे ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका हुन् । नेकपा एमाले र विवेकशील साझा पार्टीका सांसद्ले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।
प्रदेश सभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमाया घले अनुपस्थित रहे ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया