काठमाडौंः वङ्गबन्धु फ्रेन्डसिप पिकेएसपी कप अन्तर्गत नेपाली महिला क्रिकेट टिम आयोजक पिकेएसपीसँग पराजित भएको छ ।
बङ्गलादेशको बिकेएसपी मैदानमा सोमबार भएको खेलमा नेपाली टिम घरेलु टोली बिकेएसपीसँग पाँच विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ दशमलव ३ ओभरमा अलआउट हुँदै ४५ रन मात्र जोड्यो । नेपालका लागि ज्योति पाण्डे र अप्सरी बेगमले समान १३–१३ रन जोडे ।
बिकेएसपीका लागि मारुफले सर्वाधिक ४ विकेट हात पारिन् । रवियाले दुई विकेट लिँदा दिशा र सानुले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको बिकेएसपीले ४६ रनको लक्ष्य ५ विकेट गुमाएर १२ दशमलव ४ ओभरमा पुरा गर्यो । नेपालको तर्फबाट कविता कुँवरले दुई तथा सबनम राई र सरस्वती चौधरीले एक–एक विकेट हात पारे ।
नेपाली टोली आइसिसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बङ्गलादेश भ्रमणमा रहेको छ । एक हप्ते भ्रमणका क्रममा चार मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नेपाली टोलीले यस अघि बिकेएसपीलाई पहिलो खेलमा २४ रनले पराजित गरेको थियो ।
बङ्गलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्नेछ । छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ ।
नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ । दोस्रो खेल २३ मा भुटानसँग, तेस्रो खेलमा कुवेतविरुद्ध नोभेम्बर २५ मा खेल्नेछ । मलेसियासँग नोभेम्बर २६ मा र पाँचौँ तथा अन्तिम खेलमा २८ तारिकमा युएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया