काठमाण्डौः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ ।
सो समूहका नेताको आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एकमात्र उम्मेदवार टुङ्याउन नसकेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको हो । बुधबारसम्म एकमात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो । नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गर्नुभएको उहाँले बताउनुभयो ।
दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा सभापतिका चारै जना उम्मेदवार, कोषाध्यक्ष सीतादेवी यादव, नेता डा रामशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी हुनुहुन्थ्यो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया