असार २६, २०८२ बिहिबार July 10, 2025

सहिद स्मारक लिगकाे तेस्राे चरण : पहिलो ह्याट्रिकदेखि ५३औँ सेकेन्डमै गाेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विदेशी खेलाडी अजयी मार्टिनको ह्याट्रिक गोल र विश्वास श्रेष्ठले खेल सुरू भएकाे सबैभन्दा कम समयमै गोल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरण समाप्त भएकाे छ ।

दशरथ रंगशालामा जारी शीर्ष डिभिजन लिगको तेस्रो चरण सकिँदा नवप्रवेशी सातदोबाटो युथ क्लब शीर्षस्थानमा छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले आक्रामक खेल खेल्दै आफूलाई शीर्षस्थानमा अहिलेसम्म कायम राखिरहेकाे छ ।

शुक्रबार, शनिबार, आईतबार र सोमबार गरि सातामा चार दिन हुने लिगकाे खेल दिउँसो १ बजे र साँझ पौने ५ बजे हुँदै आएका छन् । तेस्रो चरण समाप्तिमा भने केही रोचक खेल र तथ्यहरू बने । सातदोबाटोका लागि नाइजेरियन अट्याकर मार्टिनले ह्याट्रिक गरे । जारी लिगमा मार्टिन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

गत लिगमा थ्रिस्टारका संजोक राई र पुलिसका जुमानु राईले ह्याट्रिक गरेका थिए । त्यसअघि भएको बिना रेलिगेसनको लिग (२०७५) मा भने ह्याट्रिक गोल नै भएन । जारी लिगमा दुई टोली रेलिगेसन प्रावधान र सातौँ चरणमै शीर्षस्थानमा हुनेले एएफसी कपमा सहभागिता जनाउन पाउने भएपछि  ह्याट्रिक बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

मार्टिनले विभागीय सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए । पहिलो हाफमा दुई गोल गरेका मार्टिनले दोस्रो हाफमा एक गोल गर्दै आफ्नो नाम जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा लेखाएका हुन् । एपीएफविरुद्ध मार्टिनले खेलको ४१, ४५ मिनेटपछिको इन्जुरी टाइम र ५८ मिनेटमा गोल गरेका थिए ।

यता, लिगमा सर्वाधिक चाडो गोल गर्ने नाम हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठको नाममा रह्यो । बुधबार ५३औँ सेकेन्डमा विश्वास श्रेष्ठले गरेको गोलसँगै शेर्पाले अग्रता लिएको थियो । खेल सुरू भएको एक मिनेट नबित्दै पेनाल्टि एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले सम्हाल्न नसक्दा गोल हुन पुगेको थियो । जुन गोल जारी लिगमा भएको सबैभन्दा कम समयको हो ।

तेस्रो चरणमा भने दोस्रो चरणको औसतमा गोलसंख्या समेत बढेको छ । यस चरणमा १६ गोल भए । मनाङ मर्स्याङ्दी क्लब संकटा क्लबसँग रोकिनु, च्यासल र एनआरटीले बराबरी खेल्नुबाहेक तेस्रो चरणमा अप्रत्यासित कुनै पनि नतिजा आउन सकेन ।

खराब प्रदर्शनलाई निरन्तरता दिएका एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब यस चरणमा समेत आफुलाई जोगाउन सकेनन् । यसपटक भने ब्रिगेड ब्वाइजविरुद्ध पाएको १-० अन्तरको जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले राहत पाएको छ र उपाधि दावेदारीमै रहने संकेत देखाएको छ ।

तेस्रो चरण समाप्तिमा सातदोबाटो, मच्छिन्द्र र मनाङको समान ७ अंक रहे पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस, र आर्मी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ४ अंक रहेका थ्रिस्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौँ, आठौँ र नवाैँ स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन् । विना कुनै अंकको जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि (शुक्रबार)बाट सुरू हुने छन् । -न्यूज कारखाना

तेस्रो चरणका खेल र नतिजा

१. फ्रेण्ड्स क्लब १-१ थ्रीस्टार
२. सातदोबाटो युथ क्लब ४-१ एपीएफ फुटबल क्लब
३. संकटा क्लब १-१ मनाङ 
मर्स्याङ्दी क्लब
४. च्यासल युथ क्लब १-१ न्युरोड टिम एनआरटी
५. ब्रिगेड ब्वाईज क्लब ०-१ त्रिभुवन आर्मी फुटबल क्लब
६. हिमालयन शेर्पा क्लब १-१ नेपाल पुलिस क्लब
७. जावलाखेल युथ क्लब ०-२ मछिन्द्र फुटबल क्लब 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार