असार २५, २०८२ बुधबार July 9, 2025

नेपाली कांग्रेसको सैद्धान्तिक संकट – हरि रोका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पुरातन अर्थमा लोकतन्त्र भनेको जनशक्ति (पिपल्स पावर) हो । सत्ताको अर्थमा चाहिँ लोकतन्त्र भनेको शासन–सत्ता वा नियम–कानुन सबका हकमा बराबर हुनु हो । जनताका लागि जनताले जनशासनको लोकतान्त्रिक परिपाटी बसाल्न भनेर नेपालमा विक्रम संवत् २००७ तथा २०४६ सालमा जनआन्दोलनहरू सम्पन्न गरिए । यी दुवै आन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा भएका थिए ।

राणा शासन र राजाको शासन (पञ्चायत) पछि बहुदलीय शासन प्रणाली क्रमश: स्थापना र पुन:स्थापना भएको थियो । यी दुवै आन्दोलनको नेतृत्वको श्रेय नेपाली कांग्रेसलाई नै गए पनि यी उसकै एकल संगठनात्मक बलमा मात्रै भएका थिएनन् । जस्तो, २००७ को आन्दोलनको जगमा नेपाल प्रजा परिषद् थियो भने २०४६ को जनआन्दोलनमा वामपन्थीहरूको भूमिका नेपाली कांग्रेसकै हाराहारी थियो । यद्यपि यी दुवै आन्दोलनपछि नेपाली कांग्रेसका नेता–कार्यकर्ताले ‘प्रजातन्त्र’ शब्दको एक मात्र हकदार आफूहरू रहेको दाबी गर्दै आएका छन् । २०६२–६३ को आन्दोलनमा कांग्रेस मुख्य वाहक शक्ति थिएन । यद्यपि उसको भूमिकालाई कम आकलन गर्न मिल्दैन ।

२०६२–६३ को आन्दोलन ‘प्रजातान्त्रिक’ नभनिई ‘लोकतान्त्रिक’ का रूपमा लोकप्रिय हुन पुग्यो । पछिल्लो जनआन्दोलनमा प्रचलनमा आएको त्यो शब्द मुलुकलाई लोकतान्त्रिक गणतन्त्रतर्फ लैजाने औजारजस्तो बन्न पुग्यो । लोकतन्त्रलाई साधारण भाषामा ‘खुला’ समाजको अर्थमा बुझिन्छ । सिद्धान्तका कुरा गर्ने हो भने लोकतन्त्रले कुनै राजनीतिक शक्तिको सदस्य रहेको कुनै व्यक्तिलाई सम्बन्धित शक्तिको गाउँदेखि केन्द्रसम्म निर्णायक तहमा भाग लिन पाउने अधिकार रहनेछ भन्ने जनाउँछ । एउटा आम नागरिक सार्वजनिक तथा खुला ठाउँमा गएर आफूलाई लागेको वा खड्केको विषयमा अभिव्यक्ति दिन स्वतन्त्र हुन्छ । यो धारणा उन्नाइसौं शताब्दीको उदारवादी विचारसँग गाँसिएर आएको साँघुरो परिभाषा थियो ।

तर आधुनिक प्रतिनिधित्वयुक्त लोकतन्त्रमा त्यो सीमित गरिएको परिभाषाले पुग्ने कुरा थिएन । लोकतन्त्रमा ‘प्रतिनिधित्व’ ले पहिला समावेशिता खोज्यो र पछिल्ला दिनहरूमा सहज वातावरण (आर्थिक, सामाजिक, क्षेत्रीय, जातीय, लैंगिक, भाषिक तथा सांस्कृतिक रूपमा सहज) मिलाउनुपर्ने विषय । हिजो–आज समावेशितालाई राजकीय तथा सामाजिक निर्णय गरिने हरेक तहमा खोजिन्छ । यस अर्थमा ‘प्रतिनिधित्व’ र ‘मताधिकार’ शब्दको अर्थ पुरातन परिभाषाभन्दा धेरै विस्तारित हुन पुगेको छ । तर नेपालमा नेपाली कांग्रेस पार्टीभित्र वा बाहिर रहेका कांग्रेस समर्थक बौद्धिकहरूले समयानुकूल लोकतान्त्रिक व्यवस्थामा प्रतिनिधित्व र मताधिकारको जटिलताबारे छलफल र सार्वजनिक बहस गर्न रुचि नै राखेको देखिएन ।

२००५ सालपछिको नेपाली कांग्रेस

राजनीतिक रूपमा यी जटिलताबारे छलफल र बहसमा किन रुचि राखिएन ? उदार लोकतन्त्र (लिबरल डेमोक्रेसी) मात्र होइन, लोकतान्त्रिक समाजवादलाई समेत आत्मसात् गरेको दाबी गर्ने नेपाली कांग्रेसभित्र यो समस्या बीपी कोइरालाको पालादेखि नै थियो । बीपी कोइराला प्रतिभावान्, साहसी र आफ्नो समयका सबैभन्दा बढी पठित व्यक्ति थिए भन्नेमा संशय गर्नुपर्दैन । तर उनको राजनीतिक समझदारी, नेपाली राष्ट्र र नेपाली समाजलाई हेर्ने दृष्टिकोण आदि विषयमा केही समस्या थिए, जसलाई लिएर नेपाली कांग्रेसले संस्थागत रूपमा गम्भीर विवेचना गर्न चाहेको देखिएन । यसलाई बुँदागत रूपमा निम्नानुसार भन्न सकिन्छ—

१. नेपाली राष्ट्र र राष्ट्रियताका सन्दर्भमा : २००७ सालको आन्दोलनको ठीक अगाडि भएको नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा मन्तव्य व्यक्त गर्ने क्रममा बीपीले भनेका थिए, ‘वास्तवमा नेपाल र भारत दुई देश होइनन् । नेपाल जातीय, धार्मिक र आर्थिक दृष्टिबाट हरेक प्रकारले भारतवर्षकै एउटा प्रमुख अंग रहेको देखिन्छ.।’ र अधिवेशनमा प्रस्तुत गरिएको दस्तावेजमा उल्लेख गरिएको छ, ‘…नेपाल वास्तवमा भारतसित भिन्न छैन । हिन्दुस्तानसित उसको सांस्कृतिक, आर्थिक, धार्मिक, सामाजिक र राजनीतिक सम्बन्ध सदासर्वदा अक्षुण्ण रहँदै आएको छ । नेपाललाई नक्कली ढंगले शेष भारतदेखि स्वतन्त्र र भिन्न घोषित गर्नमा अंग्रेजहरूको र हाम्रो वर्तमान शासक वर्गको जुन स्वार्थ सिद्ध हुन्छ, त्यो कुरो सबैमा विदित छ र प्रसंगवश त्यसको उल्लेख पनि हुनेछ (कोइराला, मा.प्र., २०७२, २००६ नेपाली कांग्रेसको एकता महाधिवेशन, नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरू, पृ. ४५) । आन्दोलन सम्पन्न भएपछि उनको अनुभूतिमा बदलाव आएको देखिन्छ । किन यस्तो हुन पुग्यो भन्नेबारे राजनीतिक तथा रणनीतिक कारणहरूको सूक्ष्म विश्लेषण आवश्यक थिएन ? के अहिले पनि त्यसको सान्दर्भिकता सकिएको हो ?

राजनीतिबिनाको महाधिवेशनमा जुनसुकै व्यक्तिले जिते पनि लोकतन्त्रमाथि आइरहेको संकट कसरी समाधान हुन्छ र ?

२. आन्दोलनको हिंसात्मक चरित्रका सन्दर्भमा : बीपी वैचारिक हिसाबले कार्ल माक्र्सबाट प्रभावित थिए । खासमा राममनोहर लोहिया, जयप्रकाश नारायण, आचार्य कृपलानीजस्ता भारतीय समाजवादी व्यक्तित्वहरूको संगतले उनलाई समाजवादतर्फ डोर्‍याएको थियो भने आन्दोलनको हिसाबले गान्धी नेतृत्वको भारतीय कांग्रेसको अहिंसात्मक संघर्षले । उनले जहिले पनि अहिंसात्मक आन्दोलन भनिरहे तर उनकै अगुवाइ र निर्देशनमा हिंसात्मक युद्ध भए, चाहे त्यो २००७ को होस् या २०१८ को वा २०२९–३० कै किन नहोस् । किन त्यस्तो भयो ? भियतनामका क्रान्तिकारी नेता हो ची मिन्हले झैं शत्रुको प्रकृति हेरेर हिंसात्मक कि अहिंसात्मक भन्ने निक्र्योल गर्न पुगेका थिए बीपी ? के यो विषयलाई अझै गम्भीरतापूर्वक पर्गेल्न आवश्यक छैन ? झापाली हिंसात्मक आन्दोलन र माओवादीको जनयुद्ध किन भए अनि भविष्यका आन्दोलनहरूको स्वरूप कस्तो हुन सक्ला भन्ने बुझ्न पनि त्यसको समीक्षा आवश्यक छैन ?

३. राजतन्त्रलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा : दस्तावेजहरूले भन्छन्— बीपी राजा र राजतन्त्रप्रति नरम थिए । २००७ को क्रान्तिअगाडि होस् या पछाडि, २०१७ को राजा महेन्द्रको ‘कु देता’ पछि होस् या २०३५–३६ को आन्दोलनको अघिपछि, उनी संवैधानिक राजतन्त्रका पक्षमा सधैं अडिग रहे । नेपालका सन्दर्भमा राजतन्त्र कहिल्यै संवैधानिक बन्न चाहेन, चाहे २००७ पछिका राजा त्रिभुवन र महेन्द्र होऊन् या २०३५–३६ तथा २०४६ पछिका वीरेन्द्र र ज्ञानेन्द्र । के राजतन्त्रलाई हेर्ने उनको यो राजनीतिक सुझबुझबारे समीक्षा आवश्यक छैन ?

४. आर्थिक–सामाजिक रूपान्तरणका सन्दर्भमा : नेपाली कांग्रेसले अहिलेसम्म पनि आफूलाई प्रजातान्त्रिक समाजवादी दाबी गर्ने गरेको छ । बीपीको प्रधानमन्त्रित्वमै बिर्ता, गुठी, किपट खारेज भएका थिए । इतिहासकारहरूका दाबीअनुसार, क्रान्तिकारी भूमिसुधारको कुरा बीपीले नै अगाडि सारेका थिए । ‘कु देता’ पछि राजा महेन्द्रले गरेको भूमिसुधार बंग्याइएको (डिस्टोर्टेड) थियो । तर नेपाली कांग्रेस नेपालको आर्थिक–सामाजिक रूपान्तरणका लागि कुन वाहक संस्थाको आडमा कसरी राज्यको पुन:संरचना चाहन्थ्यो भन्नेमा प्रस्ट थिएन । जस्तो- २००७ मा जारी कांग्रेसको घोषणापत्रमा ‘५ प्रतिशतको हातमा देशको अधिकांश भाग हुनु र अन्य ९५ प्रतिशत भूमिहीन रहनुजस्तो अन्यायपूर्ण व्यवस्थालाई बदल्न ठूलाठूला जमिनदार वा बिर्तावालको जमिन परिश्रमी किसान वा खेती मजदुरमा बाँडिदिनुपर्छ’ भनिएको छ । तर कसरी को वाहक भएर वा कसको नेतृत्वमा भन्दा बीपी लेख्छन्, ‘हाम्रो घोषणापत्रअनुसार हाम्रो नया शासनको वैधानिक नायक महाराजाधिराज हुनुहुनेछ । नेपाली कांग्रेसको शासन उहाँकै नाममा, उहाँद्वारा प्रदत्त अधिकारको बलले प्रत्येक जिल्लामा कायम हुनेछ’ (कोइराला : राजनीतिक अभिलेख, पृ. २७)। २०१२ सालमा सम्पन्न महाधिवेशनमा कांग्रेसले प्रजातान्त्रिक समाजवादी लक्ष्यलाई कोसेढुंगो मानेको छ ।

तर नेपाली कांग्रेसका अविचलित समाजवादी अभियन्ता मानिने प्रदीप गिरिका विचारमा, त्यो दस्तावेज होस् या त्यसपछिका अन्य लेखोटमा समाजवादको सन्तोषजनक व्याख्या गरिएको छैन । उनी लेख्छन्, ‘मुस्किलले एक–दुई प्याराग्राफमा समाजवादको चर्चा छ, होइन भने अधिवेशन र घोषणापत्रले अघि सारेका प्रस्तावहरू एउटा उदारवादी राजनीतिक दलले अगाडि सार्न सक्ने खालका छन्’ (प्रदीप गिरि, ‘नेपाली कांग्रेसको एतिहासिक पृष्ठभूमि’, नेपाली कांग्रेसका ऐतिहासिक दस्तावेजहरू–१६, २०७२) । यसरी हेर्दा नेपाली कांग्रेसको समाजवादको सैद्धान्तिक र कार्यक्रमिक जग कति फितलो थियो, बुझ्न सकिन्छ । तर यसबारे नेपाली कांग्रेसको पार्टी जीवनमा कहिल्यै गम्भीर छलफल गरिएको देखिन्न ।

५. राजनीतिक कार्यदिशाका सन्दर्भमा : समाजवादबारे मात्र होइन, तत्कालीन राजनीतिक कार्यदिशामा पनि उनले लिएको निर्णय ठीक थिएन । २०३७ को जनमतसंग्रहमा कांग्रेसकै नेतृत्वमा बहुदलको पक्षमा संयुक्त रूपमा प्रचार अभियान चलाउन वामपन्थी पार्टीका शीर्ष नेताहरूले गरेको आग्रहलाई बीपीले अस्वीकार गरे । संयुक्त रूपमा प्रचारात्मक जनअभियान चलाइएको भए सम्भवत: १० वर्षअघि नै मुलुकमा बहुदलीय व्यवस्था पुन:स्थापित हुन सक्थ्यो । प्रस्ट छ, उनी कम्युनिस्टलाई भरोसा गर्दैनथे । तर २०४६ को आन्दोलनबाट उनको राजनीतिक समझ गलत थियो भन्ने पुष्टि हुन्छ । कांग्रेसले यस सम्बन्धमा आजसम्म ठोस समीक्षा गरेको छैन ।

२०४८ सालपछिको नेपाली कांग्रेस

नेपाली कांग्रेसले जहिल्यै कांग्रेसभित्रको राजनीतिक तथा वैचारिक स्रोत बीपी थिए भनेर वकालत गर्दै आएको छ । हुन पनि सुन्दरीजल जेलबाट बाहिरिएपछि बीपीको सैद्धान्तिक–वैचारिक प्राधिकारलाई मुखर रूपमा चुनौती दिन संगठनभित्र कोही देखा परेन । पहिला निरंकुश राजतन्त्रले सृजना गरेको खडेरीमा उम्रिन नपाएको पनि हुन सक्छ । २०४८ पछि नवउदारवादी पुँजीवादले कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद नभनीकनै विसर्जनमा धकेल्यो । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका पुराना नेता ढुण्डीराज शास्त्रीले धेरै वर्षपछि सत्य कुरा उजागर गरेका छन् । उनी लेख्छन्, ‘नेपाली कांग्रेसले होइन, शक्तिशाली प्रधानमन्त्री र केही मन्त्री अर्थात् सरकारले उदार बजारमुखी अर्थतन्त्र, अर्को शब्दमा पुँजीवादी प्रजातन्त्रको बाटो लिने निर्णय गरेको थियो । यो नेपाली कांग्रेसको इतिहासको सबैभन्दा गलत निर्णय थियो’ (कांग्रेसले बिराएको बाटो, २०७८ मंसिर २१, कान्तिपुर) ।

झापाको कलबलगुडीमा भएको महाधिवेशनले पार्टी सभापति छानेका कृष्णप्रसाद भट्टराई र उनको नेतृत्वको कांग्रेस पार्टीको केन्द्रीय कमिटीको, त्यो ‘पाराडाइम सिफ्ट’ हुने गरी गरिएको अर्थात् दूरगामी महत्त्वको आर्थिक–सामाजिक फड्को मार्ने निर्णयमा, कुनै हात थिएन । बहुदलीय व्यवस्थामा दल बहिष्कृत भएको थियो; संस्थालाई पन्छाइएको थियो; लौहपुरुष गणेशमानको भाषामा, ‘पुच्छरले कुकुर हल्लाएको थियो’ । र यो पाराडाइम सिफ्ट बीपीको ‘महामानव’ रूपी देवत्वकरणबाट सुरु गरियो । बीपी प्रतिपादित सिद्धान्त र विचारलाई पाठ गर्न नपर्ने ‘गीता’ बनाइयो । राजनीतिक भाषणमा ‘आदर्श घरको, घरनजिकै खेतीपातीको, दुधालु एउटा लैनो गाई र दूधभात खाएर स्कुल जान पाएका स्वस्थ दुई बालबालिकाको सजीव चित्रण’ गर्न छुटाइएन । बीपीले यस्तो आदर्श घरपरिवार कसरी सम्भव छ भनेर व्याख्या गरेका छैनन् । यद्यपि उनको यो आदर्श परिवारको कथन नवउदारवादी पुँजीवादको ३० वर्षे अवधिमा साकार हुने सम्भावना थिएन र भएन पनि । बजार पुँजीवादबाट यस्तो आदर्श परिवारका स्थापना सम्भव छैन भन्नेमा बीपी कम्तीमा ‘कन्भिन्स्ड’ थिए, जोन मेनार्ड किन्सद्वारा प्रतिपादित लोककल्याणकारी राज्य अर्थात् राज्य पुँजीवाद नभईकन त्यो सम्भव छैन भन्नेमा प्रस्ट थिए ।

कांग्रेसनजिकका बौद्धिकहरूका कृति पढ्दा लाग्छ, चौधौं महाधिवेशनको मुखमा आएर मात्र कांग्रेस अनुदारवादी हुँदै छ । तर यो पंक्तिकारलाई लाग्छ, गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०४८ मा बनेको पहिलो सरकारपछि नै यसले आफ्नो पहिचान पूर्ण रूपमा फेर्‍यो । खास कुरा उसले ‘लोकतन्त्र भनेकै भोट’ हो भन्ने आन्तरिक रूपमा संकुचित सिद्धान्तको अनुसरण गर्न थाल्यो । लोकतन्त्र भोटभन्दा पनि अरू धेरै कुरा हो । लोकतन्त्र समाजमा आइपर्ने संकटहरू समाधान गर्न चलाइने छलफल र बहस हो; व्यक्ति र समाजको उत्थान र विकासका लागि, संकट समाधानका लागि राज्यले नीतिगत, कार्यान्वयनगत र संस्थागत रूपमा लिने अग्रसरता हो; त्यसको कार्यान्वयनले आम मानिसको जीवन पद्धतिमा कति फरक पारेको छ भनेर गरिने मूल्यांकन हो । यस्तो बहसले मानिसलाई भविष्यद्रष्टा बनाउन मद्दत गर्छ, भिन्न विचार भएकालाई एक ठाउँमा ल्याउँछ, एकअर्काबाट सिक्न र साझा समझदारी बनाउन अनि झगडालुहरूबीच समझदारी बनाउन सहयोग पुर्‍याउँछ । कांग्रेसभित्र ‘चौहत्तरे’ र ‘छत्तीसे’ को कुरा त्यही समयमा आयो अनि पार्लियामेन्ट्री पार्टीको बहुमतले ‘छत्तीसे’ लाई निषेध गर्‍यो । प्रस्ट थियो, यो कांग्रेसको २०१२ सालमा घोषणा गरिएको छिपछिपे समाजवादमाथि नवउदारवादी बजारको विजय थियो ।

कांग्रेसले यसरी संस्थागत गरेको नवउदारवादी पुँजीवादी संरचनालाई कथित वामपन्थीहरूले पनि पछ्याए, अनवरत पछ्याइरहे । अनि सुरु भयो, गरिबले धनीका लागि कमाएर तिर्ने अभियान । पञ्चायतमा भन्दा पनि महँगो हुँदै गयो चुनावी लोकतन्त्र । गरिब र स्वाभिमानी कार्यकर्ताले चुनाव लड्ने कुरा कल्पनाभन्दा बाहिरको हुन पुग्यो । लोकतन्त्रमा निजी क्षेत्रको भरपूर लगानी सुरु भयो । चन्दा दिएर आफ्नो हकमा वा कर्पोरेटहरूको हकमा कानुन र नीतिनियम बनाउन थालियो । अब व्यापारी र उद्योगीहरू आफैं दल, संसद् र मन्त्रिमण्डलमै प्रवेश गरेर नीतिनिर्माणमा निर्णायक बन्न थाले । करको दायरा बढाउने नाममा सर्वसाधारणलाई उपभोगका आधारमा कर (फ्ल्याट ट्याक्स) लगाइयो अनि धनाढ्य तथा कर्पोरेटहरूलाई कर छुट र मिनाहा गर्ने काम गरियो । वैदेशिक, निजी तथा कर्पोरेट लगानी नभई देश विकास हुन्न भन्ने राष्ट्रिय मानसिकता बनाइयो र हुँदाहुँदा कृषि तथा खुद्रा व्यवसायमा समेत वैदेशिक लगानी निम्त्याइयो । देश ‘डच डिजिज’ मा फस्दै गयो । उत्पादन बढाएर वस्तु बेच्नुको सट्टा सस्ता मजदुर निर्यात गर्न थालियो । शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सूचना र यातायात व्यवस्थापन सबै सार्वजनिक वस्तुलाई बजारिया बनाइयो । पार्टी कार्यकर्ताहरू सैद्धान्तिक–वैचारिक हिसाबले अराजनीतिक (अपोलिटिकल) वस्तु बने ।

यसो झारा टार्ने गरी सिद्धान्त, कार्यक्रम र केही राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कर्मकाण्डबाट कार्यकर्तालाई नेपाली कांग्रेसले चौधौं महाधिवेशनबाट मुक्ति दिएको छ (भन्नलाई विधान अधिवेशन पछि गर्ने भनिएको छ) । नेतृत्व छान्ने आधार सिद्धान्त, कार्यक्रम कार्यान्वयन गर्ने संस्थागत परिपाटी नै नरहेपछि जनताप्रतिको जिम्मेवारी, राजकीय संस्थाहरू (कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाबीचको) सन्तुलित समन्वय, विज्ञ र नागरिकहरूप्रतिको जवाफदेही पनि बाँकी रहन्न । राजनीतिबिनाको महाधिवेशनमा जुनसुकै व्यक्तिले जिते पनि लोकतन्त्रमाथि आइरहेको संकट कसरी समाधान हुन्छ र ? -कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार