असार २५, २०८२ बुधबार July 9, 2025

दीर्घजीवनको खान्की ढाँचा – डा. सुभाष पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

युनिभर्सिटी अफ् क्यालिफोर्निया, लस एन्जलसको प्याथोलोजीका प्राध्यापक रोय बाल्फोर्डले झन्डै चार दशकअघि ‘द १२० इएर डाएट’ पुस्तक लेखे।

औसत आयु ६० वर्ष पनि नभएको तात्कालीन अवस्थामा आफ्नो सल्लाह पालन गरे मानिस १२० वर्ष बाँच्छ भन्ने दाबी गरेका थिए उनले उक्त किताबमा। पाको उमेरसम्म स्वस्थ जीवन व्यतीत गर्न पर्याप्त सन्तुलित खाना,सुविधा सम्पन्न अस्पताल तथा ओखतीको पहुँच आवश्यक हुन्छ भन्ने सोच भएको अवस्थामा खान्कीको मात्रा घटाउँदा दीर्घजीवी बनिन्छ भन्ने विपरीत धारको सन्देश बोकेको थियो उक्त पुस्तकले।

सामान्य मानिसलाई दैनिक २ हजार क्यालोरी आवश्यक पर्छ भन्ने संहिता भएको समयमा १५ सय क्यालोरीमा नबढ्ने गरी भोजन गरे शताब्दी नागरिक बनिने दाबी थियो अनुसन्धानकर्ता डाबाल्फोर्डको।

‘एन्टी एजिड’ भन्ने शब्दले संसारभर मूलमन्त्रको रूप लिँदो छ। आफ्नो वास्तविक उमेरभन्दा कम देखिन मद्दत गर्ने तत्त्वलाई एन्टी एजिङ एजेन्ट भनिन्छ।

मुख तथा छालालाई भर्खरको बनाउने दाबीका साथ धेरै किसिमका एन्टी एजिङ क्रिम बजारमा बिक्री हुन्छन्। फलानो तथा ढिस्कानो खाँदा भर्खरको देखिन्छ भनी एन्टी एजिङ खान्कीको पनि चर्चा हुन्छ नै।

भर्खरका बच्चाका मुटु, फोक्सो, कलेजो, मिर्गौला लगायत अंग तन्दुरुस्त हुन्छन्। बच्चामा सकुशल देखिने तन्तुहरूमा उमेरको बढोत्तरीसँगै समस्या देखिन थाल्छ। उमेर ढल्कँदै जाँदा अनुहार चाउरिने, आन्तरिक तन्तु जीर्ण बन्ने अनि रोगसँग लड्न चाहिने प्रतिरोधात्मक बल समेत शिथिल हुँदै जान्छ।

बुढेसकालमा देखिने सामान्य पाकोपनको बदला आफ्नो उमेरको दाँजोमा बाह्य शारीरिक स्वरूप तथा आन्तरिक तन्तु दुवै भर्खरको देखिने अवस्थालाई एन्टी एजिङ भनिन्छ। आफ्नो उमेरभन्दा भर्खरको देखिने व्यक्ति लामो समयसम्म बाँच्ने भएकाले त्यस्तो परिस्थितिलाई दीर्घजीवी पनि भन्न सकिन्छ।

लामो समयसम्म स्वस्थ जीवन जिउने इच्छा कसको हुँदैन र ? वृद्धावस्थामा शारीरिक अस्वस्थता तथा मानसिक समस्या देखिनु अस्वाभाविक होइन। पाको मानिसमा देखिने समस्यालाई कसरी न्यून गर्न सकिन्छ भनी धेरै अध्ययन अनुसन्धान भइरहेका छन्।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो अनुसन्धान समन्वय निकाय ‘नेसनल इन्स्टिच्युट अफ् हेल्थ’ले प्रौढावस्थामा देखिने समस्या न्यूनीकरणका खातिर बेग्लै अन्वेषण निकाय ‘नेसनल इन्स्टिच्युट अन एजिङ’ खोल्यो।

अमेरिका लगायत संसारका विभिन्न विकसित मुलुकले वृद्धावस्थाका समस्या समाधानका खातिर लामो समयदेखि अन्वेषण गरिरहेका छन्। तथापि ‘एन्टी एजिङ’का सम्बन्धमा भएका अन्वेषणले खासै ठूलो फड्को मार्न सकेको देखिन्न। त्यस्तो अवस्थामा अन्य विकल्पको खोजी हुनु अस्वाभाविक भएन।

दीर्घजीवी बनाउने दाबी गरिएका धेरै ओखती बजारमा आए, चर्चा बटुले। ऋषिमुनिहरू फलफूल तथा कन्दमूलको भरमा हजारौँ वर्षसम्म तपस्या गर्थे भन्ने शास्त्रका आधारमा फलानो फलानो खान्कीले दीर्घजीवी बनिन्छ भन्ने धारणा आयो।

ल्याब परीक्षणका आधारमा यस्तो केमिकलले जीवको सर्वाधिक महत्त्वपूर्ण आनुवंशिक पदार्थलाई तन्दुरुस्त राख्ने भएकाले यस्तो रासायनिक पदार्थ भएको खान्की खाए धेरै बाँच्ने दाबा गरिनु अस्वाभाविक भएन। यद्यपि, हालसम्म प्रकाशित अनुसन्धानात्मक तथ्यांकलाई विश्लेषण गर्दा कुनै पनि रासायनिक पदार्थ,खान्की तथा ओखतीको सेवनले व्यक्तिलाई पक्का दीर्घजीवी बनाउँछ भन्ने ठोस आधार देखिन्न। यसै सन्दर्भमा गत महिना युनिभर्सिटी अफ बासिंगटन, सियाटलका अनुसन्धान समूहले जर्नल साइन्समा एउटा समीक्षात्मक लेख प्रकाशित गरे।

खानाको प्रकृति,मात्रा र आयुको अन्तर्सम्बन्ध स्थापनाका खातिर विगतमा सार्वजनिक भएका दर्जनौँ लेखको भावलाई संश्लेषण गरी आएको उक्त समीक्षाको चर्चा सान्दर्भिकदेखि पस्कने जमर्को गरे।

डाएटिसियनले निर्देशित गरेभन्दा पृथक् मात्रामा खान्की दिँदा ल्याब एनिमलको आयुमा के कस्तो परिवर्तन आउँछ भनी अध्ययन गर्दा अनौठो परिणाम देखियो। संहिता मुताबिक तथा तोकिएभन्दा अधिक भोजन गर्ने मुसाभन्दा डाएटिसियनले तोकेको भन्दा २५ प्रतिशत कम खान्की खाने प्राणी लामो समय बाँचेको मात्र देखिएन,उनीहरू अधिक स्वस्थ देखिए।

यही प्रयोगशाला परीक्षण नै प्राध्यापक रोय बाल्फोर्डको ‘द १२० इएर डाएट’ भन्ने पुस्तकको आधार थियो। मानिस र मुसाका बायोलजिकल सिस्टम समान भएकाले कम खाना खाएर दीर्घजीवी बनौँ भन्ने तर्क गरेका थिए, डा. वाल्फोर्डले। मुसामा गरिएको परीक्षणले सकारात्मक परिणाम दिएपछि चिकित्सकले आफ्ना बिरामीलाई दुई हजारको बदला १५ सय क्यालोरी बराबरको खाना मात्र सेवन गर्न सल्लाह दिनु अस्वाभाविक भएन।

डाक्टरी परामर्शलाई अक्षरसः पालन गर्ने नागरिकको स्वास्थ्यमा धेरै सुधार देखियो। चिकित्सकको सल्लाहपालन गरी कम खान्की खाने बिरामीको वजन मात्र घटेन,बरु मोटापासँग जोडिएर आउने उच्च रक्तचाप,मधुमेहजस्ता दीर्घरोग समेत सुषुप्त भए।

विगतमा उच्च रक्तचाप तथा मधुमेहका कारण ओखती खान बाध्य बिरामी सामान्य बने। यसरी क्यालोरिक रेस्ट्रिक्सनमार्फत क्रोनिक रोगको सम्भाव्यता कम हुनेबित्तिकै मानिसको औसत आयु बढ्न अस्वाभाविक भएन।

आधुनिक समाजमा स्वस्थ जीवनका लागि दैनिक चारपटक खान आवश्यक छ भन्ने सोच विकास भयो। तर,परिस्थितिको विश्लेषण गर्दा जंगली परिवेशमा सभ्यता विकास गरेको मानवका लागि सिकार गर्न सके पर्याप्त खाने नत्र भोकै बस्ने अवस्था आउँथ्यो। तसर्थ, प्रतिकूल अवस्थामा आफूलाई परिमार्जन गरेको मानवलाई नखाई बस्दा प्रतिकूल प्रभाव पर्छ वा पर्दैन भनी पत्ता लगाउन जरुरी थियो। त्यसै क्रममा सन् १९९७ मा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ् विस्कान्सनका डा.रिचर्ड विन्डरच लगायतका वैज्ञानिकको समूहले मुसालाई अनुसन्धान जीवको रूपमा प्रयोग गर्दै खानाको ढाँचा र प्राणीको आयुको अन्तर्सम्बन्ध स्थापित गर्दै एउटा लेख प्रकाशित गरे। ‘न्यु इंग्ल्यान्ड जर्नल अफ् मेडिसिन’मा प्रकाशित मुसामा गरिएको उक्त अनुसन्धानको निचोडले मेडिकल साइन्समा खलबली ल्यायो।

उक्त अनुसन्धानमा मुसालाई दुई समूहमा विभक्त गरी प्रत्येक समूहलाई दैनिक एकै प्रकृतिको खान्की बराबर मात्रामा दिइयो। त्यसमध्येको एउटा पक्षलाई दिनभर थोरैथोरै खाना दिइरहियो भने अर्को ग्रुपलाई उल्लिखित मात्राको भोजन एकैपटक दिई बाँकी २० घन्टा भोकै राखियो। खानपिनले मुसाको आयु र स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने ठहर गर्न दुवै खेमाका जीवलाई जीवनभर एकै खुराकको ढाँचामा राखियो।

उक्त संहितामा रहेकामध्ये दिनको चार घन्टा खान पाउने अनि बाँकी अवधि भोकै बस्न बाध्य भएका अथवा ‘इन्टर्मिटेन्ट फास्टिङ’मा रहेको समूहका मुसा धेरै समय मात्र बाँचेनन्,अर्को पक्षभन्दा स्वस्थ समेत देखिए। मुसामा गरिएको उक्त अनुसन्धानको निचोड मेडिकल साइन्सको त्यसबेलाको संहिताभन्दा नितान्त फरक थियो। उक्त परिणामपछि विभिन्न जीवमा गरिएको ‘इन्टर्मिटेन्ट फास्टिङ’का अनुसन्धान सबैले सकारात्मक परिणाम दिए।

यसरी ल्याब एनिमलको प्रयोगले सकारात्मक परिणाम दिएपछि उक्त अन्वेषणको परीक्षण गर्न तयार भए चिकित्सकहरू। नभन्दै झन्डै १६ घन्टा पानीको सहारामा भोकै बस्ने अनि बाँकी आठ घन्टाको अवधिमा आवश्यक क्यालोरी सेवन गर्ने मानिसको स्वास्थ्यमा निकै सुधार देखियो।

‘इन्टर्मिटेन्ट फास्टिङ’ गर्दा किन फाइदा हुन्छ त? ग्लुकोज तथा चिल्लो पदार्थ प्राणीलाई चाहिने ऊर्जाका मुख्य स्रोत हुन्। खानामार्फत शरीरमा पुगेपछि ग्लुकोजको दहन प्रक्रिया सुरु हुन्छ भने बोसो ‘एडिपोज टिस्यु’मा ‘ट्राई ग्लिसराइड्स’को रूपमा भण्डारण हुन्छ।

ग्लुकोज र चिल्लो दुवै उपलब्ध भएको बखत ऊर्जाको आपूर्ति गर्ने काम ग्लुकोजको हो। दैनिक धेरैपटक खाना खाँदा ग्लुकोजले ऊर्जाको आपूर्ति गर्ने भएकाले चिल्लो पदार्थको भण्डार बढ्दै जान्छ, मानिस मोटो हुँदै जान्छ।

‘इन्टर्मिटेन्ट फास्टिङ’का बेला परिस्थिति फेरिन्छ। शरीरले लामो समयसम्म खाना नपाउँदा इनर्जीका लागि ग्लुकोज उपलब्ध हुँदैन। त्यस्तो अवस्थामा शरीरमा रहेको ‘ट्राई ग्लिसराइड्स’ले ऊर्जाको आपूर्ति गर्नुपर्ने हुन्छ। त्यही क्रममा ‘ट्राइ ग्लिसराइड्स’ सर्वप्रथम फ्याट्टी एसिड तथा ग्लिसरोलमा टुक्रन्छ। त्यसपछि फयाट्टी एसिडलाई कलेजोले ‘किटोन’मा रूपान्तरण गर्छ।

अन्त्यमा किटोनले ऊर्जाको आपूर्ति गर्छ। उल्लिखित दहन प्रक्रिया हेर्दा ग्लुकोज उपलब्ध हुन्जेल शरीरको बोसो पग्लने अवस्था आउन्न। तसर्थ, शरीरमा बोसोको मात्रा घटाउने हो भने कम्तीमा १२–१४ घन्टा निराहारी व्रत बस्नु अपरिहार्य हुन्छ। मोटोपन घटेपछि व्यक्ति स्वस्थ र दीर्घजीवी हुने नै भयो।

अत्यावश्यक न्युट्रिएन्ट प्रोटिन, कार्बोहाइड्रेट तथा फ्याटको आवश्यक सन्तुलनको बदला मुख्य खान्कीका रूपमा फ्याट सेवन गरेका मुसा समकक्षीको तुलनामा खासै दीर्घजीवी देखिएनन्। यसरी फ्याटलाई मुख्य खान्कीका रूपमा दिइने भोजनलाई ‘किटो डाएट’ भनिन्छ।

जनावरमा गरिएको प्रयोगले किटो डाएटको प्रभावकारिता सिद्ध गर्न सकेको देखिएन। अनि,किटो डाएटमा बसेका व्यक्तिको स्वास्थ्य आँकडाले समेत ठोस नतिजा दिएको देखिएन।

जनावरमा गरिएको परीक्षण तथा आवधिक रूपमा संकलित मानव तथ्यांकको विश्लेषण गर्दा आवश्यकताभन्दा कम भोजन गर्ने तथा लामो समयको अन्तरालमा खाना खाने व्यक्तिहरू दीर्घजीवी देखिए।

क्यालोरिक रेस्ट्रिक्सन तथा इन्टर्मिटेन्ट फास्टिङ गर्दा वजन तथा बायोकेमिकल सन्तुलन दुवै सकारात्मक दिशामा रहने भएकाले उक्त संहितामा बस्ने मानिसहरू दीर्घजीवी हुनु अस्वाभाविक भएन।

आनुवंशिक भिन्नता तथा वातावरणीय प्रभावका कारण सबै मानिसमा क्यालोरिक रेस्ट्रिक्सन तथा इन्टर्मिटेन्ट फास्टिङ उत्तिकै प्रभावकारी नहुन सक्छ भन्ने कुरा भने सबैले हेक्का राख्न आवश्यक देखिन्छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार