काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा माधवकुमार नेपालनिकट रहेका नेतालाई भने ‘बाइपास’ गरेका छन् । अधिकांश उपाध्यक्षलाई नाम मात्रको जिम्मेवारी दिइएको छ ।
यस्तै, एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेतालाई पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
२५ र २६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम निर्धारण गरेको हो । बैठकले स्थायी कमिटी, पोलिटब्युरो गठनका साथै प्रदेश कमिटीको पदाधिकारीसमेत चयन गरेको अध्यक्ष ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानी–१)मा उल्लेख छ ।
अध्यक्ष ओलीले आफ्नो जिम्मेवारीअन्तर्गत पार्टीको समग्र नेतृत्व गर्ने राखेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल ओलीभन्दा पनि राष्ट्रपति भण्डारीसँग निकट छन् ।
उपाध्यक्षहरू युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह, अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय, रामबहादुर थापा बादललाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टीको सांगठनिक कामको अनुगमन, सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिला संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।
यसपटक पार्टीको जिम्मेवारीमा सबैभन्दा बढी उपाध्यक्षलाई खुम्च्याइएको छ । उनीहरूलाई पार्टीका विभिन्न विभागको संयोजन गर्ने जिम्मेवारी मात्रै दिइएको छ । नवौं महाधिवेशनपछि उपाध्यक्षले भूगोलको समेत इन्चार्जको जिम्मेवारी पाएका थिए ।
महासचिव शंकर पोखेरलले पार्टीको सांगठनिक कामको संयोजनको जिम्मेवारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी उपमहासचिव प्रदीप ज्ञवालीलाई दिइएको छ । ज्ञवाली ओलीनिकट नेता हुन् । यस्तै, प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले पाएका छन् ।
अर्का उपमहासचिव विष्णु रिमालले दुईवटा मुख्य जिम्मेवारी पाएका छन् । उनलाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको प्रमुख बनाइएको छ । रिमाल पनि राष्ट्रपति भण्डारीनिकट हुन् ।
पार्टी सचिव टोपबहादुर रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखको जिम्मेवारी पाएका छन् भने यससँग सम्बद्ध संगठनको उनी इन्चार्ज बनेका छन् । अर्का सचिव लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पाएका छन् । रायमाझी र भट्ट पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सचिवको वरियताक्रममा उनीहरू पहिलो र दोस्रो रहेका छन् ।
यस्तै, सचिव गोकर्ण विष्ट ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागको इन्चार्ज बनेका छन् । उनी यसअघि मोर्चा विभाग प्रमुख थिए । अर्का सचिव योगेश भट्टराई स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख बनेका छन् । यसअघि उनी प्रचारप्रसार विभाग प्रमुख थिए । सचिवको मर्यादाक्रममा विष्ट र भट्टराई क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
सचिव रघुवीर महासेठ प्रदेश २ को इन्चार्ज बनेका छन् भने अर्का सचिव छविलाल विश्वकर्माले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् । सचिव पद्मा अर्याल गण्डकी प्रदेश इन्चार्ज बनेकी छन् ।
पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको प्रमुख स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाएका छन् । अधिकारी राष्ट्रपति भण्डारीसँग पनि निकट मानिन्छन् । नवौं महाधिवेशपछि एमालेमा संगठन विभागको प्रमुखको जिम्मेवारीमा तत्कालीन उपमहासचिव विष्णु पौडेल रहेका थिए ।
स्थायी कमिटी सदस्य देवराज घिमिरेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी बाग्मती इन्चार्ज बनेका छन् । स्थायी कमिटी सदस्य यमलाल कँडेल कर्णाली इन्चार्ज बनेका छन् ।
महत्वपूर्ण मानिने परराष्ट्र मामिला विभागको प्रमुखमा राजन भट्टराईलाई दिइएको छ । स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे संसदीय विभागको प्रमुख भएकी छन् ।
जिम्मेवारी बाँडफाँटको आधार हेर्दा ओलीले आफूनिकट मानिएका उपाध्यक्षद्वय पौडेल र नेम्वाङलाईसमेत महत्वपूर्ण जिम्मेवारी नदिइएको चर्चा एमालेभित्र भइरहेको छ । १०औं महाधिवेशनमा पौडेलको दाबी महासचिवमा थियो भने नेम्वाङको दाबी वरिष्ठ उपाध्यक्षमा रहेको थियो । तर, ओलीले दुवैलाई उपाध्यक्षमा ल्याएर राष्ट्रपति भण्डारीनिकट मानिने नेता ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाएका थिए ।
पूर्वउपमहासचिव रहेका नेता घनश्याम भुसालले अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै, गुरुप्रसाद बराल शिक्षा विभाग प्रमुख, देवराज घिमिरे प्रदेश १ को इन्चार्जको जिम्मेवारी पाएका छन् भने भीमप्रसाद आचार्य पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । यसअघि प्रदेश १ को इन्चार्ज आचार्य रहेका थिए ।
किरण गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन विभागको प्रमुख, लालबाबु पण्डितले सम्पर्क समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । काशीनाथ अधिकारी बाग्मती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् भने कृष्णगोपाल श्रेष्ठले बाग्मती प्रदेशको सहइन्चार्जका साथै काठमाडौं जिल्लाको इन्चार्जको समेत जिम्मेवारी पाएका छन् । अधिकारी र श्रेष्ठ ओलीनिकट नेता हुन् ।राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया