बैसाख २२, २०८३ मंगलबार May 5, 2026

संविधानले अनुमति नदिएको कुरा सदनमा कसरी छिर्छ ? – देव प्रसाद गुरुङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमसीसीबारे प्रधानमन्त्री देउवाले गठबन्धन र सर्वदलीय बैठक बोलाउनुभएको छ । माओवादीको अडान फेरिएको छ कि पुरानै हो ?

यो विषयमा हाम्रो अडान फेरिएको छैन । नेकपा छँदादेखिको नै धारणा राख्ने हो ।

एमसीसी संसद्बाट अगाडि बढाउने बढाउने तयारी भइरहेको अवस्थामा माओवादीभित्र के छलफल भइरहेको छ ?

एमसीसी संसद्बाट अगाडि बढाउने कुरा प्रधानमन्त्रीज्यूको हो । संयुक्त सरकार भएको हुनाले दलहरूको सहमति हुनुपर्‍यो ।
सत्तारुढ गठबन्धनमा रहेका तपाईंहरूले अडान नछोडे त कसरी सहमति हुन्छ ?

त्यसका लागि त सरकारमा रहेका दलहरू बीचमा सहमति जुट्नुपर्ला नि !

एमसीसीलाई संसद्मा अगाडि बढाउन कस्तो सहमति आवश्यक देख्नुहुन्छ ?

सहमतिका लागि पहिलो कुरा सम्झौतामा भएका अन्तरवस्तुमा रहेका असमान सर्त हटाउनुपर्‍यो । सम्झौतालाई समानतामा ढाल्नुपर्‍यो । अर्को शब्दमा भन्ने हो भने एमसीसीलाई आर्थिक परियोजनामा रुपान्तरण गर्नुपर्‍यो । हामीसँग विगतकालको आर्थिक परियोजना, सम्झौताका मोडेल छन् । यूएसएड, डीएफआईडी, जीआईजेड, जाइका, एफडीसीलगायतका सम्झौताका मोडेल छन् । यी सबै सम्झौताको मोडेल आर्थिक प्याकेजको रूपमा गरिएका छन् । विकास सहयोगका रूपमा गरिएका छन् । ती सम्झौता सरकारसँग गरिएका छन् । सरकारले कार्यान्वयन गर्छ । जस र अपजस सरकारमा जान्छ । त्यो अन्तर्राष्ट्रिय मोडेल स्थापित भइसकेको छ । एमसीसी भने आर्थिक परियोजनाभन्दा फरक तरिकाले, रणनीतिक रूपले आकर्षित हुने गरी सदनमा ल्याइएको छ । सदनमा आर्थिक सम्झौता त आउँदैन ।

संसद्मा सैन्य सम्झौता ल्याएर आउने हो । संविधानमा सैन्य रणनीतिक, सीमा, प्राकृतिक स्रोत बाँडफाँट, शान्ति र मैत्री सन्धी छ भने मात्रै सदनमा ल्याउने भन्ने व्यवस्था छ । त्यसकारणले एमसीसी सदनमा ल्याउन खोज्नुको तात्पर्य प्रष्ट छ कि यो सैन्य सम्झौता हो । सैन्य सम्झौता नेपालले गर्न मिल्छ कि मिल्दैन ? भन्दा त्यसलाई संविधानले छेकेको छ । हामी असंलग्न राष्ट्र, पञ्चशीलको सिद्धान्तका पक्षधर हौं । कुनै पनि अन्तर्राष्ट्रिय मुद्दामा युद्धबाट होइन वार्ताबाट हल गरिनुपर्छ, सैन्य गठबन्धनले हुँदैन र हातहतियारको प्रतिस्पर्धा गर्न हुन्न भन्ने त हाम्रो संविधानको मार्गचित्र हो । संविधानको त्यो म्यान्डेट विपरीत ढंगले जान मिल्दैन । संविधानले अनुमति नदिएको कुरा सदनमा कसरी छिर्छ ?

एमसीसी सदनमा प्रवेश गर्न के-के हुनुपर्छ भन्ने तपाईंको धारणा हो ?

सदनमा एमसीसी छिर्नका लागि चारवटा सर्त पूरा गरेको हुनुपर्छ । पहिलो, संविधानसम्मत हुनुपर्‍यो । दोस्रो, अन्तर्राष्ट्रिय कानुनसम्मत हुनुपर्‍यो । अन्तर्राष्ट्रिय कानुन हुनका लागि त बहुपक्षीय रूपमा अन्तर्राष्ट्रिय संगठन निर्माण गर्न गरिएको सम्झौता हुनुपर्छ । यो एउटा कम्पनीसँग गरिएको सम्झौतालाई कसरी अन्तर्राष्ट्रिय कानुन मान्ने ? त्यो मानिँदैन । तेस्रो सर्त, सम्झौतामा नै यो सदनबाट अनुमोदन गरिनेछ भनेर लेखेको हुनुपर्‍यो । सम्झौता पत्रमा बकाइदा यो सदनबाट अनुमोदन गरिने छैन भनेर लेखिएको छ । सम्झौता पत्रमा सदनबाट अनुमोदन गरिने छैन भनेर लेख्ने अनि त्यो भन्दा विपरीत ढंगले संसद्मा ल्याएर आउने ? चौथो, सदनबाट पारित गर्ने विगतको अभ्यास हुनुपर्‍यो ।

विगतको अभ्यास के हो भने आर्थिक सम्झौता कुनै पनि सदनबाट अनुमोदन गर्नुपर्दैन भनेर सरकारले सम्झौता गर्दै, कार्यान्वयन गर्दै आइरहेको छ । मन्त्रिपरषद्ले स्वीकृति दिएर काम अगाडि बढाइरहेको छ । आर्थिक सम्झौता सदनबाट अगाडि बढाउने अभ्यास त छैन । यसरी एमसीसी संसद्बाट अगाडि बढ्ने आधार संविधानमा पनि छैन अन्तर्राष्ट्रिय कानुनमा पनि छैन सम्झौतामा पनि छैन र अभ्यास पनि छैन ।

अब, पाचौं अवस्था भनेको सबै राजनीतिक दलहरूबीच सहमति भएर यसको आधार संविधानमा होस् कि नहोस्, कानुनमा होस् नहोस् र सम्झौतामा जेसुकै होस् भनी दलहरूले राष्ट्रिय सहमति गरेर सदनबाट अगाडि लैजान चाह्यो भने एमसीसी संसद्मा प्रवेश हुने बाटो खुल्छ । त्यसो हुनका लागि सरकारमा भएका दलहरूबीचमा सहमति जुट्नपर्‍यो । सदनमा भएका दलहरूमा सहमति जुट्नपर्‍यो, सडकमा आन्दोलनरत नागरिक समाज र विभिन्न दलहरूबीचमा सहमति जुट्नपर्‍यो । राष्ट्रिय सहमति नजुटिकन कसरी अगाडि बढ्छ ? अरु आधार एमसीसीसँग छैन । सैन्य सम्झौता सदनबाट अगाडि बढाउने कि नबढाउने भन्ने त राजनीतिक दलहरूबीचमा राष्ट्रिय सहमतिको कुरा आएको हो ।

प्रधानमन्त्रीले बोलाएको सत्तारुढ गठबन्धन र सर्वदलीय बैठकमा एमसीसीबारे माओवादीले के कुरा राख्छ ?

पार्टीको जे नीति छ त्यै भन्नुहुन्छ नेताहरूले । हामीले यिनै कुरा भनिरहेका छौं । एमसीसी सदनमा ल्याउने संवैधानिक र वैधानिक व्यवस्था के हो ? भनेर प्रश्न उठाइरहेका छौं । यिनै कुरा राख्छौं ।

माओवादीलाई सभामुख अग्निप्रसाद सापकोटाको प्रयोग गरी एमसीसी रोक्न खोजेको भन्ने आरोप छ नि ?

सभामुखको कुरा संवैधानिक रूपले हेर्ने हो । सभामुखले माथिका चारवटा आधार हेर्नुपर्छ । पहिलो कुरा सदनबाट पारित गर्ने भन्ने उल्लेख सम्झौतामा छ भनेर देखाउनुपर्‍यो । लिखित सम्झौतामा देखाउनुपर्‍यो । अर्को कुरा यो अन्तर्राष्ट्रिय कानुन हो भनेर अन्तर्राष्ट्रिय कानुनको परिभाषाअनुसारको प्रस्ताव हो भन्नुपर्‍यो । होइन भने संविधानमा यो व्यवस्था छ भनेर धारा र दफा उल्लेख गरेर ल्याउनुपर्‍यो । होइन भने नेपालमा भएका सबै राजनीतिक दलहरू बीचमा सहमति छ भनेर देखाउनुपर्‍यो ।

आफू सरकारमा हुँदा हस्ताक्षर गरेको एमसीसी सम्झौता अगाडि बढ्नबाट रोक्न माओवादी नै किन लागेको हो ?

को सरकारमा हुँदा भएको थियो वा थिएन भन्ने तर्क भएन । विषयवस्तुको हिसाबले ठिक थियो कि थिएन भन्ने मूल कुरा हो । त्यो बेलामा एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने भन्ने उल्लेख थिएन । सदनमा प्रस्तुत नगर्ने भनेर सम्झौतामा हस्ताक्षर गरिएको थियो । संसद्मा प्रस्तुत गर्ने भनेर त तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कानुनमन्त्रीले उल्टोपाल्टो व्याख्या गरेर यो अन्तर्राष्ट्रिय कानुन हो भनेर छिराउन खोजेको हो ।

त्यो कसरी आयो भन्दाखेरि एमसीसी सम्झौता हुँदा आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी) गठन भइसकेको थिएन । पछि अमेरिकी सरकारले एमसीसी पनि आईपीएसको हिस्सा हो भनेर घोषणा गर्‍यो । उसको सुरक्षा रणनीतिमा यसलाई पनि राख्ने घोषणा गर्‍यो । आईपीएसको घोषणापत्रमा नै के लेख्यो भने इन्डो प्यासिफिक क्षेत्रका आर्थिक राजनीतिक सामाजिक सम्बन्धि सबै सहायता आईपीएसको हिस्सा हुनेछन् भनेर घोषणा गरियो । त्यसपछि २०१९ को जनवरीमा तत्कालीन नेपाली परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा गरेपछि एमसीसी आइपीएसको हिस्ता हो भनियो । त्यसो भएको हुनाले आइपीएसको हिस्सा हो भनेपछि संसद्बाट अनुमोदन गर्ने भनियो । त्यसका लागि के कुतर्क गरियो भन्दाखेरि अब आर्थिक सहयोग हो । ओलीको पालामा त्यसरी गरिएको व्याख्या र संसद्बाट पारित गर्ने कुरा संविधान विपरीत छ । यो अन्तर्राष्ट्रिय सन्धि सम्झौता भन्दा विपरीत पनि छ ।

एमसीसीलाई लिएर कांग्रेस र माओवादीको विपरीत बुझाइले त सत्तारुढ गठबन्धनमा नै खटपट आउने देखियो नि ?

लोकतन्त्रमा राजनीतिक दलहरूबीच फरकमत रहन्छन् । मतभेद भइरहन्छन् ।

एमसीसीकै कारण गठबन्धन नै भत्किन सक्छ भन्न खोज्नुभएको हो ?

लोकतन्त्रमा मतभेद भइरहन्छन् । सरकार भनेको दलहरूबीचमा आपसी सहमति भएको विषयहरूलाई लिएर अगाडि बढ्ने हो । एकल दलको सरकार त छैन, संयुक्त सरकार छ । संयुक्त सरकारको मान्यतालाई मान्ने हो भने त सहमति भएको कुरा अगाडि बढ्ने हो । संयुक्त सरकारको मान्यता लिएर अगाडि नबढ्ने हो भने अर्कै कुरा भयो ।

एमसीसी संसद्मा प्रस्तुत भएर अस्वीकार भयो भने सरकारको वैधानिकतामाथि प्रश्न उठ्दैन ?

यो सदनमा टेबुल हुने प्रक्रियाबाट गयो भने अदालतमा संवैधानिक प्रश्न पनि उठ्छ । कुन आधारमा अनुमोदन गरियो भन्ने प्रश्न अदालतमा पनि उठ्छ । संविधान विपरीतका कुरा सदनले पारित गर्न त मिल्दैन । कि त स्पष्ट उल्लेख गरेर माथि भनिएका चार आधारमा पारित गरिएको हो भन्नुपर्‍यो होइन भने अदालतमा असफल हुन्छ ।

सरकार भनेको दलहरूको आपसी सहमतिमा गठन भएको हो । सहमति हुँदासम्म त्यसै रूपमा अगाडि बढ्छ भएन भने ज-जसको बीचमा सहमति हुन्छ त्यसरी नै अगाडि बढ्छ । सरकार वैधानिक हुने वा अवैधानिक हुने त तत्कालको व्यवहारिक प्रश्न हो । सरकार गठन, विघटन, पुनर्गठन कुनै सैद्धान्तिक प्रश्न होइन । साझा विषयहरू मिल्ने दलहरूको सरकार बन्छ । बहुमत भए एउटा दलको सरकार बन्छ, त्रिशंकु संसद् भएको अवस्थामा साझा विषयहरू मिलेको अवस्थामा मिल्नेहरूको बीचमा गठबन्धन भएर सरकार बन्छ । विषय मिलेन भने गठबन्धन फुट्छ । यो सामान्य प्रक्रियाको कुरा हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार