बैसाख १३, २०८३ आइतबार April 26, 2026

“निर्वाचनले एमालेभित्र नयाँ जागरण ल्याएको छ, यसपटक बहुमत ल्याउँछौँ” : भानुभक्त ढकाल (अन्तवार्ता)

“जेन–जी आन्दोलन हाइज्याक भयो, देश कमजोर पार्ने षड्यन्त्र रोक्ने शक्ति एमाले हो”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

– निर्वाचन नजिकिँदै छ, तयारी कस्तो भइरहेको छ ?

अहिलेसम्मको तयारी एकदमै राम्रो भइरहेको छ । जनतामा पार्टीका विचार र दृष्टिकोणहरू लिएर जाने एउटा राम्रो अवसर मिलेको छ । विभिन्न कारणले गर्दा अलि सुस्ताएका कार्यकर्ताहरूलाई सक्रिय बनाउने र पार्टीलाई पुनर्व्यवस्थित गर्ने अवसरको रूपमा एमालेले यसलाई लिएको छ । हामी अहिले निष्कृय जस्तै भएका नेता तथा कार्यकर्तालाई जागरुक र धारिलो बनाउने अभियानमा छौँ ।

पार्टीका योजना र एजेन्डा जनताका माझमा पुर्‍याउन यो निर्वाचनले पार्टीभित्र नयाँ जागरण पैदा गर्न सहयोग पुर्‍याएको छ । जनताका बीचमा जाने, उनीहरूका समस्या सुन्ने, बुझ्ने र आफ्ना कमी-कमजोरीलाई सच्याउँदै देशलाई समृद्ध बनाउने योजनाका साथ हामी निर्वाचनको माध्यमबाट जनतामाझ पुगेका छौँ ।

– एमालेको महाधिवेशनपछि नेतृत्व परिवर्तन भएन, उही पुरानै अनुहार दोहोरिए भन्ने टिप्पणी सुनिन्छ । तपाईँ गाउँ जाँदा कार्यकर्ताहरूले यस विषयमा के भनिरहेका छन् ?

यो प्रतिकूल समयमा पनि राष्ट्रको नेतृत्व गर्न सक्ने र राष्ट्रियताको पक्षमा अडान लिन सक्ने पार्टी नेकपा (एमाले) मात्रै रहेछ भन्ने बुझाइ आम कार्यकर्तामा छ । हामीले विधानसम्मत ढङ्गले महाधिवेशन गर्‍यौँ र कार्यकर्ताको सार्वभौमसत्तालाई स्वीकार गरेर नेतृत्व चयन गर्‍यौँ । अहिले एमाले एकताबद्ध र सङ्गठित छ । विगतमा जस्तो टिकट नपाउँदा पार्टी छोड्ने वा अन्तर्घात गर्ने समस्या अहिले छैन ।

पार्टीविरुद्ध निरन्तर भइरहेका प्रहारका विषयमा आम कार्यकर्ता सचेत छन् । यो घडीमा दह्रोसँग उभिने राष्ट्रवादी शक्ति नेकपा (एमाले) मात्रै हो भन्ने बुझाइ तल्लो तहसम्म पुगेको छ । अरू पार्टीहरू अझै पनि दिशाहीन अवस्थामा छन् । हामीले विधिसङ्गत ढङ्गले महाधिवेशन र नेतृत्व चयन सम्पन्न गरेका छौँ, जसले गर्दा पार्टी पुनः जागृत भएको छ । त्यसैले हामी यस पटक बहुमत ल्याउने सङ्कल्पका साथ अगाडि बढेका छौँ ।

– जेन-जी आन्दोलनपछि एमालेमाथि धेरै प्रश्न उठेका छन् । यो घटनाको मुख्य दोषी एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली हुन् भन्ने आरोप पनि लागिरहेको छ । यसबारे के छ भनाइ ?

भदौ २३ गतेको ‘जेन-जी’ आन्दोलन सुरुमा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा थियो, जुन पवित्र थियो । जेन-जी साथीहरूले पवित्र भावनाले शान्तिपूर्ण ढङ्गले आफ्ना मागहरू प्रस्तुत गर्नुभएको थियो । तर, पछि त्यो आन्दोलन ‘हाइज्याक’ भयो भन्ने हाम्रो मान्यता छ । संविधान नै खारेज गर्नुपर्छ भन्ने तहसम्मका जुन गतिविधि भए, ती जेन-जीहरूले उठाएका मुद्दा थिएनन् । आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र अराजकतामा उनीहरूको संलग्नता थिएन ।

घुसपैठ गरेर देशलाई नै धराशायी (कोल्याप्स) पार्ने षड्यन्त्र भएको थियो । एमाले र अध्यक्ष केपी ओलीलाई कमजोर बनाउन सकियो भने राष्ट्रलाई नै कमजोर बनाउन सकिन्छ भन्ने मनसायले यो काम सुनियोजित रूपमा गरिएको थियो । यो कुनै आकस्मिक घटना नभई एउटा सुव्यवस्थित योजना थियो । अहिले हामी जनताका माझमा गएर वास्तविकता बुझाइरहेका छौँ । त्यस्तो जटिल परिस्थितिमा पनि देशभर वडा र पालिका स्तरसम्म सङ्गठित भएर गतिविधि गर्ने पार्टी एमाले मात्र रह्यो । यो देशलाई कमजोर बनाउने प्रयास थियो, जसलाई एमालेले रोक्यो ।

– तर, सामाजिक सञ्जालमा त मुख्य दोषी नै एमाले र अध्यक्ष केपी ओलीमाथि धेरै आरोप देखिन्छ  ?

केपी ओलीले चुच्चे नक्साको नेतृत्व गर्नुभयो र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति जनाउनुभयो । यो कुरा धेरैलाई मन परेको थिएन । अहिले अरू दलहरू रक्षात्मक अवस्थामा पुगेका छन् । आन्दोलनलाई कमजोर बनाउन ‘कमान्डर’ माथि प्रहार गर्ने सुविचारित रणनीति अन्तर्गत हाम्रो नेतृत्वलाई बदनाम गराउन खोजिएको हो । एमालेमाथि धावा बोलिए पनि हामीले पार्टीलाई व्यवस्थित राखौँ । नेतृत्वमाथिको प्रहार राष्ट्रियताको आन्दोलन कमजोर बनाउने खेल हो भन्ने कुरा नेपाली जनताले राम्रोसँग बुझिसकेका छन् ।

– तपाईँ यस पटक तेह्रथुम जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

म तेह्रथुमकै माटोमा जन्मिएर, त्यहीँबाट प्रशिक्षित भई आज यो स्थानमा पुगेको छु । यसअघि मैले समानुपातिक सांसदका रूपमा जिल्लाको सेवा गर्ने अवसर पाएको थिएँ । यस पटक भने आफ्नो जन्मथलोमा पूर्ण रूपमा समर्पित भएर विकास र समृद्धिको नेतृत्व गर्ने सङ्कल्प गरेको छु । म एक पटक तेह्रथुमको कायापलट गर्न आफ्नो क्षमताले भ्याएसम्म लागिपर्नेछु ।

आगामी निर्वाचनमा ‘सूर्य’ चिह्नमा मतदान गरेर यो अभियानमा सामेल भइदिन म सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।

– कायापलट गर्ने भन्नुभयो, तर उम्मेदवार हुँदा आश्वासन दिने र जितेपछि जिल्ला नफर्कने प्रवृत्तिले नागरिकमा निराशा छ । तपाईँका खास एजेन्डा र योजनाहरू के हुन् ?

तेह्रथुममा विकासका कामहरू नभएका होइनन्, तर तिनले जति गति लिनुपर्ने हो, त्यो लिन सकेका छैनन् । धेरै योजनाहरू अधुरा छन् । पार्टीभित्र निर्णय गर्न सक्ने क्षमता भएको नेतृत्व पुग्यो भने विकास निर्माणमा सहज हुन्छ । मैले जिल्लाबाट जुन माया र शिक्षा पाएँ, त्यसको ऋण तिर्ने यो मेरो लागि उत्तम अवसर हो ।

अधुरा योजना पूरा गर्ने र नयाँ प्रभावकारी कार्यक्रमहरू ल्याएर जिल्लालाई समृद्ध बनाउने मेरो पवित्र उद्देश्य छ । यो पाँच वर्ष म पूर्ण रूपमा तेह्रथुमको विकास र सेवामा खर्चनेछु । नेपाल प्रेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया