काठमाण्डौंः तमु ल्होसार गोल्डप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान महिला फुटबल क्लबले जितेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको फाइनल खेलमा जितसँगै क्लबले नगद रु एक लाख ११ हजार १११ राशिको पुरस्कारसहित ट्रफी र मेडल पाएको छ ।
पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई धरान महिला फुटबल क्लबले सडनडेथमा २-१ को गोलअन्तरले गोल गर्दै उपाधि उचालेको हो । उपविजेता टोली पाँचथरले नगद रु ५१ हजार १११ सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
खेलका प्लेयर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित हुनुभयो । त्यस्तै उत्कृष्ट फर्वाड धरानकी समीक्षा मगर, मिडफिल्ड पाँचथरकी प्रमिला राई, डिफेन्स पाँचथरकी रोशनी क्षेत्री, बेस्ट गोलकिपर धरानकी सीमा आले मगर, प्रशिक्षक धरानकी भगवती राना मगर भएका थिए । प्रतियोगितामा छ टिमको सहभागिता थियो ।
गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । बिर्तामोड फुटबल क्लबले आयोजना गरेको प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको छ ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया