असार २६, २०८२ बिहिबार July 10, 2025

‘होम ग्राउण्ड’ मा शतप्रतिशत जितको खोजीमा मनाङ मर्स्याङ्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपालमा विसं २०११ देखि सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको सुरुआत भयो । विभिन्न उतार चढावका बीच घरेलु फुटबलको सर्वोच्च प्रतियोगिताले अहिले ६७ वर्ष पार गरेको छ । ‘ए डिभिजन लिग’ फुटबलको इतिहासमा पहिलो पटक यस वर्ष लिगका तीन खेल राजधानी बाहिर आयोजना हुने भएका छन् ।

लिगको सफल क्लब मनाङ मस्र्याङ्दीले लिगलाई राजधानी बाहिर पोखरामा ल्याउने वातावरण बनायो । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को सहयोग र मनाङको अग्रसरतामा पहिलोपटक ए डिभिजन लिग फुटबल मोफसल फर्किएको हो ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियमलाई मनाङको घरेलु मैदान(होम ग्राउण्ड) मानिएको छ । गण्डकी प्रदेश र पोखरामा मनाङका समर्थक बढी छन् । मनाङको खेल हुनेभएपछि दर्शक रङ्गशालामा उत्साहित हुँदै आउने गर्दछन् ।

समर्थकको बाक्लो उपस्थितिका बीच खेल्दा आफू अनुकूलको नतिजा निकाल्न टोलीलाई सहयोग पुग्दछ । आगामी दिनमा ‘होम एण्ड अवे’ को लिग अवधारणालाई विकास गर्न एन्फाको योजनापछि मनाङले पोखरालाई घरेलु मैदान बनाएको हो ।

मनाङले जारी सहिद स्मारक लिगमा पोखरामा आफ्नो तीन खेल खेल्ने क्रममा पाँचौँ र सातौँ चरणका दुई खेल खेलिसकेको छ । गत पुस ३ र १७ गते दुई खेल खेलेको मनाङले अन्तिम खेलमा शनिबार ‘रेलिगेशन जोन’ मा रहेको च्यासल युथ क्लबसँग खेल्दैछ ।

नेपाल पुलिस क्लब र बिग्रेड ब्वाइज क्लब (बिबिसी) सँगका दुई खेलमा जित हासिल गरेको मनाङ घरेलु मैदानमा तेस्रो जितको खोजीमा हुनेछ । च्यासलसँगको खेल जित्दै राजधानी बाहिरका लिगका तीन खेलमा शतप्रतिशत नतिजा निकाल्ने योजनामा मनाङको टिम रहेको छ ।

च्यासलसँगको खेल मनाङको लागि अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर बन्नेछ । छैटौँ चरणमा बिबिसीसँगको खेल जित्दै शीर्ष स्थानमा उक्लिए पनि मनाङले एएफसी कम खेल्ने सपना पूरा गर्न सकेन । भोलिपल्ट मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि मनाङको एएफसी कप खेल्ने सपना तुहिएको हो ।

मछिन्द्र पुलिससँग पराजित वा बराबरीमा रोकिएको अवस्थामा एएफसी खेल्ने भाग्य मनाङको जुर्ने थियो । एएफसीमा नेपालको प्रतिनिधित्व गर्ने अवसर नजुरे पनि मनाङलाई शनिबारको खेलमा विजयी हुँदै लिगमा शीर्ष स्थानमा रहँदै उपाधि होडलाई थप बलियो बनाउने मौका रहेको छ ।

मनाङले हालसम्म सात खेलमा १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । ‘लिग लिडर’ मछिन्द्रभन्दा मनाङ एक अङ्कले मात्र पछाडि छ । त्यसले पनि च्यासलसँगको खेल जित्दै शीर्ष स्थानमा उक्लिने र उपाधि होड बलियो बनाउने अवसर मनाङलाई छ ।

पोखरा रङ्गशालामा पहिलो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी बिबिसीसँग दोस्रो खेलमा १–० को कठिन जित निकालेको थियो । शनिबार पोखरा रङ्गशालामा हुने खेलअघि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मनाङ र च्यासल दुवै टोलीका प्रशिक्षकले खेलमा सुधार गर्दै राम्रो फुटबल खेलेर तीन अङ्क जोड्ने दाबी गरेका छन् ।

मनाङ मस्र्याङ्दीका विदेशी प्रशिक्षक फुजा टोपेले एएफसीमा छनोट नभए पनि टोलीको मनोबल कम नभएको बताए । घरेल मैदानमा आफ्नो टोलीले खेल नगुमाउने बताउँदै उनले शनिबार फरक रणनीतिका साथ मैदान ओर्लने योजना रहेको सुनाए ।

एएफसी गुमाए पनि लिगको उपाधि जित्ने अवसर रहेकाले सोहीअनुसार मिहिनेत गरेर बाँकी खेल खेल्ने प्रशिक्षक टोपेले बताए । च्यासलका प्रशिक्षक बाल गोपाल साहुखलले रेलिगेसन जोनबाट बाहिर निस्कन चाहेकाले राम्रो खेल पस्किदै तीन अङ्क बटुल्ने बताए ।

पछिल्लो खेलमा सुधार भएकाले खेलाडीमा कन्फिडेन्स बढेको उनले उल्लेख गरे । उनले भने, “रेलिगेशन जोनबाट माथि आउन हामीलाई जित चाहिन्छ, मनाङ बलियो टोली हो । तयारी राम्रो भएको छ, पछिल्लो खेलमा सुधार गरेकाले खेलाडी कन्फिडेन्स छन् । आस गरौँ हामी भोली राम्रो प्रदर्शन गर्नेछौँ ।”

अघिल्ला खेलमा देखिएको रक्षात्मक गल्तीलाई सुधार गर्दै आक्रमणमा सुधार गर्ने रणनीति टोलीको रहेको साहुखलले बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार