असार २५, २०८२ बुधबार July 9, 2025

गठबन्धन संस्कृतिको औचित्य – हरिविनोद अधिकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वि.सं २०७२ मा घोषित संविधान र संसदीय प्रजातन्त्रका सामान्य परम्परा र मान्यताअनुसार सङ्घीय संसद् अर्थात् प्रतिनिधि सभा र प्रादेशिक एकल सांसदको निर्वाचन आगामी वर्षको मङ्सिरमा हुनेछ । हुन त सङ्घीय संसद्भित्रको प्रतिनिधि सभा दुई दुई पटक ब्रह्मनालबाट सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ब्युँतिएर फर्केको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक विघटन गर्नुभएको प्रतिनिधि सभाले ब्युँतिएको केही समयपछि फेरि उहाँको नेतृत्वमा सरकार निरन्तर हुन सकेन । २०७७ फागुन २३ भन्दा पहिले पनि मूलतः आधारभूत रूपमा सरकार गठबन्धनमै चलेको थियो । पुरानो नेकपाभित्रको आपसी मनोमालिन्यका कारण नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बाध्यकारी परिस्थिति तयार भएको थियो । नेकपा एमालेकै सांसदसमेत मिलेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र सर्वोच्च अदालतमा बहुमतको हस्ताक्षर बुझाएका थिए, जसले तत्कालीन प्रमुख प्रतिपक्षी नेता देउवाको नेतृत्वमा सरकार बनाउन अनुरोध गरेका थिए ।

त्यही पृष्ठभूमिमा सर्वोच्च अदालतले फेरि संसद् विघटन नहोस् भनेर प्रधानमन्त्रीको नाम नै किटेर राष्ट्रपतिलाई परमादेश दिएको थियो । त्यो सरकारले संसद्मा आफूलाई संविधानबमोजिम ३० दिनभित्रमा आफ्नो बहुमत देखाउनु जरुरी थियो । नभन्दै असार २९ गते बनेको सरकारले साउन ३ गते नै संसद्मा आफ्नो सुविधाजनक बहुमत हासिल गरेको थियो । यता केही वर्षदेखि नेपाली राजनीति एउटा प्रयोगधर्मिताबाट निर्देशित भएको पाइन्छ– राजनीतिक प्रयोगशालाको एउटा नयाँ उदाहरणका रूपमा । कहिले साह्रै असहिष्णु त कहिले एकदम उदार बहुदलीय व्यवस्थाको अनुपम उदाहरणजस्तो । केही महिनादेखि नेकपा एमालेले संविधान, कानुन र निर्वाचन आयोगबाट मान्यताप्राप्त दल नेकपा एकीकृत समाजवादीको उपस्थितिका कारणले संसद् चल्न दिएको छैन ।

संसद् बहिष्कार पनि गरेको छैन । संसदीय समितिहरूका बैठक सहज रूपमा चलिरहेकै छन् । बाग्मती प्रदेशमा सरकार बनाएको एकीकृत समाजवादीको काम निर्वाध चलिरहेका छन् । प्रतिनिधि सभा बैठकमा भने असहिष्णु व्यवहार देखाएर एमालेले अवरोध गरेको छ, जबकि अवरोध गरेको बेलाको न गैरहाजिर मानिएको छ, न त राजस्वबाट दिइने तलब भत्ताको कुनै कटौतीका लागि आवेदन दिइएको छ एमालेका तर्फबाट । न एमालेबाट पक्षपाती भनेर आरोपित सभामुखलाई कुनै कारबाही गरिएको छ, न त सभामुख अग्नि सापकोटाले पनि आफूसँग रहेको असीमित अधिकारको सदुपयोग गर्नुभएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभा र प्रादेशिक संसद्मा प्रत्यक्ष गरिएको मतदानबाट जित्ने र समानुपातिक प्रतिनिधित्वमार्फत संसद् गठन गर्ने संवैधानिक व्यवस्था भएको संसदीय प्रणालीअनुसार बहुमतका आधारमा सरकार बन्ने भएपछि जसले बहुमत पु-याउन सक्छ उसैको नेतृत्वमा सरकार (गठबन्धन) बनाउने गरिन्छ ।

अघिल्लो सरकार पतनबाट पाठ सिकेर गठबन्धनमा सम्मिलित दलले औचित्य पुष्टि गर्न सक्नुपर्छ ।

गठबन्धन नगरी एकल बहुमतीय सरकार बनाउने हो भने पक्कै महिनैपिच्छे आमनिर्वाचन गर्नुपर्ने हुन्छ, जति पटक आम निर्वाचन गरे पनि सम्भवतः कसैको एकल बहुमत आउने अवस्था अहिले छैन । अन्ततः गठबन्धन गरेर भए पनि मुलुकलाई स्थिर सरकार दिनैपर्ने हुन्छ । हाम्रो देशमा पनि २०६३ को अन्तरिम र २०७२ को संविधानमा राखिएको प्रावधानअनुसार एउटै दलको एकल र बहुमतीय सरकार बन्ने सम्भावना न्यून छ । २०७४ को आम निर्वाचनमा पनि प्राविधिक रूपमा गरिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति र सहकार्यमै उम्मेदवार उठाएर दुईवटा दल मिलेर बहुमतको सरकार बनाइएको थियो । निर्वाचनपछिमा एकीकरण भई नेकपा बनेको थियो । प्रदेशमा पनि एमाले र माओवादी केन्द्रका बीच सहकार्य गरेर ६ वटा प्रदेशमा प्रादेशिक सरकार बनेका थिए । प्रदेश नम्बर २ मा पनि तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीको उत्तराधिकारी संस्था राष्ट्रिय जनता पार्टी र मधेसी जनअधिकार फोरमको उत्तराधिकारी सङ्घीय समाजवादी फोरमका बीचमा सहकार्य र सहमतिमा एकल सरकार बनेको थियो । जबकि ती दल मिलेर बनेको जनता समाजवादी दलमा आएको विग्रहपश्चात् त्यहाँ पनि सरकार गठबन्धनमा बनेको छ । त्यो गठबन्धनमा जनता समाजवादीको नेतृत्वमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र सम्मिलित छन् ।

प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा गठबन्धन सरकार, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको गठबन्धन सरकार र गण्डकी अनि कर्णाली प्रदेशमा काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार चलिरहेका छन् । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाचाहिँ ऋषि कट्टेलको नाममा दर्ता गरिएको दलको नामसँग हुबहु मिलेकाले दल फरक–फरक रूपमा रहनुपर्ने फैसला सुनाएको थियो । तर १५ दिनभित्रमा अर्कै नाममा दर्ता भएमा मात्र एउटै दलको रूपमा मान्न सकिने भनी गरेको फैसलाप्रति एमाले र माओवादी केन्द्रले वास्ता नगरेपछि दुवै दल पुरानै अवस्थामा फर्किए । त्यसैले केन्द्रमा एमालेको सरकार अल्पमतमा परेको हो ।

राजनीतिक संस्कृति कस्तो हुनुपर्छ ?

ठबन्धन सरकार त अहिले मात्र होइन अझै कति वर्षसम्म चलिरहने हो, थाहा छैन । गठबन्धन पनि कसले, कोसँग, कहिले र कसरी गर्ने हुन् भन्ने पनि कुनै टुङ्गो छैन । खालि के मात्र हो भने निर्वाचनपछि गठबन्धन हुने कि निर्वाचनभन्दा पहिले नै अनुमानित क्षेत्रमा अर्को प्रतिस्पर्धीलाई हराउन सहकार्य गर्ने ? २०७४ मा भएको आमनिर्वाचनमा स्थानीय निर्वाचनले देखाएको मतसङ्ख्यालाई गणना गरेर एमाले र माओवादी केन्द्रका बीचमा सरकार बनाउने हिसाबले नै गठबन्धन भएको थियो । नभन्दै गठबन्धनले बहुमत ल्यायो तर त्यो गठबन्धनको गाँठो चार वर्ष पनि टिकेन । एमालेले मात्र होइन माओवादीले पनि आफ्नो दल सग्लो राख्न सकेनन् । दुवै दलले केही वरिष्ठ नेता गुमाउनुपरेको छ, नेकपामै समाहित भएका कारणले ।

के हो त राजनीतिक संस्कृति ? व्यक्ति र समूहको राजनीतिक कार्यमा मूल्य र मान्यता, विश्वास, विचार, दृष्टिकोण र व्यवहारको प्रभाव भनेर बुझिन्छ राजनीतिक संस्कृतिलाई । व्यक्तिको राजनीतिप्रति झुकाव, ज्ञान, भावना, सक्रियता, एवं उदासीनताले राजनीतिक संस्कारमा प्रभाव पारेको हुन्छ । प्रजातन्त्र बलियो हुन नागरिकमा राजनीतिको असल संस्कार आवश्यक हुन्छ । प्रजातन्त्रले नागरिकमा असल आचरण, सामाजिक चासोको विषयमा एकअर्कालाई सहयोग गर्ने र नैतिक अनुशासनको अपेक्षा गरेको हुन्छ । हामी प्रजातान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा छौँ, जहाँ संसद्को मुख्य भूमिका हुन्छ जनताकोे समावेशी प्रतिनिधित्वका लागि ।

प्रजातन्त्र बलियो बनाउन दलका नेता मात्र होइन नागरिक पनि प्रजातन्त्रवादी हुनुपर्छ । नागरिकमा प्रजातन्त्रलाई जीवित राख्न र प्रभावकारी बनाउने चेतना सदैव हुनुपर्छ । जनसेवाका लागि गठित संस्थाले सक्रियताका साथ काम गर्न सक्छन् । शिक्षा र व्यवहारबाट सिक्ने प्रक्रियाबाट राजनीतिक संस्कार निर्माण हुन्छ । प्रजातन्त्रवादी हुन विकसित गर्नुपर्ने संस्कार हुन्– मानव अधिकारको सम्मान र सुरक्षा गर्ने, सार्वजनिक विचार र दृष्टिकोण स्वीकार गर्ने, अरूको विचार र दृष्टिकोण सुन्ने र स्वीकार गर्ने, विचार आदानप्रदान गर्ने, तर्कको शक्तिमा विश्वास गर्ने, आफ्नो तर्क वा विचार परिवर्तन गर्न तयार हुने, सम्झौता र मेलमिलाप गर्न तयार रहने, समस्याको शान्तिपूर्ण तरिकाले समाधान गर्न तत्पर हुने ।

आफूलाई प्रजातन्त्रवादी भएको बताउने प्रमुख प्रतिपक्षी एमाले एकातिर प्रतिनिधि सभा बारम्बार विघटन गर्छ, आफ्नो बहुमतको सङ्घीय सरकार र प्रादेशिक सरकार जोगाउन पनि सक्दैन, अनि प्रतिनिधि सभा पुनस्र्थापना भएर वैकल्पिक रूपका सरकार स्थापना गरेर सरकारलाई संसद्को बहुमत प्राप्त भएपछि किन संसद्प्रति असहिष्णु बनिरहेको छ ? उसले गरेको मागअनुसार समाजवादीका सांसद जननिर्वाचित होइनन् र ? अहिलेको गठबन्धन अपवित्र थियो भने पहिलेको गठबन्धन कस्तो थियो जसको अहिले नामोनिसान छैन ? फेरि गठबन्धनका दलमा धेरै ज्योतिषी देखिन थालेका छन्– कोही भन्छन् गठबन्धन जारी रहन्छ, कोही भन्छन् राष्ट्रिय सभाको निर्वाचनसम्म मात्र गठबन्धन रहन्छ । यसरी सरकार चलिरहेको बेलामा आफ्ना दलमा आधिकारिक छलफल नगरी गरिने यस्तो भविष्यवाणीले आगामी राजनीतिलाई झनै अस्थिर बनाउने छ । यसतर्फ सबै दलले हेक्का राख्नैपर्छ ।

गठबन्धन जरुरी छ त ?

लहरूका बीचमा गठबन्धन जरुरी छ तर उद्देश्य र भावी रणनीतिबारे स्पष्ट हुनुपर्छ । दलका आआफ्ना अस्तित्वमा कुनै चोट नलाग्ने र कार्यकर्ता तथा मतदातामा कुनै भ्रम नपर्ने गरी सहकार्य जरुरी हुनसक्छ । किनभने समानुपातिक प्रतिनिधित्वमा कुनै पनि दलले बहुमत ल्याउने सम्भावना छैन । निर्वाचन प्रणालीमा समेत परिवर्तन गर्नुपर्ने आवाज पनि मुखरित भइरहेका छन्, राजनीतिक वृत्तमा । गठबन्धन सरकारले तयार गरेका साझा कार्यक्रमको कडाइका साथ कार्यान्वयन जरुरी छ । एमाले र माओवादी केन्द्रको एकीकृतस्वरूप नेकपाको गठबन्धन असफल हुनुमा गठबन्धन गर्दाका साझा कार्यक्रम तथा साझा प्रतिबद्धतामाथि गरिएको धोखा नै हो । यसरी एउटा दुईतिहाइको सरकारको पतनबाट पाठ सिकेर गठबन्धनमा सम्मिलित दलले यसको आवश्यकता र औचित्य पुष्टि गर्न सक्नुपर्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार