बैसाख २२, २०८३ मंगलबार May 5, 2026

हामीलाई प्रदेश सरकारको संरचनाको लागि उपयुक्त लागेको स्थान भनेको लामसुरे हाइट हो । – राजेन्द्र पाण्डे (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रदेश सरकारले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम स्वीकृत गरेको छ । न्यूनतम साझा कार्यक्रमले जनताको मागलाई कतिको सम्बोधन गर्छ ?

गठबन्धन सरकारको लामो छलफलपछि सार्वजनिक गरेको यस न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारले ७ वटा विषयलाई प्राथमिकतामा राखेको छ । जसमा कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य, सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गर्ने लगायत छन् ।

 

हिजोको दिनमा राज्यबाट जनताले पाउने सेवासुविधा पाउनुपर्ने समयमा पाए कि पाएनन्, विगतका सरकारका कार्यक्रमले जनतालाई कतिको सहजता प्रदान ग¥यो त ? यिनै विषयमा केन्द्रित भएर हामीले न्यूनतम साझा कार्यक्रम ल्याएका छौं । १० वर्ष भएछ बागमतीको पुल टेन्डर भएको, यतिका वर्षसम्म कसैले वास्ता किन गरेनन् ? म मुख्यमन्त्री बनेपछि मंसिरमा सिन्धुलीको मरिणमा एउटा पुल उद्घाटनका क्रममा मैले त्यो कुरा थाहा पाएँ । त्यसको केही दिनमै त्यो पुलको निरीक्षण पनि गरेँ र चाँडै सक्न कन्ट्रयाक्टरलाई निर्देशन दिएँ ।

 

त्यसैबेला मैले भनेको थिएँ, आगामी केही समयमै यो पुलमा म बैठक गर्छु । सोही अनुसार मैले तयारी गरेर बैठक पनि राखेँ । त्यो पुल माघ १२ गतेबाट सञ्चालनमा आउने भएको छ । माघ १२ गते हेटौंडामा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा आउने जनप्रतिनिधिहरु सोही बाटो हुँदै आउने वातावरण बनेको छ । आगामी वर्षको वैशाख १५ गतेभित्र उक्त पुलको उद्घाटन गर्ने तयारीका साथ काम गर्न निर्देशन दिएको छु ।

 

यसैगरी, भैंसे–भीमफेदी सडकखण्डमा डाइभर्सन बनाएर खोलाको छेउबाट गाडी सञ्चालन गर्नेगरी बाटोको काम भइरहेको छ । हिजोको दिनमा केही सोच्दै नसोची काम गर्दा समस्या भएको हो । एउटा ‘प्रिफ्याव’को घर बनाउन २ वर्षको ठेक्का निकाल्ने कर्मचारी र उद्घाटन गर्ने नेतृत्वकर्ताको कारण हामी समस्यामा पर्दै आएका हौं । मैले यो विषयमा मन्त्रालयमा बैठक राखेर निर्देशन दिएको छु । प्रिफ्याव घर बनाउन ३ महिना लाग्छ, के आधारमा २ वर्षको समय दिनुभयो भनेर कर्मचारी साथीहरुसँग जवाफ मागेको छु । काम छिटो सक्न निर्देशन दिँदै, अन्यथा कारवाहीको चेतावनी पनि दिएको छु । जनताको काममा सहजता ल्याउने काम सरकारको हो, तपाईहरुको यस्तै कामले हो हामी समस्यामा पर्ने भनेर मैले सिधासिधा भनेको छु ।

 

 

कर्मचारीहरुले यी कामलाई गम्भीरतापूर्वक नलिएकै हो । संघीयता कार्यान्वयनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरेर सहकार्यलाई मजबुत बनाउने काम कर्मचारीहरुबाट हुने हो । त्यसैले सबै जना जिम्मेवार हुन जरुरी छ ।

बागमती प्रदेशले अहिलेसम्म तीन जना मुख्यमन्त्री र ३९ जना मन्त्री पाइसकेको छ । यसका बाबजुद योजना भने पहिलेकै छ । नयाँ योजना आउन सकेका छैनन् । जनताले प्रदेश सरकारको प्रत्याभूति पाउन नसकेको गुनासो पछि छ । अब जनताले प्रदेश सरकारको प्रत्याभूति कसरी पाउँछन् ?

हो, हामीले स्थिर सरकार बनाउनै सकेनौं । विगतमा हामीसँग बहुमतको सरकार थियो । तर, स्थिरता रहेन । किनभने प्रदेशको मुख्यमन्त्रीको नाताले हेर्दा सबैतिर पक्षपात थियो । बजेटमा असन्तुलन थियो । विगतको बजेट विनियोजनको अवस्था तपाई हेर्न सक्नुहुन्छ । चितवनका दावा दोर्जे लामाको क्षेत्र, नुवाकोटका केशवराज पाण्डेको क्षेत्र, रामेछापको कैलाश ढुंगेलको क्षेत्र, मकवानपुरका डोरमणि पौडेलको क्षेत्रमा मात्र बजेट पारिएको थियो ।

बहुबर्षे आयोजना पनि त्यतै केन्द्रित थिए । अनि जनताले सरकारको प्रत्याभूति कसरी पाउँछन् त ? यस्तो खालको असन्तुलित बजेट बनाउने, सेटिङका योजनाहरु बनाउनेहरुको म पहिले पनि विरोधी र अहिले पनि विरोधी छु ।
जनताको पक्षमा काम गर्नकै लागि सुशासनको प्रत्याभूति दिनेगरी असन्तुलित बजेट अन्त्य गर्ने पक्षमा लागेको छु । जनतालाई साँच्चै सही ढंगको कार्यक्रम आयो भनि प्रत्याभूति दिन प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम सर्वजनिक गरेको हो ।

प्रदेशमा कृषक र कृषि उत्पादन बढाउन आफ्नै औजार कारखाना खोल्न प्राइभेट सेक्टरसहित सबैलाई समेटेर काम गरिरहेका छौं । हामी आन्तरिक, बाह्य सबै क्षेत्रलाई समेटेर रासायनिक मल कारखाना खोल्ने योजना अनुसार अघि बढेका छौं । बागमती प्रदेशका औद्योगिक क्षेत्रको संरक्षण र विकासमा हामी लागेका छौं । उद्योगधन्दा सञ्चालनको वातावरण बनाउन हामी केन्द्रित छौं । संघीय सरकारलाई पनि सहयोग गर्न भनेका छौं । हाम्रो मातहतमा औद्योगिक क्षेत्र दिनुस्, संरक्षण र सञ्चालनमा काम गर्छौं भनेका छौ ।

मैले त हिजोको दिनमा पनि भनेको हो– हेटौंडालाई औद्योगिक नगरी बनाउनु पर्छ भनेर । नजिकै रहेको सिमरा विमानस्थलबाट सामान निर्यात गर्नुपर्थ्यो । धेरैभन्दा धेरै उद्योग सञ्चालन गर्नुपर्थ्यो । औद्योगिक क्षेत्रलाई फुलफेज स्टेजमा चलाएर हाम्रो आयात प्रतिस्थापन गर्ने कुरालाई जोड दिनुपर्थ्यो तर हामीले विगतमा त्यसो गर्न सकेनौँ । उद्योग स्थापना भए रोजगारी बढ्छ, जनताले योग्यता अनुसार काम पाउँछन् । हामी त्यसका लागि आवश्यक काम गरिरहेका छौं । आगामी वर्षको बजेटमा केही विषयमा आत्मनिर्भर हुने ढंगले योजना लिएर अगाडि बढ्छौँ । चितवन, धादिङ, काठमाडौं उपत्यकालगायतका जिल्लाहरुमा कुखुरा उत्पादनको राम्रो विकास छ, त्यसलाई नै आत्मनिर्भर बनाउन पोल्ट्री विकास बोर्ड स्थापना गर्ने योजनामा छौं ।

त्यस्तै, कोरोनभाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिरहेको छ । त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न प्रदेशको मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी क्षमता बढाइदिने र भेन्टिलेटरहरुको व्यवस्था मिलाउने जस्ता काममा प्रदेश सरकार अघि बढेको छ । त्यसका लागि विगतमा पनि संघीय सरकारको सहयोगमा कन्ट्रयाक्टमा बसेका ४३६ जना कर्मचारीको म्याद थप गर्ने निर्णय गरिसकेका छौं । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच स्थापित गर्ने, प्रदेश सरकारले दलित र प्रकाशोन्मुख जातिबाट कम्तीमा एसइई शिक्षा हासिल गरेकालाई ३ वर्षे प्राविधिक शिक्षा दिई प्रदेशका स्थानीय तहमा कम्तीमा त्यस्ता एक जना जनशक्ति पठाउने निर्णय पनि गरेको छ । यस्तै, सामुदायिक कलेजमा पढेका र उच्च शिक्षामा पढ्न चाहने सबै छोरीलाई प्रदेश सरकारले छात्रावृत्तिमार्फत पढाउने निर्णय गरेको छ । जनतालाई सुविधा दिने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ । विगतमा जनताको गुनासो आएकै हो, अब हामी त्यसको सम्बोधनमा लागेका छौं । जनताले प्रदेश सरकारको प्रत्याभूति पाउँछन् ।

प्रदेशको मन्त्रालय विभाजन गरेको भनि हाल संसद बैठक अवरुद्ध छ । यसको औचित्य पुष्टिको माग पनि गरेका छन् । विपक्षीलाई जवाफ त दिनुपर्ला नि ?
हो, हामीले गठबन्धनमा आवद्ध भएर सरकारको नेतृत्व लिएपछि मन्त्रालय विभाजन गरेका छौं । प्रदेशमा ११ वटासम्म मन्त्रालय बनाउने भनेर प्रतिपक्ष दलहरूसँगै बसेर सहमति भएको थियो । अहिले त्योभन्दा ३ वटा मन्त्रालय मात्रै बढी भएको हो । ४ वर्षसम्म सरकार सञ्चालन गर्नेले जनताको लागि के गरे त ? हामीले काम गर्न कै लागि मन्त्रालय विभाजन गरेका हौं, विषयगत हिसाबले मन्त्रालय छुट्याएका हौं । यसको औचित्य काम गरेर देखाउँला ।
अब आजको आजै नतिजा खोज्दा त पाइन्न, केही दिन पर्खनुभयो भने त्यो भेटिन्छ । हामीले युवा क्षेत्रलाई बढी प्राथमिकतामा राखेर युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वन, पर्यटन, खानेपानी लगायतको क्षेत्रलाई मध्यनजर गर्दै प्रदेशमा मन्त्रालयको विभाजन गरेको हौं । यसको रिजल्टै केही दिनमै देखिनेछ ।

हिजोको दिनमा उद्योग, पर्यटन वनलाई एकै ठाउँमा राख्दा समस्या भएको हो । कुन क्षेत्रमा चाहिँ काम भयो त ? अलिकति पैसा भयो कि पर्यटनमा खर्च गर्ने प्रवृत्ति थियो । उद्योगको समस्या, वनको काम सधैँ छुटेको अवस्था थियो । उद्योगीको समस्या हामीले नहेर्ने त ? पैसा हालेर गरिहाल्छ भनेर छोड्दिन मिल्छ र ? उनीहरुको समस्या, सहजता र प्रोत्साहन गरे पो आर्थिक उन्नति हुन्छ । हामी आत्मनिर्भर हुनलाई त उद्योगहरु फस्टाउनु पर्छ । नयाँ उद्योग स्थापना गर्नुपर्छ । त्यसैको लागि हामीले उद्योग मन्त्रालय छुट्याएका हौं । यता वनमा हेर्नुहोस्, हाम्रो जंगलमा काठ कुहिएर बसेको छ । हामी फिनल्याण्डको काठ ल्याएर फर्निचर बनाउँछौं । हाम्रै काठ प्रयोग गर्न किन नहुने ? वन संरक्षणसँगै हाम्रो वनको काठ उपयोग गर्नुपर्छ ।

प्रदेशमा सबैभन्दा धेरै आम्दानी दिने भनेको यातायात हो । तर, त्यो ओझेलमा परेको थियो । वर्तमान प्रदेश सरकारले श्रम, रोजगार तथा यातायत मन्त्रालयको स्थापना गरेको छ । त्यस मन्त्रालयले श्रमिकहरुको समस्या, रोजगारी वृद्धि गर्ने र यातायात क्षेत्रतर्फको काम गर्नेछ । हामीले ३ वर्षसम्म सवारी अनुमति पत्र (लाइसेन्स) पाउने अवस्था छैन । त्यसलाई समाधान गर्न र तीन महिनाभित्र लाइसेन्स पाउने व्यवस्था गर्ने काम त्यो मन्त्रालयले गर्नेछ ।

संघीय सरकारले बन्द रहेका उद्योग सञ्चालन गर्ने भनेर हेटौंडा कपडा उद्योगको पनि नाम समावेश गरेको थियो । तपाईको सरकारले पनि बन्द उद्योग सञ्चालनको योजना राखेको छ । हेटौंडा कपडा उद्योग सञ्चालनका लागि प्रदेश सरकारले के तयारी गरिरहेको छ ?

प्रदेश सरकारले त्यस्तो क्षमता भएका उद्योगपतिहरुलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । हेटौंडा कपडा उद्योगमात्र होइन, बन्द उद्योगहरु सञ्चालन हुनुपर्छ भन्ने मेरो मान्यता हो । हेटौंडा कपडा उद्योगको लागि हामी संघीय सरकारसँग पनि छलफल गर्छौं । आवश्यक योजना बनाउँछौं, निजी क्षेत्रलाई सहभागी गराउँछौं र आवश्यक निर्देशन दिनेछौं ।

सो उद्योगले नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, विद्यालयलाई दिन सक्ने क्वालिटीको कपडा उत्पादन गर्न लगाउने र प्रदेशभरका नेपाल सरकारबाट तलब खाने सबै जनाले त्यही उद्योगबाट उत्पादन भएको कपडा लगाउनुपर्ने वातावरण सिर्जना गर्न सकिनेछ । हामी त्यसका लागि केही काम गर्ने तयारीमा छौं ।

हामी जापानमा बनेको जुत्ता लगाउँछौ, हाम्रो उत्पादन बन्द गर्छौं । अब प्रदेश सरकार ती उद्योग पुनः सञ्चालनको पक्षमा लाग्नेछ । सबैसँग समन्वय गरेर आवश्यक निर्णयमा पुग्नेछौं । उद्योगधन्दा बन्द गर्ने पक्षमा हामी छैनौं । उद्योग सञ्चालन गरेर आयात प्रतिस्थापनमा लाग्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।

प्रदेश सरकारले पहिचान गरेका कानुन बन्न सकेका छैनन् । सरकार सञ्चालनका लागि पर्याप्त कानुन अभाव छ । सदन ठप्प छ । सदनमा विपक्षी दलको अवरोध छ । यसरी त सरकारले काम गर्न सक्ला र ?

मन्त्रालय विभाजन र योजनाको कटौतीका विषय उठाएर उहाँहरुले सदनमा अवरोध गर्नु भएको छ । उहाँहरुले उठाएको विषयमा म जवाफ दिन तयार छु । बैठकमा त आउनु प¥यो नि । बैठकमै नबस्ने । त्यस्तो प्रवृत्तिले हुन्छ र ? सदन सञ्चालनको लागि हामी छलफलमा छौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सांसद उपस्थित हुनुहुन्छ । सोही मौका पारेर संसद बैठक सञ्चालन गर्ने तयारीमा छौं । अब पनि सदन अवरुद्ध गर्ने, जवाफ नै नसुनि हिँड्ने, बैठकमै नआउने गर्नुभयो भने मैले मात्र होइन, उहाँहरुले पनि जवाफ त दिनुपर्ला नि !

तपाईले केही समय अगाडि भीमफेदी–कुलेखानी सुरुङमार्गको ठेक्का रोक्नुभयो । अहिले न्यूनतम साझा कार्यक्रममार्फत केही सुरुङमार्गको योजना ल्याइएको छ । अघिल्लो सरकारको योजनाचाहिँ रोक्ने अनि फेरि त्यही प्रकृतिको अरु योजना सञ्चालन गर्ने ?

भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने गरी कति पैसा हालेको छ ? प्रदेश सरकारसँग त्यो तागत छ ? प्रदेश सरकारसँग वर्षको करिब ४२ अर्ब रुपैयाँमात्रै आम्दानी हुन्छ । उक्त सुरुङ निर्माणका लागि हाल २० अर्ब लाग्ने देखिएको छ । तर, त्यस योजना निर्माणका लागि २५ अर्ब खर्च हुन्छ । हामीले सुरुङ मार्ग बनाउन चालु आर्थिक वर्षमा ७० करोड बजेट छुट्याएका छौं । त्यसले सुरुङ मार्गको काम सुरु हुन्छ ? सुरुङको ठेक्का दिँदा पहिलो दिनमै मोविलाइजेन मनि चाहियो भने भनि २० प्रतिशत दिनुपर्छ, हामीसँग पैसा नै छैन । त्यो योजना त बनाउन होइन, देखाउन ल्याइएको थियो । मोविलाइजेसन खर्चसमेत दिन नसक्ने बजेट राखेर पनि सुरुङ मार्ग बन्छ त ? मोविलाइजेशन मनिसमेत दिन नसक्ने ठेक्का सम्झौता गर्न कुन ठेकेदार आउँछ ? कोही आउँदैनन् । त्यसैले त्यो नाटकमात्रै हो ।

हामीले बनाउने सुरुङ सबैको सहलगानीमा हुन्छ । स्थानीय तह, प्रदेश, संघ र निजी क्षेत्र त्यसमा सहभागी हुन्छन् । हामी सम्भाव्यता अध्ययन गर्छौं । हामीले बनाउने भनेको सुरुङ बन्न सक्ने अवस्था रह्यो भनेमात्र हामी अघि बढ्छौं । यस्तो सुरुङ बनाउनलाई केही प्राइभेट सेक्टरले हामीलाई अनुरोध गरेका छन् । प्राइभेट सेक्टरले भनेका छन् ५० वर्षका लागि दिनुस्, टोलट्याक्स लगाएर हाम्रो पैसा उठाउँछौं र त्यसपछि सरकारलाई हस्तान्तरण गर्छौं । हामी त्यसको पनि छलफल, अध्ययन र अनुसन्धानमा छौं ।

अनि अर्को कुरा, विद्युतीय बस सञ्चालन पनि हामी गर्छौं । तपाई भन्नु होला, हिजोको सरकारको योजना किन काटेको भनेर । हिजो पनि हामीले भनेको हो, पहिले चार्जिङ्ग स्टेशन बनाउँ । सडक बनाउँ । तर कसले सुन्यो त ? त्यसैले हामीले त्यसलाई रोकेको हो । हामीसँग विद्युतीय बस चल्न हुने रोड छैन । पूर्वाधार छैन । बोलेरमात्र त हुन्न नि । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको पालामा चार्जिङ्ग स्टेशनको स्थापना गर्नुस् भनेका थियौं । बस चलाउनु हुँदैन भनेका थिएनौं । त्यति बेला उहाँहरु हतार हतारमा बस ल्याउने तयारीमा हुनुहुन्थ्यो । त्यस बेलामा केही गरी प्रदेशमा विद्युतीय बस ल्याइहाले पनि चार्जिङ्ग स्टेशन छैन । न गतिलो रोड नै छ । आज पनि छैन । त्यति बेला हामीले जनताको रगत पसिनालाई दुरुपयोग हुन नदिएको मात्रै हो । तर, अब हामीले सबै पूर्वाधार बनाएरमात्र बस किन्छौं भनेर योजना ल्याएका हौं ।

 

विद्युतीय बस चलाउने सन्दर्भमा पनि यस सडकलाई स्तरीय बनाउने प्याकेज प्रोगामको रुपमा हामी अगाडि बढिरहेका छौं । हामी केही दिनमै विद्युतीय बस सञ्चालनका लागि चार्जिङ्ग स्टेशन निर्माण गर्ने तयारीमा छौं । पहिले पूर्वधार बनाएरमात्र बस किन्छौं । बस किनेर त्रिपालले छोप्ने काम हामी गर्दैनौं । जनकपुरको रेलको हालत हामीले देखिसकेका छौं । त्यही हुन नदिन हामी हिजोको दिनमा विरोधमा बसेका थियौं ।

मकवानपुरको राक्सिराङ जस्ता क्षेत्रमा बालबालिकाहरु स्कुल जाँदा बगाएर मृत्यु भएको घटना बारम्बार बाहिर आइरहेका छन् ।  शिक्षा, स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुगेको देखिँदैन । आगामी दिनमा प्रदेश सरकारले त्यस क्षेत्रका समस्या कसरी समेटेर अगाडि बढाउँछ ?
यो विषय हामीले नदेखेका होइनौं । तर, हामी भर्खरै सरकारमा आएका हौं । त्यो तपाईलाई पनि थाहा भएको कुरा हो । बागमती प्रदेशको राक्सिराङ गाउँ आज आएर बनेको पनि होइन । हिजोको दिनमा पनि त्यो गाउँ त्यहीँ थियो । हामी त भर्खर आएका छौं । केही प्रयास भएका छन्, अब केही दिनमा त्यसको नतिजा पनि देखिएला । तर, बागमती प्रदेश सरकार त ४ वर्ष अगाडि सञ्चालन आएको हो नि ।

नेतृत्व पनि यहीँका नेताहरुले गर्नु भयो । उहाँहरुको ध्यान किन गएन त्यसमा ? त्यो महत्वपूर्ण विषय हो र यहाँ यसभन्दा अगाडि धेरै नेताहरु जन्मिए, उहाँहरुबाट के पायो त ? नेताहरुले केही त गर्नु पर्ला नि ? यस्तै समस्याका बिचमा हामी आएका छौं । त्यस क्षेत्रको कठिनाई र समस्याहरु हल गर्ने प्रयास गर्ने उद्देश्य बोकेर नै आएको हुँ । हिजो एउटा झोला बोकेर यहाँ छिरेको हो । काम गर्दा केही सामान जोडियो होला । त्यो सरकारको सम्पत्ति हो । मैले छोडेरै जाने हो । एउटा झोला बोकेर नै जानेछु । मैले त यहाँको जनताको सहजताको काम गर्ने हो । त्यस्ता ठाउँलाई हामीले प्राथमिकता दिएर योजनाहरु ल्याउने र कार्यान्वयन गर्ने तयारी गरेका छौं । हामी सडक, पुल सबै बनाएर त्यो क्षेत्रलाई सुविधायुक्त बनाउँछौ । त्यसै योजना अनुसार अहिले मनहरीको बाटो हुँदै धादिङको आर्यङघाट जोड्ने राजमार्ग बनाउने टेण्डर भएको छ । आगामी २ वर्षभित्रै त्यहाँ ठूलो उपलब्धि हुनेछ । झण्डै ६०–६५ करोडको काम हुनेछ । त्यसले पनि राक्सिराङका बालबालिकालाई सम्बोधन गर्नेछ । त्योमात्र होइन, प्रदेशका अन्य विकट क्षेत्रका जनताको लागि पनि काम गर्ने छौं । जनतालाई प्रदेश सरकारको अनुभूति गराउने छौं ।

प्रदेश सरकार स्थापना भएको ४ वर्षसम्म आइपुग्दा पनि आफ्नो नाममा जग्गा छैन । प्रदेश संरचना बनाउने भनेर बजेटमा भए पनि कार्यान्वयनमा आएको छैन, किन ?
बागमती प्रदेशमा विगतमा २ जनाले सरकारको नेतृत्व गर्नु भयो । एउटा त तत्कालीन समयमा म आवद्ध भएकै एमाले पार्टीले पनि ग¥यो । तर, उहाँहरुले जनताको अपेक्षा अनुसार काम गर्न सक्नु भएन । त्यसो भएकै कारण हामीले पार्टीभित्रै पनि विरोध ग¥यौं । उहाँहरुले हामीलाई सुन्नै चाहनु भएन ।

हामी अलग भएर सरकारको नेतृत्व गरिरहेका छौं । यस अघिका सरकारले प्रदेशमा देखावटी विकासमात्र गरे । विकासका लागि आवश्यक पूर्वाधार तयार नै नगरी आयोजनाको नाममात्र दिए । तपाई देख्न सक्नुहुन्छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान । यो प्रतिष्ठान कहाँ बनाउने भन्ने नै यकिन नगरी देखाउनकै लागि हतार गरियो र हेटौंडा अस्पतालमा लगेर गाभियो । अस्पताल कै भवनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने काम भयो । त्यसका लागि पहिलो त जग्गा आवश्यक थियो, खै त्यसको काम कसले ग¥यो ? भनेर मात्र हुन्न गर्न सक्नु पर्छ । प्रदेश संरचना भनियो, सरकारको नाममा जग्गा खोइ ? कहाँ खोजियो ? ४ वर्षसम्म एउटा जग्गा लिन नसक्नु कसको कमजोरी हो ? यस्तै कारणले हाम्रो ४ वर्ष बिते, अब त्यसो हुनु हुँदैन भनेर मैले आफ्नो काम सुरु गरिसकेँ ।

मैले हिजोमात्र केही जग्गा हेरेको छु । प्रदेश राजधानी हेटौंडामा प्रदेश सरकारको कार्यालय र केही आवश्यक संरचना निर्माणमा हामी छिटै निर्णयमा पुग्छौं । हामी केही दिनभित्रै संघीय सरकारसँग जग्गा प्राप्तिको लागि समन्वय गर्छौं । समन्वयमात्र होइन, निरन्तर लागेर हाम्रोलागि जग्गा लिएरै छोड्छौं । हामीले प्रदेशको राजधानी हेटौंडामा भएको संसद भवन, मुख्यमन्त्री क्वाटर, मन्त्रीहरुको क्वार्टर, मन्त्रालयका सबै संरचना निर्माण गर्नको लागि शिवम सिमेन्ट नजिकै, डिब्बो चौर र लामसुरे हाइट लगायत ३/४ ठाउँमा जग्गा हेरेका छौं । हामीलाई प्रदेश सरकारको संरचनाको लागि उपयुक्त लागेको स्थान भनेको लामसुरे हाइट हो । त्यसका लागि हामी छिटै निर्णयमा पुग्छौं र आगामी वैशाख १ गते भूमि पूजनको योजना बनाएर काम गरिरहेका छौं । मेरो ध्यान त्यसतर्फ छ ।

त्यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ४ बिगाहा क्षेत्रफलको डिब्बा चौर उपयुक्त हुने देखेका छौं । त्यहाँ हामी त्यसको सम्पूर्ण कार्यालय स्थापना गरी उपचार र अध्यापन तथा अनुसन्धानका लागि भौतिक संरचना तयार पार्छौँ । गरिव जनताको छोराछोरीका लागि चिकित्सा शिक्षा दिनेगरी हामी त्यसको विकास गर्छौं । भन्नेमात्र होइन, कार्यान्वयनमा पनि जान्छौं । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार