बैसाख २२, २०८३ मंगलबार May 5, 2026

प्रदेशसभाका प्रत्येक सदस्यहरुले आफूलाई मन्त्री ठान्दछन् । – राजबहादुर शाही, सभामुख, कर्णाली प्रदेश (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली प्रदेशसभा स्थापना भएको चार बर्ष भयो । यस बीचको अनुभव कस्तो रह्यो ? 

एक हिसाबले प्रदेश संरचना संस्थागत हुन सके । सुरुमै प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगायौँ । बाहिरबाट हेर्दा त्यो सहज जस्तो थियो तर दुरगामी महत्वको कुरा थियो । अन्य प्रदेशतिर कर्णालीबाट केही नयाँ सकारात्मक सन्देश जाओस् भनेर प्रदेशको नाम सबैभन्दा पहिले टुङ्गो लगाउन सफल भयौं ।

तर कानुन कार्यान्वयन लगायतमा सरकारले ‘एक्सन’ नै लिन चाहेन । मैले आफै पहिलेका मुख्यमन्त्रीकहाँ गएर थ्रेट गर्नुपर्ने स्थिति आयो । फ्याक्ट कुरा भन्ने हो भने संघीयताको मर्म र स्पीडमा हामी चल्न सकिरहेका छैनौं । भन्नेबेला संघीयता भनियो तर हाम्रो संस्कार अझै उस्तै भयो । संसदीय व्यवस्थामा संघीयता कार्यान्वयन गर्ने भन्ने कुरा निकै लामो प्रक्रिया हो र यसको मूल्याङ्कन पनि त्यही अनुसार गर्नुपर्ने हुन्छ । कानुन निर्माणको कुरा गर्दा सरकारको आवश्यकता अनुसार हामीले कानुन निर्माण गर्नुपर्ने हुन्छ, अहिले त्यहीअनुसार हामी अघि बढेका छौं ।

एउटा पार्टीबाट घोषणापत्र लिई जनताका बीचमा गई विश्वासको आधारमा मत प्राप्त गरी आइसकेपछि त्यसको कार्यवधि पुरा नहुँदै अर्को मान्यतामा हिँड्नु भनेको संसदीय व्यवस्थाको विकृत अवस्था नै हो । त्यसमा आर्थिक, सामाजिक, व्यक्तिगत स्वार्थका पक्षलगायत केही अन्तनिर्हित आयाम छन् । यसमा बहस चलाइनुपर्छ । तर ‘फ्लोरक्रस’ गरेर हामीले बहादुरी गर्यौं, राम्रो काम भयो भन्ने अवस्था कदापी राम्रो होइन ।

कानुन कार्यान्वयनमा ढिलाई हुनुको कारण के देख्नुहुन्छ ? 

त्यो भनेको पुरानो रोग हो । नयाँ व्यवस्था भयो तर संस्कार, मनोवृत्ति, चरित्र उही पहिलाको जस्तो भयो । उदाहरणका लागि संघीय व्यवस्था भनेर सबैभन्दा लडेर लाग्ने भनेको माओवादी हो । तर कर्णाली प्रदेशको सवालमा उसैले तल्लो तहलाई अधिकार नै हस्तान्तरण गर्न चाहेन । त्यस्तै, केन्द्र सरकारले पनि प्रदेशलाई दिनुपर्ने अधिकार हस्तान्तरण गर्न चाहेन । यहाँ बजेट दिएर मात्र नहुने रहेछ । त्यसका धेरै ‘फ्याक्टर’ हुन्छन् । त्यी सबै ‘फ्याक्टर’ले काम गरेपछि मात्रै संघीयताको कार्यान्वयन स्पीडमा अघि बढ्न सक्छ ।

कर्णाली प्रदेशसभामा सबैभन्दा पहिला ‘फ्लोरक्रस’ भयो । त्यो बेलाको सेरोफेरोलाई कसरी सम्झिनुहुन्छ ? यस्ता खालको प्रवृत्तिले कस्तो खालको नजिर स्थापना गर्छ ?

त्यसमा आर्थिक, सामाजिक, व्यक्तिगत स्वार्थका पक्षलगायत केही अन्तर्निहित आयाम छन् । यसमा बहस चलाइनुपर्छ । तर ‘फ्लोरक्रस’ गरेर हामीले बहादुरी गर्यौं, राम्रो काम भयो भन्ने अवस्था कदापी राम्रो होइन । यसले धेरै संवैधानिक प्रश्न उठे । एउटा पार्टीको संसदीय दलको सदस्य संवैधानिक व्यवस्था विपरीत, पार्टीको अनुमतिबिना सरकारको मन्त्री भएको छ । यो हाम्रा लागि संवैधानिक रुपमा धेरै ठुलो प्रश्न थियो । तर जटिल अवस्थालाई पनि हामीले पार गरेर यहाँसम्म आयौं । सभामुखका लागि त्यो धेरै ठूलो ‘कम्पिलिकेटेट’ मुभमेण्ट थियो ।

अहिले आएर एक खालको सहमतिको वातावरण बनेको छ । तर ‘फ्लोरक्रस’ को ‘साईड इफेक्ट’ अहिलेसम्म पनि परिरहेको छ । अर्कोतिर बजेट अध्यादेशबाट आयो, त्यो पनि मनोमानी तरिकाले । जनप्रतिनिधिले बजेटका सन्दर्भमा आ–आफ्नो धारणा राख्न पाएनन् । त्यो परिघटनाले सभामुखमाथि नै प्रश्न उठाउने ठाउँ राखिदियो । प्रदेशसभामा विवादित सदस्यहरु प्रवेश गर्दा मैले कारबाही गरेकै हो । तर त्यतिले गर्दा मात्रै समस्या हल भएन । किनकी उनीहरु सरकारमा थिए । प्रतिपक्षले त हाम्रो सदस्यलाई सरकारमा किन लिइयो ? संविधानले त त्यहाँ जान भनेको छैन,  यसको उत्तर चाहियो भन्यो । त्यो उत्तर सभामुखले दिन सक्ने स्थिति थिएन ।

मनोमानी तरिकाले अध्यादेशबाट बजेट आएको भन्नुभयो । तर त्यो बेलामा सभामुखले चाहेको भए मार्सल लगाएर भएपनि संसदबाट पारित गर्न सक्थ्यो नि ?  

छलफलमा गएर प्रक्रियामा भएको भए सभामुखले निर्णयार्थ मार्सल लगाएर जे सुकै पनि गर्न सक्छ । छलफल नै नभएको प्रस्तावलाई सभामुखले निर्णयार्थ पारित गर्न सक्दैन ।

अन्य प्रदेशमा त अभ्यास गरिए नि ? 

अन्य प्रदेशको हकमा छलफल भएर पास हुन बाँकी थिए । लास्टमा बलपूर्वक घोषणा गरिएको हो । छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुबै सहभागी थिए । अन्य प्रदेश र हाम्रो प्रदेशको हकमा स्थिति फरक छ । यहाँको त सैद्धान्तिक छलफल पनि भएको थिएन ।

तर बजेटभित्र आएको विकृति तपाईंले त्यो बेला नै रोक्न सक्नु हुन्थ्यो नि ? 

संसद भनेको बलपूर्वक जाने चिज होइन, यसका केही निश्चित मान्यता छन् । प्रतिपक्ष बिना दुई तिहाई प्रचण्ड बहुमत भए पनि सरकार चल्दैन । प्रतिपक्ष भनेको सभामा सरकारलाई खबरदारी गर्ने हो । उसलाई पनि सँगसँगै हिँडाएर लैजानुपर्छ । त्यो दायित्व निर्वाह मैले गर्दैछु । सानो अंकमा रहेको काँग्रेसलाई त्यो बेला सँगै लगिएको हो । उहाँहरुले संसद् बहिस्कार गर्दा स्थगित गर्ने र सहमत गराएर समेटेर नै लगिएको हो । एमाले प्रतिपक्ष भएपछि सहमत नभएपनि केही गम्भीर संवैधानिक प्रश्न पनि थिए । त्यसको जवाफ सभामुखले दिएर हुने थिएन । तर त्यतिखेरको बजेटलाई अहिले सही बाटोमा ल्याइयो नि !

राप्रपा सांसद सोशिला शाहीले सभाभित्र मेरो स्थान खोइ ? भन्दै सदन नै छाडेर हिँड्नुपर्ने स्थिति किन आयो ? 

नवौं अधिवेशनको बैठकमा राप्रपा सांसद बाहिरिएको विषयमा प्रतिपक्षसँग विवाद भएको हो । सभाभित्र त सभामुखले राखेको ठाउँमा गएर माननीयले बस्ने हो । मनोमानी ढंगले गएर त बस्न पाइए न नि । यदि त्यसो गर्ने हो भने त्यो अराजकता हुन्छ । त्यसमा उहाँ (सोशिला) को पनि केही कमजोरी छन् । साना दलहरुले दलीय मान्यता पाएका छैनन् । तिनीहरु पछाडी बस्छन् । केन्द्रमा पनि त्यही छ । तर उहाँ तयार हुनु भएन, सदन नै छाड्नु भयो ।

एउटा मात्र सिट जितेको काँग्रेसले सरकारको नेतृत्व गर्ने स्थिति आएको छ । प्रदेशसभामा बहुमतमाथि अल्पमतले शासन गर्ने स्थितिले संसदीय अभ्यासमा कस्तो खालको विकृति ल्यायो ?

जनमतका आधारमा नचल्ने र व्यक्तिगत स्वार्थका पछाडि दौडिने जुन खालको प्रवृत्ति छ, यो त्यसैको अभिव्यक्ति हो । मेरो दललाई जनताले म्याण्डेट नै दिएको छैन, किन जाने भनेर भन्न सक्ने सामथ्र्य राख्नुपथ्र्यो, यहाँ त्यस्तो देखिएन । यहाँ प्रवृत्तिको कुरा आउँछ । जनमतलाई आत्मसाथ गरेर जाने जो कल्चर छ, त्यसको अभाव भयो । व्यक्तिगत स्वार्थ बोकेर जाने, म्याण्डेट जे सुकै होस् भन्ने प्रवृत्तिको खेल भएपछि कर्णालीमा गैर–राजनीतिक विकृतिको विकास भएको हो ।

कर्णालीको विकृत अभ्यासले दलीय आचरणमाथि नैतिक प्रश्न खडा गर्दैन ?

दलिय आचरण त हुनुपर्छ । नैतिक प्रश्न पनि गरिरहेकै छ नि..! दुई तिहाइ दिँदा पनि केही हुने होइन भने भोट दिएर के गर्ने ? भन्ने खालका तर्कहरु त उठेकै छन् । अब भोट माग्दा के गर्ने भन्ने सही उत्तर त छैन नि ? त्यो भनेको दलको आन्तरिक कलाकौशल, व्यवस्थापनमा कमजोरी होला । तर त्यो भन्दा बढी हाम्रो जुन हतास मानसिकता छ, त्यसैको उपज हो । आत्मदेखि नै जनमतलाई स्वीकार गर्ने, लोकतान्त्रिक मान्यतालाई मान्नुपर्ने, अनुशासनमा बस्नुपर्ने प्रवृत्तिको अभाव छ । ‘फ्लोरक्रस गर, पार्टी गोली मार । छ महिना मन्त्री हुन्छु’ भन्ने खालको प्रवृत्तिलाई प्रोत्साहन हुने समाज र ग्राउण्ड भयो भने राम्रो चिजको विकास हुँदैन ।

प्रदेशमा गञ्जागोलको अवस्था हेर्दा प्रदेश सरकार नै आवश्यक छैन, खारेज गर्नुपर्छ भन्ने प्रश्न पनि उठिरहेका छन् । यसबारे के भन्नु हुन्छ ? 

केही व्यवस्था विरोधी मानसिकता भएका मान्छेहरुको हल्लाका पछि लागेर हुँदैन । तर अर्को पाटो प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखानाको प्रवृत्ति हामीले नै ल्यायो । जुन खालका गैर–राजनीतिक खेलहरु चले, त्यसको प्रतिउत्पादन हो । प्रदेशसभाका प्रत्येक सदस्यहरुले आफूलाई मन्त्री ठान्दछन् । यसलाई त नेतृत्वले सही ट्रयाकमा ल्याउनुपर्यो नि ।

प्रदेश सरकारले स्थानीय तहमा जुन खालको बाटो, कुलो, स्वास्थ्य संरचना बनाइरहेको छ, यो संरचना नभएको भए हुन्थेन । यो संरचनाले घाटा गर्यो भन्ने कुरामा म सहमत छैन । तर जुन स्पीडमा अघि बढ्नुपर्ने हो बढ्न सकेन भन्ने कुरमा त दुईमत छैन । तर खारेज गर्नुपर्छ, यसको कामै छैन भन्नु विरोधी अभियानको कडी हो ।

कर्णालीमा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’भनेर सुरुमा नारा तय गरियो । दलहरुले पनि हाम्रो विरोधी भनेको यहाँको गरिबी हो भनेर सामूहिक उद्घोष गरे । तर जनतालाई त कुनै अनुभूति भएन ।

यो कुरा सही हो । सुरुमा जुन खालको उत्साह थियो । अहिले सबैका जाँगर मरिसके, फ्रस्टेसनमा छन् । यसका विभिन्न फ्याक्टर छन् । प्रदेशमा राष्ट्रिय शक्तिका आफ्ना स्वार्थ र हाम्रा प्रवृत्तिहरुले गर्दा यो स्थिति आएको हो । निश्चय पनि सुरुमा जुन खालको स्पीड, उत्साह थियो । त्यो अहिले छैन ।

प्रदेशको राजनीतिक अवस्था हेर्दा पुनः नयाँ समीकरण बन्ने खतरा देखिन्छ । यहाँको दृष्टिकोण के छ ? 

हाल यहाँको शक्ति सन्तुलन हेर्दा फेरबदल आउने कुरा म देख्दिन । केन्द्रमा कस्तो समीकरण बन्छ ? यहाँ त्यसैको साइड इफेक्ट पर्ने हो । नत्र त्यस्तो आउला भन्ने त केही देखिन्न । यसअघि कर्णालीका कारणले ध्रुवीकरणको प्रक्रिया थालनी भयो भनेर व्याख्या गरियो, त्यो गलत हो । बरु सबै केन्द्रीय राजनीतिको समीकरणको खेल नै हो ।

पछिल्लो समय सरकारको आफ्नो स्वार्थ अनुकूल संसद्लाई विजनेश दिएको जस्तो लाग्दैन ?

त्यो सरकारको राइटको कुरा हो । दुरुपयोग गर्नुभएन । यहाँ कुरा के भैदियो भने सरकार नै उदासीन भयो । सत्तारुढ दलकै सांसदहरु अब सरकार र प्रतिपक्ष मिलेन भने हामी अर्को अभियान चलाउँछौं भनेर पनि मसँग आए । यदि प्रतिपक्ष नै चुपचाप सुतेर बस्ने सरकार पनि गैर–जिम्मेवार तरिकाले चल्ने हो भने जनप्रतिनिधिमुलक संस्था भएकाले म सभामुखले पहल चाल्छु, सार्वजनिक रुपमा म उत्रिन्छु भनेर दलहरुसँग भनेको हो । मुख्य पक्ष जिम्मेवार भएन भने त्यसका बाइप्रोडक्ट आउँछन् नै ।

कर्णालीका सांसदहरु साँच्चिकै कानुन बनाउने विधायकको भूमिका निर्वाह गरिरहेका छन् त ? 

मतदाताहरु मलाई यो योजना चाहियो भन्छन्, नीति बनाएको कुरा गर्दैनन् । हाम्रा प्रवृत्ति के भए भने माननीयले धारा बनाइदेला, जागिर खुुवाइदियोस् जस्ता कुरामा छ । आफ्ना प्रतिनिधितर्फ समाजको अपेक्षा एक हुने, काम चाँहि अर्कै छ । अर्को कुरा चुनावमा दसौं लाखौं रकम खर्च गरेर भोट ल्याएको हुन्छ तर त्यसको सेवा सुविधा भनेको केही हुँदैन । त्यसले के गर्छ ? आफै बुझ्नुहोस्..! रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार