काठमाडौं । बकिङघम दरबारले राजकुमार ह्यारी र मेगन अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरेको छ ।
ह्यारी र मेगनले हालै मात्र राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।
राजपरिवारमा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिएकी छन् । दरबारको विज्ञप्तिमा भनिएको छ, ‘ड्युक र डचिस अफ ससिक्स अब राजपरिवारको औपचारक सदस्य नरहने र उनीहरुले शाही उपाधि प्रयोग गर्ने छैनन् ।’
ब्रिटिस राजपरिवारका शाही उपाधि प्राप्त सदस्यहरुलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ ।
अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुबाट लागू हुनेछ ।
दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ ।
बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरुका छोरा) सधै हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया