काठमाडौंः अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप बढेको छ । बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीका विषयमा सहमत गराउन अघि सरेका देउवा राति अबेरसम्म पनि सफल नभएपछि एमाले अध्यक्ष केपी ओलीलाई मनाउन राति नै उनको बालकोटस्थित निवास पुगेका थिए ।
सो क्रममा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना एमालेकै विगतको सरकारले अघि सारेको विषय भएकाले सो परियोजनासम्बन्धी प्रस्ताव संसद्बाट अघि बढाउन सरकारलाई सघाउन सहयोग मागेका थिए । त्यसका लागि एमालेले जारी राख्दै आएको संसद्को अवरोध खोलेर सहयोग गर्न प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्षलाई भनेका थिए ।
देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले भने कारणसहित एमाले सदनको संघर्षमा रहेकाले माग पूरा गरे संसद् तत्कालै सुरु हुने जवाफ दिएका थिए । एमाले नेता विष्णु रिजालले प्रधानमन्त्रीले सदन खोल्नेतर्फ सहयोग गर्न र एमसीसीमा सघाउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूले सदन खोल्न र एमसीसीमा सघाउन एमाले अध्यक्षलाई आग्रह गर्नुभयो, अध्यक्षज्यूले कारणसहित सदन अवरोध भएको भन्दै माग पूरा गरे सदन खोल्न तयार रहेको जवाफ दिनुभयो, एमसीसीको विषयमा गठबन्धनको धारणा आओस् भन्ने पुरानै धारणा एमालेको रह्यो,’ रिजालले प्रधानमन्त्री देउवाले एमाले अध्यक्षसँग गरेको प्रस्ताव र ओलीको जवाफ’bout जानकारी दिँदै राजधानीसँग भने ।
एमालेले गत भदौबाट आफ्नो दलबाट अलग भएर गएका १४ सांसदलाई गरिएको कारबाहीको सूचना टाँस हुनुपर्ने वा सूचना टाँस नगर्ने सभामुखले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आइरहेको छ ।-राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया