असार २५, २०८२ बुधबार July 9, 2025

नेकपाले जारी गर्यो ११ बुँदे आचार संहिता (पूर्णपाठ सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ ।

सबै सदस्य जुटेर पारिवारिक बैठक गर्नुपर्ने, दिनभर गर्नुपर्ने घरको कामको कार्यविभाजन गर्नुपर्ने, अप्ठ्यारो कामको जिम्मा आफूले लिनुपर्ने नेकपाको आचार संहितामा उल्लेख छ । परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्ने भन्दै नेकपाको आचार संहितामा भनिएको छ, ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रुपमा बन्द गर्नुपर्छ ।’

समाजवादी संस्कृतिको आधार नै सामूहिक जीवन प्रणाली भएको भन्दै नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने बताएको छ । यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने भन्दै नेकपाले भनेको छ, मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्दछ ।’

नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ ।

झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने निर्णयहरु पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरुको समाधानका लागि महत्वपूर्ण छन्’ अध्यक्षद्धयले भनेका छन् । पार्टीले जारी गरेको आचार संहिता पालना नगर्ने र पटकपटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने समेत अध्यक्षद्धयको सर्कुलरमा उल्लेख छ ।

यस्तो छ ११ बुँदे आचारसंहिता

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ ।

२. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिक पूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न  कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ ।

परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।

३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस-उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नुहुँदैन ।

४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ ।उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।

५. समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उमेदार बन्न बन्देज लगाउनुपर्छ ।

६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ ।

७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।

८. समाजवादी संस्कृतिको आधार सामूहिक जीवन प्रणाली हो । सामूहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न सकियो भने सामूहिक जीवन प्रणाली विकास गर्न सकिन्छ । त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान-प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्छ ।

९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

१०. समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सँजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।

११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो । मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त,कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टीसदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक-पटक सचेत गराउँदा पनि नसुध्रनेसदस्यलाई कानुनसंग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार