वैशाख २९, २०८१ शनिबार May 11, 2024

माध्यमिकी यात्राको डोला महोत्तरी प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीराम र सीताका डोलासहित मिथिला माध्यमिकी यात्राका सहभागी आज जिल्ला प्रवेश गरेका छन् । यात्राको तेस्रो दिन भारतको विहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम सुुरु भएको हो । यसअघि गत बिहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।

गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा  कटेर महोत्तरीको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका अधिकारी,  उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले स्वागत गर्नुभयो । अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ । मध्याह्नअघि सबै यात्री मटिहानी आइपुग्ने छन् ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् । विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली) आइपुगेपछि मटिहानी वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुँइचो लागेको छ ।

डोलाको आगमनसँगै मटिहानीमा भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध गरिएको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र यात्रीवर्गको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरी छन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । ती मध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।

अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका बिभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ  शताव्दीमा सुुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःख, कष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य  ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यात्रामा नेपाल र भारतका बिभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् । फागुन औँशीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमा मिथिलाको महाकुम्भ पनि भनिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया